काठमाडौं- शुक्रबारको खेलमा सर्वियालाई पराजित गरेपछि स्वीट्जरल्याण्डले फिफा विश्वकपको नकआउट चरण पुग्ने सम्भावनालार्इ बलियो बनाएको छ ।
सुरुवाती अग्रता लिएको सर्वियालार्इ स्वीट्जरल्याण्डले २-१ गोल अन्तरले पराजित गरेको छ । कलिनिङगार्ड मैदानमा भएको खेलमा स्वीट्जरल्याण्डका लागि ग्रानिट जाका र शाकिरीले गरेको गोलले सर्वियालार्इ पराजित गरायो ।
प्रतियोगिता अन्तर्गत खेलको पाँचौं मिनेटमा नै अलेक्सान्दर मित्रोभिकले गोल गर्दै सर्वियालाई अग्रता दिलाएका थिए । सर्वियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफमा १-० को अग्रता लिएको सर्वियाले दोस्रो हाफमा पाएका धेरै अवसरको सदुपयोग गर्न नसक्दा पराजित भएको हो । दोस्रो हाफमा दुर्इ गोल फर्काएपछि स्वीट्जरल्याण्डले तीन अंक लिएको छ । खेलको ५२औं मिनेटमा जाकाले गोल गर्दै खेललार्इ बराबरीमा पुर्याएका थिए । ९०औं मिनेटमा जेर्दन शाकिरीले उत्कृष्ट गोल गर्दै स्वीट्जरल्याण्डको जित सुनिश्चित गराए ।
पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेको स्वीट्जरल्याण्डको समूहमा चार अंक छ भने सर्वियाको तीन अंक छ । यसै समूहमा ब्राजिलले पनि चार अंक बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४