मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : सर्वदलीय बैठक ओलीद्वारा बहिष्कार, भागबन्डामा अल्झियो सत्ता गठबन्धन

बिहानी समाचार : सर्वदलीय बैठक ओलीद्वारा बहिष्कार, भागबन्डामा अल्झियो सत्ता गठबन्धन

संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– संघीय संसद्मा जारी अवरोध अन्त्यका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरुद्ध गरेपछि सहमति खोज्न प्रधानमन्त्री देउवाले आज संसद्मा भएका सबै दलको बैठक बोलाएका हुन्। 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

एमालेले बहिष्कार गर्ने

संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ। 

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद् छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा आफ्नो असहमति रहेकाले बैठकमा नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। यसअघि संसदको अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो। आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएको छ।

मन्त्रिपरिषद् बैठक ३ बजे

आज बिहान सर्वदलीय बैठक डाक्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन्।  प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भएको हो। 

गठबन्धनमा जुट्ला त सहमति? 

मन्त्रालय भागबन्डामा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्ने बैठकले कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाउने भएको हो। मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको छ। कसले कुन मन्त्रालय पाउँने भन्ने विषयमा टुंगो नलागनेसम्म मन्त्रीहरुको नामावली दिन नसकिने सत्ता साझेदार दलहरुको अडान छ। 

बागमतीमा नेतृत्व लिन खोज्नु आपत्तिजक : शेखर कोइराला

नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशमा अढाइ महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेकोप्रति कांग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन्। 

संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आमजनतालाई के सन्देश दिन खोजिएको हो? भन्दै नेता कोइरालाले प्रश्न गरेका छन्। यस्ता कार्यमा संलग्न नहुन उनको आग्रह छ। बागमतीमा एकीकृत समाजवादीको सरकार बन्ने गठबन्धनभित्र भद्र समझदारी रहे पनि कांग्रेसले एकीकृत समाजवादीलाई अढाई महिनाका लागि नेतृत्व दिन प्रस्ताव गरेको थियो। यद्यपि एकीकृत समाजवादीले स्वीकार  गरिनसकेको स्रोतले जनाएको छ।

बागमती किनारामा महिलाको शव

काठमाडौंको बानेश्वर क्याम्पस नजिकै बागतमी किनारामा आज बिहान एक महिलाको शव भेटिएको छ।

बागमती खोलाले बगाएर ल्याएको अवस्थामा पुलमुनि महिलाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरले जनाएको छ। मृतक महिला अन्दाजी ४१/४२ वर्षकी छन्। उनको सनाखत हुन सकेको छैन। बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो।

हल्का वर्षाको सम्भावना

आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यमखालको  वर्षा हुनेछ। सो स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

महाराष्ट्र चक्रवातका कारण १२ जनाको मृत्यु 

भारतको महाराष्ट्रमा गुलाब नामक चक्रवातका कारण १२ जनाको मृत्यु भएको छ।  महाराष्ट्रका विभिन्न दुई दिनदेखि लगातार तीव्र गतिको हावासहित ठूलो पानी पर्दा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले महाराष्ट्रको पालघर र मुम्बईमा  चक्रवातको प्रभाव धेरै परेको छ। राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ। चक्रवातको गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ। प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ।

प्रकाशित: Sep 30, 2021| 11:16 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।