काठमाडौं- फुटबल समर्थकले व्यग्र प्रतीक्षा गरिरहेको अर्जेन्टिनी स्टार लियोनल मेस्सीको भविष्यबारेको अन्योल चिरिएको छ।
अब मेस्सीले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नै नवीकरण गर्ने भएका छन्। उनले बार्सिलोनाले राखेको प्रस्ताव स्वीकृत गर्दै अन्य क्लबमा जाने बाटो बन्द गरेका छन्। गएको जुन ३० बाट फ्री एजेन्ट बनेका मेस्सीले अब चाँडै बार्सिलोनासँग नयाँ सम्झौता गर्नेछन्।
उनी दुई हप्ता सम्झौताविहीन बनेका थिए। अब उनले बार्सिलोनामा बस्न आफ्नो तलबको ५० प्रतिशत गुमाउनु पर्नेछ। त्यसपछि उनी क्लबको एम्बास्डर भएर अमेरिका लिगमा खेल्न जाने पनि प्रस्ताव गरिएको छ।
एक क्याटलान पत्रिकाका अनुसार उनीहरुबीच बुधबार मौखिक सम्झौता भएको छ। र, चाँडै नै त्यसलाई क्लब र मेस्सीले घाेषणा गर्ने भएका छन्। उनी क्लबबाट फ्री एजेन्ट बनेपछि इङ्लिस क्लब म्यानचेस्टर सिटी वा पेरिस सेन्ट जर्मेन जानसक्ने हल्ला चलेका थिए।
त्यसबीच उनी बार्सिलोनाको अफर कुरेर बासिरहेका समाचार पनि प्रकाशित भएका थिए। २००४ बाट बार्सिलोनाको टिममा खेल्न थालेका मेस्सीको भविष्य कस्तो होला भन्नेबारेको चर्चा भइरहेको थियो। तर अब उनले पाँच वर्षका लागि बार्सिलोनसँग सम्झौता गर्ने तय भएको हो।