काठमाडौं- शिल्पीको गोठाले नाटकघरमा शुक्रबारदेखि ज्योतिरीश्वर रंग महोत्सव शुरू भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो ।
१० असारसम्म चल्ने महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गरे । पहिलो दिन वीरेन्द्र हमाल निर्देशित 'भृ' र दिल्लीका नाट्यकर्मी डा. प्रकाश झाको 'धूर्त समागम' प्रदर्शन गरियो ।
महोत्सवमा पाँच वटा नाटक मञ्चन गरिनेछन्, जसमा दुई नेपाली नाटक 'संवदीया' र 'सोनाम ग्याल्मो' रहनेछन् । 'अश्वेत', 'धूर्त समागम' र 'भिखारीनामा' भारतीय नाटककर्मीहरूको टोलीले मञ्चन गर्नेछन् ।
'भृ'को आत्मा
झ्याप्प बत्ती बल्छ । ढ्यांग्रो र खरानी अछेतासहित केही झाँक्री मञ्चमा देखिन्छन् । मञ्चको बीचमा वस्त्रले छोपेको थुप्रोमाथि झाँक्रीहरू अछेता र खरानी फाल्छन् । नेपथ्यमा प्रेमिल स्वर र धुन गुन्जिछ । क्रमशः थुप्रोको कपडा हटाउँदा भड्किएकी युवतीको आत्मा देखिन्छ ।
राजकुमारीको आत्मा भड्किएको हुन्छ, जसको वास्तविक कुरा सुन्न झाँक्रीले अछेता हान्दै सोध्छन्, 'को हौ तिमी ?'
युवती 'भृ' नामकी राजकुमारी हुन्छे, जसको मर्जीविरूद्ध पराया संस्कार र संस्कृति भएको समुदायमा उनलाई पठाउन बाध्य पारिएको हुन्छ । आफ्नै देशको मूर्तिकारसँग 'भृ'को प्रेम बसेको थियो, जसले अति सुन्दर मूर्ति बनाउँथे ।
ती कलाकारलाई 'भृ' सोध्थिन्, 'यति सुन्दर मूर्ति बनाउन कसले सिकायो ?' कलाकार आफ्नी आमाबाट सिकेको बताउँथे । ती कलाकारलाई राजाले बन्दी बनाएर राजकुमारी 'भृ'लाई सधैंका लागि पराया मुलुकमा पठाइन्छ । मञ्चमा भने भड्किएको आत्मालाई झाँक्रीले वास्तविक कथा सुनाउन बाध्य पार्छन् ।
भुईंचालोपछि ठूलो उथलपुथल भयो । ठूला-ठूला मठमन्दिर भत्किए । ती कलाकृतिहरू छरपष्ट भए, सधैंलाई । त्यहीं थिचिएकी एक युवती राजकुमारीको कथा भन्न चाहेको नाटक हो 'भृ' । त्यसका कथाहरू 'फ्ल्यासब्याक'मार्फत् प्रस्तुत गरिएको छ ।
अन्तिममा आत्मालाई स्वर्गतिर पठाउन झाँक्रीले पहल गर्छन् । 'ब्याकग्राउन्ड' संगीतले नाटकलाई थप मर्मस्पर्शी बनाएको छ ।
सांस्कृतिक संस्थानको प्रस्तुति रहेको नाटकको लेखन र निर्देशन चर्चित रंगकर्मी वीरेन्द्र हमालले गरेका हुन् । मिथक भइसकेकी भृकुटीको विम्ब झल्किने कथा छ, 'भृ' मा
मैथिली नाटक 'धूर्त समागम'
दिल्लीका नाट्यकर्मी डा. प्रकाश झाको नाटक 'धूर्त समागम'मा सिमरौनगढ कर्णाटक वंशका राजा हरिसिंहदेवको राज्यकालको कथा छ । राजदरबारका रत्न मानिने ज्योतिरीश्वर ठाकुरले सन् १३०५ मा उक्त नाटक रचना गरेका थिए ।
कृष्ण तथा उनकै वंश चरित्रमा आधारित हरण वा स्वयंवर कथामा आधारित छ, नाटक । समाज, सामाजिक व्यवस्था, राजनीति र न्याय व्यवस्थासमेतलाई अत्यन्त तीक्ष्ण व्यंग्यद्वारा प्रष्ट्याइएको छ, जसलाई डा. झाले निर्देशन गरेका हुन् ।
मण्डलामा राजेन्द्रलक्ष्मी
मण्डला थिएटरमा पनि शुक्रबारदेखि 'राजेन्द्रलक्ष्मी' नाटक मञ्चन भइरहेको छ । ऐतिहासिक चरित्रमा आधारित उक्त नृत्यनाटिका २४ असारसम्म मञ्चन हुनेछ ।
सन् १७८५ शाहवंशीय महारानी राजेन्द्रलक्ष्मीले आठ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरण अगाडि बढाएकी थिइन् । उनी पृथ्वीनारायण शाहका छोरा राजा प्रतापसिंहकी पत्नी थिइन् ।
छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालेकी उनको संघर्षको कथालाई नाटकमा मञ्चन गरिएको छ । उक्त नाटकको निर्देशन नम्रता केसीले गरेकी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४