काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन्।
“पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ। तर, हुनुपर्ने रूपान्तरणको हो,” पौडेलले भने, “अहिलेको पार्टी सञ्चालन कसरी भइरहेको छ, यो अवस्थामा रूपान्तरण चाहिएको हो कि पुस्तान्तरण?”
उनले पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै आवश्यन हुने भन्दै पार्टीका नेताहरूले बहसलाई ठिक बाटोमा हिडाउन सक्नुपर्ने बताए। “यदि पार्टीमा सबै संगठनहरू परिचालन हुन सकेको भए, समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न सकेको भए, पार्टी विचारबाट सञ्चालन भएको भए, रूपान्तरणको आवश्यकता हुने थिएन,” पौडेलले भने, “जब रूपान्तरण हुन्छ, तब पुस्तान्तरणको बहस नै आउँदैन । त्यसैले आजको आवश्यकता रूपान्तरण हो , युवा साथीहरू भ्रममा नबस्नुहोला।”
उनले कांग्रेसलाई लोकतन्त्रको मूल मार्गमा हिँडाउन विचारले पार्टी र राज्य सञ्चालन हुनुपर्ने बताए। पौडेलले राजनीतिक पार्टी उमेरले नभएर विचारले सञ्चालन हुने बताए।
“उमेरले होइन पार्टी विचारले सञ्चालन हुन्छ। विचारले लोकतन्त्र र राज्य संयन्त्र सञ्चालन भएन भने त्यहाँ लोकतन्त्रको अस्तित्व सम्भव छैन,” पौडेलले भने, “बीपीले निर्वाचत जनप्रतिनिधिले शासन गर्छन भन्ने विचार दिनुभयो । यो विचार बुढो भएको छैन। आजसम्म यसकै पक्षमा दुनियाँ रहेको छ।” उनले अहिले राज्य सञ्चालनको चौर तरिका पनि ठिक नभएको भन्दै अन्तुष्टि जनाए ।
उनले पार्टी भित्र दाहोरो पद नओगट्ने बहस बारबार भएपनि त्यसको कार्यान्वयन कमजोरका लागि मात्र भएको बताए। “हाम्रो पार्टीमा रामशरण महतले दोहोरो पदको कुरा उठाएपछि राजीनामा दिनुपर्यो । तर, शेरबहादुर देउवाले राजीनामा गर्नुपरेन,” पौडेलले भने, “यहाँ बलियालाई कानुन नियम लाग्दैन । निर्धालाई मात्र कानुन लाग्ने हो ।”
नेता पौडेलले एमालेले धेरै गर्यो भन्दै प्रचार गरेपनि अहिलेसम्म एउटा भन्दा बढी उपलब्धी नदेखाएको दाबी गरे। “एमालेले सरकारमा छँदा ७० वर्ष माथिका वृद्धका लागि सय रुपैयाँ भत्ता दिने निर्णय गर्यो । अहिलेसमम एमाले सरकारले गरेको एउटा मात्र उपलब्धी त्यही हो,” पौडेलले भने, “एमाले सरकारले सय रुपैयाँको निर्णय गरेको हो । त्यसपछि त्यसलाई दोब्बर तेब्बर गर्दै हामीले नै बढाउँदै लगेको हो ।”
पौडेलले अहिले प्रतिपक्षीका व्यवहारले लोकतन्त्रमा खतरा देखिएको बताए । “लोकतन्त्रमा जति विपक्षी दलहरू जिम्मेवार हुन्छन् त्यति नै लोकतन्त्र बलियो हुन्छ,” पौडेलले भने, “हाम्रोमा प्रतिपक्ष जिम्मेवार छैन । सदन प्रतिपक्षको हो । तर, त्यो सदनलाई प्रतिपक्षले नै अवरुद्ध पारेर बन्धक बनाएर राखेको छ । संसद् बाहुबलीको बन्धक बन्ने अनि कसरी लोकतन्त्र समृद्ध हुन्छ?’