मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • सरकारले संसद्को मानमर्दन गरेको ओलीको आरोप, रावल र भट्टबीच लफडा [२०७८-६-१२]

सरकारले संसद्को मानमर्दन गरेको ओलीको आरोप, रावल र भट्टबीच लफडा [२०७८-६-१२]

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

सरकारलाई सञ्चारको खबरदारी पुगेन : ओली

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन्।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको टिप्पणी गरेका हुन्। संविधान च्यातियो र मिचियो भनेर अगाडि हल्ला चलाइयो भन्दै ओलीले अग्रगामी सरकार बनाउनको लागि असंवैधानिक कदम चालेको कुरा मिडियाले नदेखेको बताए।

सांसदहरूको कारबाही रोकेर नयाँ पार्टीसमेत गठन भएको भन्दै ओलीले संसद् बन्द गरेर षड्यन्त्रमुलक ढंगले  अध्यादेश ल्याएको बताए। संसद बैठक चलिरहेको बेलामा अध्यादेश खारेज गरेको सुचना जारी गरेको भन्दै ओलीले कानुन निर्माण र फिर्ताको लागि संसद नै चाहिने बताए। 

यस्तै ओलीले संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण भएको बताएका छन्। 

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटवार्तामा  अध्यक्ष ओलीले सरकारको नियत माथि नै प्रश्न उठ्ने गरी निर्णय गरेको बताएका हुन्। उनले मन्त्रीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्दै पठाउँदै भनेका छन्– अध्यादेश खारेज असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण देखिएको छ। यसलाई तत्काल सच्याउँनुस्। उनले संसद्बाहेक अन्यत्रबाट कानुन खारेज हुन नसक्ने टिप्पणी गरेका छन्। 

कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को भएको उल्लेख गर्दै ओलीले संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन नसक्ने जिकिर गरेका छन्। ओलीले कानुन मन्त्रीसँगको भेटमा सरकारको कदमप्रति एमालेको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाएको उनका प्रेस सहयोगी रामशरण बजगाईँले बताए।

१० बुँदे कार्यान्वयन गर्ने रावल कार्यदलको निष्कर्ष

नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ। 

दश बूँदे सहमती कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको आज पार्टी केन्द्रिय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो। बैठकमा पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा छलफल भएको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए। 

बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मतबुत बनाउने गरी १० बूँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। त्यसका लागि २०७५ साल जेठ २ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरुको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताए। पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दावी समेत गरे। 

संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको इन्जार्चको विषयलाई लिएर विवाद छ। संयोजक रावलले सो विवाद पनि १० बूँदे सहमती कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे। कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसाल,  स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहनु भएको छ।

नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। अधिवक्ता न्यौपानेले सोमबार नै रिट पेस गरेकोमा मंगलबार दर्ता गरी बुधबार सुनुवाइ हुने पेसी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ। 

परराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम शपथ लिएको भनिएकोमा उक्त धारामा उल्लेख गरिएको ’संघीय कानुन बमोजिम’ भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा जिकिर गरिएको छ। 

कर्मचारीका छोराछोरीलाई मेडिकल शिक्षामा आरक्षण गर्न निर्देशन 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ। 

समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीलाई चिकित्सा शिक्षा अध्ययनका लागि विद्यमान ऐन, नियमालीहरु संशोधन गरेर भएपनि आरक्षण दिन सरकारलाई निर्देशन दिएको हो। समितिकी सभापति जयपुरी घर्तीले ऐनले व्यवस्था गरे अनुसार आरक्षणको व्यवस्था गर्न तथा आगामी दिनमा हुने चिकित्सा शिक्षासम्बन्धी परीक्षाहरुमा नियमावली संशोधन गरेर भएपनि आरक्षणको व्यवस्था गर्न निर्देशन दिएको जानकारी दिइन्। 

बैठकमा सांसद योगेश भट्टराईले चिकित्सा शिक्षामा काम गर्ने कर्मचारीहरु आर्थिक हिसाबले सम्पन्न हुने भन्दै उनीहरुलाई आरक्षण दिदाँ सम्पन्न मानिसमा नै आरक्षण जाने भएकाले चिकित्सा शिक्षासँग सम्बन्धीत कर्मचारीका छोराछोरीलाई आरक्षण दिनु आवश्यक नरहेको बताए। 

सांसद नविना लामाले चिकित्सा शिक्षामा खास जाति, समुदाय र वर्गको मात्रै पहुँच भएकाले तिनीहरुले मात्रै आरक्षणको सदुपयोग गर्ने र अन्य समुदाय पछि परिरहने तर्क गरिन्।

उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन निर्देशन 

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। 
आज सिंहदरवारमा बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्रीहरु अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए। उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सिडिओहरुले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लाहरुमा पनि लागू गर्न उनले मन्त्रालयलाई निर्देशन दिए। 

