मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • के छ ओलीको राजनीतिक प्रतिवेदनमा? पूर्वयुवराज्ञी भन्छिन्- अब सोच्ने बेला आएको छ [२०७८-६-१५]

के छ ओलीको राजनीतिक प्रतिवेदनमा? पूर्वयुवराज्ञी भन्छिन्- अब सोच्ने बेला आएको छ [२०७८-६-१५]

माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि नेकपा एमाले र नेकपा विभाजनमा ठूलो भूमिका खेलेको बताए। ओलीले राजनीतिक प्रतिवेदनमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

एमाले फुटाउने नाइके माधव र नेकपा फुटाउने नाइके प्रचण्ड : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउने योजनाकार माधवकुमार नेपाल र  नेकपा फुटाउने नाइके पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाएका छन्।

ललितपुरको गोदावरीमा शुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओली नेता नेपाल र प्रचण्ड विभाजनकारी भएको टिप्पणी गरेका हुन्। उनले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागत योग्य काम बताए। उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको दावी समेत गरे। त्यस्ता खालका गतिविधिको आफनो पार्टीले कानुन सम्मत ढंगले प्रतिवाद गर्ने ओलीको चेतावनी छ। 

ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाए। सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको उनको भनाइ छ।

माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि नेकपा एमाले र नेकपा विभाजनमा ठूलो भूमिका खेलेको बताए। ओलीले राजनीतिक प्रतिवेदनमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। 

यस्तै ओलीले एमालेको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको बताएका छन्। उनले कांग्रेसलाई पुँजीवादी वर्ग चरित्र, नवउदारवादी, यथास्थितिवादी र राष्ट्रियताका विषयमा ढुलमुले रहेको आरोप पनि प्रतिवेदनमा लगाएका छन्।

नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा भ्रष्टाचारको बारेमा सबैभन्दा कम उल्लेख गरेको पाइएको छ।

४४ पेज लामो प्रतिवेदनमा उनले ६ ठाउँमा भ्रष्टाचार शब्द प्रयोग गरेका छन् भने केही झुटा दाबी गरेका छन्। ओलीले वर्तमान सरकारले भ्रष्टाचारलाई संरक्षण दिने अभिप्रायले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरिएको आरोप लगाएका छन्। ताकी प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म संवैधानिक परिषदको बैठक नै राखेका छैन। तर ओलीले अध्यादेश ल्याएर २०७७ मंसिर ३० गते र त्यसपछि बैठक राखेर अख्तियारदेखि मानव अधिकार आयोगसम्म ५२ पदाधिकारी संवैधानिक आयोगमा नियुक्त गरेका थिए। त्यसविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। 

ओलीले आफ्नो प्रतिवेदनमा भ्रष्टाचार, राजश्व चुहावट र सम्पत्ति शुद्धीकरण अन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरेका छन्। उनले ललिता निवासको १३६ रोपनी जग्गा हडप्ने कार्यविरुद्ध मुद्दा जारी रहेको र  मातातीर्थको १७४ रोपनी जग्गामा भएको अनियमितताको छानबिन आफ्नै सरकारको पालामा भएको दाबी प्रतिवेदनमा गरेका छन्। तर, यति समूहलाई नेपाल ट्रष्टको जग्गा कौडीको भाउमा लिजमा दिने निर्णय गरेको, कोरोना महामारीमा ओम्नी समूहलाई सेटिङमा स्वास्थ्य सामाग्री खरिद गर्न दिएको विषयमा केहि बोलेका छैनन्। यस्तै तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिसन वापतको ७० करोड रुपैयाँ डिल गरिरहेको अडियोका विषमा पनि उनले आफ्नो प्रतिवेदनमा केहि उल्लेख गरेका छैनन्। वाइडवडी प्रकरणमा छानविननै प्रभावित बनाएको विषयमा पनि ओली मौन बसेका छन्। 

पूर्व माओवादीहरूको एकता जरुरी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओवादीहरुको एकता जरुरी भएको बताएका छन्। 

माओवादीबाट फुटेर गएका नेताहरुलाई आत्मसमीक्षा गरेर फेरि नयाँ उचाइको एकताका लागि प्रस्ताव गरेका छन्। एकताको सुरुवात आत्मसमीक्षाबाट गर्नुपर्ने उनको भनाइ छ। आत्मसमीक्षा मार्क्सवादको अवयव रहेको बताउँदै उनले जनयुद्धमा एक भएपनि शान्ति प्रक्रियामा आएपछि संघर्ष गर्नुपरेको बताए। भूमिगत रहँदासम्म फुटाउने तत्वसँग भेट नभएकाले एकता कायम रहन सकेको उनले बताए। 

खुला राजनीतिमा आएपछि प्रतिक्रियावादी विभिन्न समूहले प्रत्येकलाई समातेर एकसँग अर्कालाई भड्काएको उनको भनाइ थियो। प्रचण्डले अहिले माओवादीसँग फुटेर गएका सबै नेतासँग आफ्नो राम्रो सम्बन्ध बनेको उल्लेख गर्दै सहकार्य भइरहेको बताए। 

