मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार: मन्त्रीका लागि सूची तयार गर्दै सत्ताधारी दल, मिथिलाञ्चलमा जितियाको रौनक

बिहानी समाचार: मन्त्रीका लागि सूची तयार गर्दै सत्ताधारी दल, मिथिलाञ्चलमा जितियाको रौनक

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुलाई समेटेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

दलहरुले आन्तरिक छलफलपछि आज मन्त्री बन्नेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउँदैछन्। सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सत्तारुढ गठबन्धन मन्त्रिपरिषद् विस्तारका लागि सहमत भएका थिए। नेकपा एकिकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाइसकेको छ भने कांग्रेस, माओवादी केन्द्र, जसजाले नाम टुंग्याउन बाँकी छ। 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

मन्त्री छनोट र पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। 

पार्टि कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको नेता लिलामणि पोखरेलले जानकारी दिए। मंगलबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण आजलाई सारिएको थियो। माओावदी केन्द्रले आजको बैठकाबाट मन्त्री हुनेहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ। यस्तै आजको बैठले आगामी पुस ११ देखि १३ गतेसम्म हुने भनेर तय गरिएको राष्ट्रिय सम्मेलनका विषयमा पनि केहि निर्णय गर्न सक्ने नेता पोखरेलले बताए। 

थप ३ जिल्लाको क्रियाशील सदस्यता विवाद मिल्यो

नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। 

कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको हो। ६४ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भइसक्दा पनि १३ जिल्ला अधिवेशन रोकिएको छ। यसअघि शनिबार महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको छ। अब पर्सा, बारा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ। यी जिल्लामा वडा अधिवेशनसमेत हुन सकेको छैन ।

शपथबारेका रिटमा सुनुवाइ हुँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज पेसी तोकिएको छ। 

नियुक्तीको एक सातापछि हिजो अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेका हुन्। शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न–नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। असोज ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन्।

मुटु दिवस मनाइँदै

आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ। यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’भन्ने नारासहित दिवस मनाइँदैछ। 

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ।  विश्व मुटु महासंघका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धि रोगबाट मृत्यु हुने गरेको छ। जसमा नेपालजस्ता विकास उन्मुख र अविकसित देशहरुमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशत भन्दा बढि रहेको छ। 

मनसुन ढिला बाहिरिने

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने भएको छ। 

मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनु पर्छ। तर, अहिलेसम्म सो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सामान्यतया नेपालमा सेप्टेम्बर २३ मनसुन बाहिरिने गरेको भएपनि यसवर्ष अक्टोबर २ पछि मात्रै मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। यद्यपी अब भारी वर्षाको सम्भावना भने टरेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। नका अनुसार आज पनि देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावन छ।

संक्रमणदर ८.३ प्रतिशत

नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए। उनका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो। एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ। यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। 

मिथिलाञ्चलमा जितियाको रौनक

आज जितिया पर्व। भगवान् जितबाहनको पूजाआजा गरी मनाइदैछ। यस दिन महिलाहरू पानी समेत नपिई व्रत बस्ने गर्दछन्। 

विशेषगरी नेपालको तराई क्षेत्रका महिलाहरूले यो पर्व मनाउने गर्छन्। प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ। आफ्नो सन्तानको दिर्घायुको कामना गर्दै महिलाहरु ब्रत बस्ने गर्छन्। जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले आज महिलाका लागि सार्वजनिक बिदा दिएको छ। नेपालमा मात्र नभई यो पर्व भारतमा समेत निकै धुमधामका साथ मनाइने गरिन्छ। 


प्रकाशित: Sep 29, 2021| 11:37 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।