शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली कांग्रेसमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिको उम्मेदवार

नेपाली कांग्रेसमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिको उम्मेदवार

नेपाली कांग्रेसले जिल्ला सभापति हुनका लागि निर्वाचन क्षेत्रअनुसार फरक–फरक मापदण्ड निर्धारण गरेको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसले जिल्ला सभापति हुनका लागि निर्वाचन क्षेत्रअनुसार फरक–फरक मापदण्ड निर्धारण गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन् भने अन्यको हकमा यो मापदण्ड लागू हुँदैन।

निर्वाचन समितिले बिहीबार जिल्ला निर्वाचन अधिकृतहरूलाई गरेको परिपत्रअनुसार एकभन्दा धेरै प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका कुनै पनि पदमा उम्मेदवार हुन पाउँछ। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लाहरूमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापति उम्मेदवार हुन पाउँछन्।

देशका ३५ जिल्लामा एक मात्र निर्वाचन क्षेत्र छ। एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा भने जिल्ला सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा भने महाधिवेशन प्रतिनिधि भई सकेकाहरू जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउँछन्।

महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिमा उम्मेदवार भए पनि उसको पद भने जाने छैन। जिल्ला सभापतिको उम्मेदवार हुन क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको हुनुपर्छ। जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य हुनका लागि पनि क्षेत्रीय प्रतिनिधि हुनुपर्ने व्यवस्था कांग्रेसको छ।

महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको चुनाव भने एकैपटक गरिनेछ। एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा दुबैतर्फ उम्मेदवार हुन भने पाउने छैन। कांग्रेसले हिमाली जिल्लाहरूमा १८ असोजदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। २१ हिमाली जिल्लामध्ये डोल्पा र रसुवामा क्रियाशील सदस्यता विवादले गर्दा वडा अधिवेशन नै हुन सकेको छैन।

बाँकी १९ जिल्लामा भने पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने तयारी भएको छ। अन्य जिल्लाहरूमा भने वडा र पालिका अधिवेशन सकिएको छ। प्रदेश सभा निर्वाचन, संघीय निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशन दसैं र तिहारको बीचमा गर्ने तयारी गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। कांग्रेसले प्रतिनिधि सभा क्षेत्रअनुसार जिल्ला सभापतिको उम्मेदवार हुनका लागि फरक–फरक मापदण्ड बनाएको छ।



प्रकाशित: Oct 01, 2021| 09:08 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...