काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालले तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले छलकपटको नीति लिएपछि आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको दाबी गरेका छन्। उनले ओलीविरुद्ध आफूले उतिबेला पार्टीमा प्रस्तुत गरेको दस्तावेजलाई बमको संज्ञा दिएका हुन्। तत्कालीन नेकपामा विवाद बढ्दै गएपछि अध्यक्ष दाहालले १९ पृष्ठ लामो दस्ताबेज सार्वजनिक गरेका थिए। ।
माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै दाहालले भने, ‘मैले पेस गरेको डकुमेन्ट बमवार्ड द हेडक्वार्टर’ हो। जसरी माओले बमबार्ड त बुर्जुवा हेडक्वार्टर भनेर पार्टीकै लिडरसिपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ।’ दाहालले अझै पनि केपी ओलीका पछाडि कमल थापा, पूर्वराजा ज्ञानेन्द्र र विदेशी शक्ति रहेको बताए।
‘आज म खुसी छु। अव म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे, राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ।’
ओली प्रधानमन्त्री छँदा तीन वर्ष आफूलाई बालुवाटारको बन्दी बनाएको आरोप पनि दाहालले लगाए। उनले भने, ‘बिहानै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ।’ उनले ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफूले मुक्तिको महसुस गरेको पनि बताए। दाहालले भने, ‘म मौकाको पर्खाइमा थिएँ जब अोलीले प्रतिनिधिसभा विघटन गरिदिए, मलाई आफू मुक्त भएजस्तो लाग्यो।’
अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्कसमेत गरे। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि बताए। उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रियासमेत दिए। अध्यक्ष दाहालले भने, ‘आज म खुसी छु। अव म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे, राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ।’