काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताएका छन्।
अध्यक्ष प्रचण्डले बिहीबार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको बताएका हुन्। विगतमा सामाजिक रुपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता कार्यकर्ताहरुको कार्यशैलीमा स्खलन भएको उनले बताए।
पार्टीका नेताहरु पद, प्रतिष्ठा, पैसा र कमिशनको निम्ति मरिहत्ते गर्ने भन्दै उहाँले पार्टीभित्र अवसरवादी चरित्र मौलाएको बताए। जो नेता जतिधेरै माथि भयो उतिधेरै स्खलित भएको उनको भनाइ छ।
पार्टीबाट जति धेरै मन्त्री बने उनीहरु नै पतन भएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीमा रुपान्तरणको खाँचो रहेको औँल्याए। उनले भने, ‘हामी विस्तारै थाहै नपाइकन गएको १०-१५ वर्ष यता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ। हामी हिजो सामाजिक रुपान्तरणको निम्ति, क्रान्तिको निम्ति, परिवर्तनको निम्ति, उत्पादनको निम्ति जनताको निम्ति काम गर्ने हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ। र हामी विस्तारै थाहै नपाईकन हिजो क्रान्तिकारी आन्दोलनलाई, जनयुद्ध र जनआन्दोलनलाई दबाउन सरकारमा बसेका पार्टीहरुले जेजस्ता हत्कण्डा अपनाउथे हामी उस्तै हुँदै जाने खतरा पैदा हुन थालेको छ।'
अध्यक्ष प्रचण्डले विगतमा नेपाल कम्युनिष्ट पार्टी रहँदा तत्कालीन पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको लडाइँ जीवन-मरणको लडाइँ भएको स्मरण गरे। त्यतिखेर आफू आत्महत्या गर्ने कि लडाइँ लड्ने भन्ने अवस्थामा रहेको भन्दै उनले जोखिम उठाएर क्रान्तिकारी ढंगले लड्ने संकल्पसाथ लडेको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएका कारण चुनाव लड्न नसक्ने स्थिति आएको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने बताए। यसका निम्ति सडकबाटै जनताले दबाब दिनुपर्ने पनि उनले बताए। उनले गाउँघरमा केपी ओली र कमल थापाहरुको आतंक भएको भन्दै ती आतंकलाई परास्त गर्न नेता, कार्यकर्तालाई आग्रह गरे। अध्यक्ष प्रचण्डले पार्टीभित्र आफुविरुद्धमा गुटबन्दी बनाउने कोसिस भइरहेको भन्दै आफु नेतृत्व छाड्न तयार नभएको स्पष्ट पारे।
अध्यक्ष प्रचण्डले विगतमा एमालेको माधव नेपाल पक्षधर रहेका र नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका १० जना नेताहरुले आफूलाई केपी ओलीविरुद्ध लड्न आग्रह गरेको भए पनि उनीहरुले नै ओलीसँग आत्मसर्मपण गरेको बताए। आफूलाई एमाले फुटाएको आरोप लगाएको भन्दै उनले विगतमा तीनै १० नेताहरुसहिको बैठकले केपी ओलीलाई कारबाही गरेको तर्फ ती नेताहरुलाई स्मरण गराए।
अध्यक्ष प्रचण्डले युवा तथा विद्यार्थीहरुलाई विकृति र विसंगतिका विरुद्ध तथा प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन निर्देशन समेत दिए।