काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले अग्रसरता देखाउँदै सर्वदलीय बैठक बोलाएको भए पनि एमाले अनुपस्थित भएको जानकारी दिएका छन्।
'उहाँहरूले संसद अवरोध गरिरहनुभएको छ। एमालेसँग छलफल गर्न यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि उहाँहरू जानु भएन। अहिले पनि उहाँहरू अनुपस्थित हुनुभएको छ। यसले उहाँहरू संवाद र वार्ताबाट पर भाग्न खोजेको देखियो', उनले भने।
आजको बैठकमा ओली अनुपस्थित भए पनि प्रधानमन्त्री देउवाले आफूले ओलीसँग सम्पर्क गरेर छलफल अगाडि बढाउने प्रतिबद्धता गरेको कार्कीले जानकारी दिए।
संघीय संसदलाई निर्बाध र मर्यादीत हिसाबले अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सकरात्मक भूमिका निर्वाह गरोस् भन्ने उदेश्यका साथ बैठक आह्वान गरिएको उनले बताए। 'अहिले प्रतिनिधिसभामा ३३ विधेयक छन्। जुन जनताको दैनिकीसँग सरोकार राख्छन्। त्यस्तै राष्ट्रिय सभामा २७ विधेयक छन्। अहिले यी विधेयक अन्यौलको अवस्थामा छन्। अहिले संसद्को बैठक आवश्यक छ', उनले भने। उनले आगामी संसद् बैठकमा एमालेको रचनात्मक उपस्थिति हुनेमा आफूहरू विश्वस्त रहेको कार्कीले बताएका छन्।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको थियो।बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, काननुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल सहभागी थिए।