काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको बताए। उनले ती भूमि फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पारे। उनँले छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरु प्रतिबद्ध रहेको स्पष्ट पारे। ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले कसैसँग पनि भैरभाव नराख्नू आफ्नो पार्टीको विदेश नीति भएको बताए।
उनले भने, ‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस भन्ने चाहन्छौं। यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढनेछ।’ ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको स्पष्ट पारे। उनले भने, ‘नेपाल भारत सीमा वारपार अपराध नहोस् र आतंककारीले लाभ उठाउन नपाऊन् भन्ने कुरामा भारतको चासो देखिन्छ। भारतसँगको व्यापार घाटा लिपुलेक, लिम्पियाधुरा र कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता र सीमाको व्यवस्था हुने अनावश्यक चासो जस्ता विषयमा नेपालको चासो र सरोकार छ।’
उनले छिमेकीको जायज चासोप्रति सजग रहेको पनि बताए। उनले भने, ‘त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्र छिमेकीहरुबाट पनि चाहन्छौं।’ उनले दुई देशबीचका समस्यालाई कूटनीतिक पहलका माध्यमबाट समाधान गर्न चाहेको पनि बताए।