शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नगर अधिवेशनले उत्साहित छन् काठमाडौंमा कांग्रेसका नेता, कार्यकर्ता

नगर अधिवेशनले उत्साहित छन् काठमाडौंमा कांग्रेसका नेता, कार्यकर्ता

काठमाडौंका स्थानीय तहमा शनिबार नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- काठमाडौंका स्थानीय तहमा शनिबार नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन्। नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ। अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ। काठमाडौं महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्य लामो समयदेखि नभएको पार्टीको महानगर अधिवेशनले कार्यकर्ता उत्साहित भएको बताए।

पार्टीका पुराना नेतासमेत रहेका शाक्यले महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लागेका छन्। शाक्यसँगै नेपाल तरुण दल काठमाडौंका संस्थापक अध्यक्ष प्रगतिमान रञ्जित पनि महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा लागेका छन्। महानगरमा दुई नेताबीच प्रतिस्पर्धा हुनेछ।

महानगरपालिकामा १२औँ र १३औँ महाधिवेशनका बेला नगर अधिवेशन नभएकामा यसपटक गर्न लागिएकाले कार्यकर्ता उत्साहित भएको जिल्ला सभापति कृष्ण सबुज बानियाँले जानकारी दिए। काठमाडौँमा करिब १३ वर्षपछि महानगर अधिवेशन हुन लागेको हो।

महानगरका ३२ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पार्टीका तर्फबाट निर्वाचित सांसद, प्रदेशसभा सदस्य, पार्टीबाट सांसद र प्रदेशसभा सदस्यमा उम्मेदवार भएका पदेन प्रतिनिधि भई निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था कांग्रेसको विधानमा रहेको जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बताए।

चन्द्रागिरि नगरपालिकामा सर्वसम्मत सभापति चयन हुने वातावरण बनेको छ। पार्टीका सबै पक्ष नगर प्रमुखसमेत रहेका घनश्याम गिरीलाई सभापति बनाउन सहमत भएको जनाइएको छ। यसैगरी गोकर्णेश्वर नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयनको तयारी भएको कांग्रेस नेताले जनाएका छन्। दक्षिणकाली नगरपालिकामा भने विवादका कारण स्थगन गरिएको छ।

कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा पनि आज नगर अधिवेशन गरिँदै छ। अधिवेशनको कार्यक्रम बिहान ८:०० बजेदेखि नै सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बेलुका ५:०० बजेपछि निर्वाचन कार्यक्रम नराख्न नगर निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ।

 केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन भएका सबै जिल्लामा दसैँअघि नै स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको सचिव वरिष्ठ अधिवक्ता जगन्नाथ श्रेष्ठले बताए। -रासस

प्रकाशित: Oct 02, 2021| 09:57 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...