४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन्। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरिदिएको हो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटनको निर्णय गर्दा सो निर्णय असंवैधानिक भएको दाबी गर्दै चारजना पूर्व प्रधानन्यायाधीशहरूले संयुक्त विज्ञप्ति निकालेका थिए। पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले ‘असंवैधानिक’ भन्दै विज्ञप्ति निकाल्दा उक्त विषय अदालतमा पुगिसकेको भन्दै अदालतलाई प्रभाव पार्ने गरी विज्ञप्ति निकालेको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको थियो।

पूर्व प्रधानन्यायाधीशहरूले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए। 

कृषिको विकासमा उद्यमशीलता विकास गर्नुपर्छ : विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी छिन्। 

शुक्रवार काठमाडौंमा आयोजित जिल्ला समन्वय समिति महासंघको तेस्रो राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले अर्थतन्त्रको मुल आधार कृषि क्षेत्र भएकोले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताए। उनले विदेश जान बाध्य युवाका लागि सीपमुलक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको बताइन्। 

राष्ट्रपति भण्डारीले  विद्यार्थीहरुलाई उपलब्ध गराइँदै आएको दिवा खाजाका लागि स्थानीय उत्पादनलाई समावेश गर्ने विषयमा जनप्रतिनिधिमुलक संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक सहकार्य र समन्वय हुनुपर्ने पनि बताइन्। बालबिालिकाको स्वास्थ्य र बौद्धिक विकासका लागि पौष्टिक आहार र वातावरण निर्माण गर्न स्थानीय निकायले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा नगरपालिका महासंघका अध्यक्ष अशोक व्यञ्जूले संवैधानिक व्यवस्थालाई बलियो बनाउनका लागि जनप्रतिनिधिले आफ्नो भूमिका बढाउनुपर्ने बताए। 

पूर्वयुवराज्ञी हिमानी भन्छिन्- राष्ट्रलाई अघि बढाउने विषयमा सोच्ने बेला आएको छ

पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छिन्। 

आज शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन्। उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन्। उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्नेमा जोड दिइन्।

विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने भन्दै उनले अब सहने छुट नभएको टिप्पणी गरिन्। 

पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्। उनले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताए। 

जहाज अध्ययन कार्यदलले थाल्यो छानबिन

नागरिक उड्डयन सम्बन्धी समस्या समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याको बारेमा छलफल गरेको हो। 

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए। उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताए। सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकोले कहिलेकाहीँ केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गरे।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए। उनले नागरिक उड्ययन प्राधिकरणलाई हीत हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने बताए। 

जहाज कम्पनीका सञ्चालकहरुले गाडीको जस्तै जहाजमा पनि टेक्निकल समस्या आउने भएकोले त्यसलाई सहज रुपमा बुझिदिन आग्रह गरे। १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने उनीहरुको भनाइ छ।

१०६६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो।  

२४ घण्टामा ९३८ जना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ छ। यस्तै आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।

माल्दिभ्समा साफ च्याम्पियनसिप सुरु

दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता– साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरू भएको छ। 

पहिलो खेलमा श्रींलका र बंगलादेश भिडेका छन् भने दोस्रो खेलमा आज नेपाल र आयोजक माल्दिभ्सबीच प्रतिप्रर्धा हुँदैछ। खेल बेलुका पौने १० मा हुनेछ। कतारमा बन्द प्रशिक्षण गरेर माल्दिभ्स पुगेको नेपालको यसपालीको प्रमुख लक्ष्य हो, फाइनल यात्रा।

प्रतियोगिताको सदावहार दाबेदार नेपाल अहिलेसम्म फाइनल सम्म पुग्न सकेको छैन। र, यो संस्करणमा त्योा ‘डेड–लक’ तोड्ने नेपालको प्रमुख लक्ष्य हो। हरेक संस्करण खेल्दै आएको नेपालले भने हालसम्म यो प्रतियोगिता जित्न सकेको छैन। फाइनलसम्म पनि पुग्न सकेको छैन। मालदिभ्स तीनपटक फाइनलसम्म पुगेर पराजित भएको थियो। 

ईपीएलको प्लेअफमा चितवन

चितवन टाइगर्स बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो। 

अपराजित चितवन ६ अंकसहित शीर्ष स्थानमा छ। चितवनले यसअघि विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ लाई पराजित गरेको थियो भने अब ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्ससँग खेल्न बाँकी छ। उता तेस्रो खेल खेल्दा पोखराको यो पहिलो हार हो। 

पोखराले दिएको १२४ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै १ विकेट मात्र गुमाएर पूरा गर्‍यो। त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो।

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Oct 01, 2021| 19:42 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।