सभापति श्रीवास्तवले समितिले चाडबाडको बेलामा आवश्यक खाद्यान्नहरुको तत्काल आपूर्ति गर्न पनि निर्देशन दिएको बताए। 

लगातार तेस्रो दिन उच्च अंकल घट्यो सेयर बजार

लगातार तेस्रो दिन पनि शेयर बजार उच्च अङ्कले घटेको छ। आइतवार ६१ रसोमवार ७३ अङ्कले घटेको नेप्से आज ७० दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६ सय १५ दशमलव ४० विन्दुमा झरेको हो। 

आज पनि कारोबार भएका सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

दुई सय १८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १५ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ। एक करोड ३० लाख ३५ हजार कित्ता शेयर पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै कुमारी बैंकको १८ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

११५८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१४ हजार ३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३१८ जना कोरोना मुक्त भएका छन्।

त्यसैगरी कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ११५ जना कोराना संक्रमितको मृत्यु भएको छ।

रेबिज दिवस मनाइयो

'तथ्य बुझौँ त्रसित नहोऔँ’ भन्ने मूल नारासहित ‘विश्व रेबिज दिवस २०७८ नेपालमा पनि मनाइएको छ।

मंगलवार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो। कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताए। उनले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको  उनको भनाई छ। 

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताए। उनले देशभरमा रेबिजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल गरिरहेको बताए। कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शुन्यमा ल्याउने सरकारको योजना रहेको बताए। 

नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्ने बताए। 

समाजवादी युवाले पुनर्जागरण अभियान चलाउने 

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्चालन गर्ने भएको छ। 

युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको आज मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। संगठन निर्माण तथा पुर्नजागरण अभियान अन्र्तगत ७७ वटा जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुर्नगठन र प्रशिक्षणको आयोजना गरिने युवा संघ नेपालका महासचिव दिपक जिएमले बताए। बैठकले सदस्यता वितरणलाई व्यापकता दिदैँ कम्तिमा १ लाख ५० हजार नयाँ सदस्यहरु बनाउने निर्णय पनि गरेको उनले बताए। 

बैठकले विधान मस्यौदा पारित गर्दै सबै कमिटीमा कम्तिमा २५ प्रतिशत रहनेगरी २५ वर्षभन्दा कम उमेर समुहलाई संगठित गर्नैपर्नेलगायतका निर्णय पनि गरेको  छ। त्यस्तै युवा संघले २०४८ सालपछि आजसम्म उच्च सरकारी ओहादामा बसेका व्यक्तिहरु तथा पार्टीका केन्द्रीयस्तरदेखि जिल्लास्तर सम्मका र भातृ तथा जन संगठनका केन्द्रीय पदाधिकारीहरुको वार्षिक रुपमा अनिवार्य सम्पति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ। 

तालिवानको डरले समाजिक सञ्जालमा प्रोफाइल डिलिट 

अफगानिस्तानमा तालिबानको आक्रमणको केन्द्रमा रहने त्रासले तालिबान विरोधी अफगानहरुले सामाजिक सञ्जालबाट आफ्नो प्रोफाइल ‘डिलिट’ गर्न थालेका छन्। 

१५ अगस्ट अगाडिसम्म अफगानिस्तानमा यस्ता धैरै प्रभावशाली प्रयोगकर्ताहरु थिए, जसले समाजमा हुने नीतिनियममा पनि हेरफेर गर्न सक्थे। तर अगस्ट १५ पछि यस्ता प्रभावशाली अफगानीहरु सामाजिक सञ्जालबाट आफूले पहिला राखेको तस्बिर र विचार व्यक्त गरेका ट्वीटहरु हटाउन थालेका छन्। 

कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रोफाइलसम्म पनि डिलिट गरेका छन्। सामाजिक सञ्जाल प्रयोग गरे पछि आफू तालिबानको आक्रमणमा पर्न सक्ने खतरा रहेकोले तस्बिर र पोस्टहरु हटाएको उनीहरुले बताएका छन्। 

आज पनि ईपीएलको खेल स्थगित

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा लगातार तेस्रो खेल स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मंगलबार आयोजित खेलमा खराब मौसमका कारण काठमाडौं किंग्स एलेवेन र पोखरा राइनोजको खेल स्थगित भएको हो। अब स्थगित भएको खेलका लागि ईपीएलले नयाँ तालिका सार्वजनिक गर्नेछ। 

हिजो सोमबार आयोजित दुवै खेल स्थगित भएका थिए। आइतबारको दोस्रो खेल पनि पूरा समय हुन नसक्दा पोखरा र भैरहवा ग्लाडियटर्सले अंक बाँडेका थिए। सोमबार काठमाडौं र विराटनगर वारियर्सको खेल स्थगित भएको थियो भने दिउँसो भैरहवा र चितवन टाइगर्सको खेल स्थगित भएको थियो।

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 28, 2021| 21:05 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।