‘यदि नोभाक जोकोविचले खेल जीवनभर २५ वटा ग्राण्डस्लमको उपाधि जितेनन् भने त्यो निकै आश्चर्यजनक हुनेछ,’ जाकोबिचले २० औं ग्राण्डस्लामको कीर्तिमानी उपाधिसँग बराबरी गरेपछि टेनिस लेजेन्ड जोन म्याकुन्रोयले आइतबार भनेका थिए।
३४ वर्षे उमेरमा रोजर फेडेरर र राफेल नाडालले सेयर गरेको कीर्तिमानसँग बराबरी गरेका जोकोविचले पछिल्ला दिनहरुमा साँच्चै नै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनको प्रदर्शनलाई हेरेर नै म्याकुन्रोयले त्यस्तो बताएका थिए।
गएको आइतबार राति सम्पन्न विम्बल्डनमा पनि सानदार प्रदर्शन गर्दै जोकोविचले उपाधि जिते। पहिलो सेट ६–७ (४–७) ले गुमाए पनि उनले त्यसपछिका सेटमा लगातार जित निकाले। त्यसपछिका तीन सेटमा उनले ६–४, ६–४ र ६–३ को जित निकाले।
त्यो जितपछि त हो, टेनिस लेजेन्ड म्याकुन्रोयले जोकोविचले २५ उपाधि जित्नुपर्ने बताएका। ‘उनले पहिलेको भन्दा राम्रो खेलिरहेका छन्,’ उनले भने, ‘मलाई लाग्छ उनले सायद कम्तीमा पनि अब चार वा पाँच उपाधि जित्नेछन्।’
अहिले जोकोविचले पुरुषको रेकर्डसँग बराबरी गरे पनि समग्र उपाधिमा चौथो स्थानमा छन्। किनभने विश्वमा सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने मार्गरेट कोर्ट (२३) हुन् भने दोस्रो धेरै जित्ने सेरेना विलियम्स (२३) र स्टेफ ग्रेफ (२२) तेस्रो स्थानमा छन्। यी तिनै खेलाडीले महिलातर्फका उपाधि जितका हुन्।
तर उनीहरुको रेकर्ड तोड्नबाट मात्र केही उपाधि टाढा छन् जोकोविच। यता उनको प्रतिद्वन्दी फेडेरर (३९) त अब बूढा भइसकेका छन्। फेडेररलाई अंकित गर्दै जोकोविचले केही समय अघि नै आफूले धेरै उपाधि जित्ने दाबी गरिसकेका छन्।
फेडेररको खेल्ने उमेर पनि जोकोविचसँग तुलनात्मक रुपमा कम छ। यता ३५ वर्षे नाडाल भने जोकोविचका लागि अझै चुनौतिसहितका प्रतिद्वन्दी हुन्। जसबाट उनलाई सधै चुनौति रहनेछ।
सबैभन्दा मन परेको खेलौना– र्याकेट र बल
जोकोविच, दुई भाइका धनी हुन्। सर्बियाको बेल्ग्रेडमा हुर्केका जोकोविच उनका दुई भाइ र बाबुआमासँग हुर्किए। पछि उनका भाइहरु पनि टेनिस खेलाडी नै भए।
नोभाक सानै हुँदा उनका बाबु सर्दन जोकोविचले पहिला खेलौना र पछि मिनि र्याकेटसँगै नरम फर्म भएको बल ल्याइदिएका थिए। त्यो बल र ¥याकेटलाई सर्दनले ‘नोभाकलाई सबैभन्दा मनपरेको खैलौना’को रुपमा रहेको दाबी गरेका छन्।
बच्चामा मात्र होइन, त्यो नोभाकको जिवनै सबैभन्दा माया गरिएको खेलौना थियो। बाबुआमाले नोभाकलाई टेनिस क्याम्प नोवी स्याडमा पठाएपछि उनले चार वर्षदेखि नै टेनिस खेल्न थालेका थिए। तर उनका बाबुआमाले भने कहिल्यै टेनिस खेलेनन्।
उनीहरु त फास्टफुड पार्लर र खेल सामग्री बेच्ने पसल चलाउँथे। यसैक्रममा नोभाक १९९३ को एक पटक स्कुल भर्ना हुनुभन्दा अघि टेनिस क्लब पार्टिजनले आयोजना गरेको एक क्याम्पमा गएका थिए। त्यसलाई युगोस्लाभ टेनिस खेलाडी जेलेना जेनरिचले सञ्चालन गर्थिन्।
त्यहाँ नोभाकको खेल हेरेर जेनेरिचले भनिन्, ‘यो उमेरमै नोभाकमा उत्कृष्ट कला छ। मैले मोनिसका सिल्स (पूर्वखेलाडी)पछि उत्कृष्ट देखेको खेलाडी नोभाक नै हो। छ वर्षसम्म नोभाकले जेनेरिचसँगै टेनिस सिके। त्यसपछि उनलाई थप सिक्नु थियो। भविष्यका लागि ठूलाठूला र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी बन्नु थियो।
उनलाई त भविष्यमा अझै राम्रो बन्नु पो थियो। त्यसैले जेनेरिचले नै निकोला पलिचलाई सम्पर्क गराइदिइन्। १२ वर्षको उमेरमै जोकोविच टेनिस सिक्न म्युनिखको बाबरियास्थित पिच टेनिस एकेडेमीमा पुगे।
टेनिस र भाषा प्रेम
पिच टेनिस एकेडेमीबाट त उनको अन्तर्राष्ट्रिय खेल जीवनको उडान सुरु भएको थियो। त्यही बेला उनले सिंगल्स, डबल्स र टिम प्रतिस्पर्धामा युरोपियन उपाधि जितेका थिए। उनले जीवनमा प्रशिक्षक परिवर्तन पनि गरिरहे।
उनलाई मरियन वाज्डा, बोरिस बेकरजस्ता प्रशिक्षकले प्रशिक्षण गराए। प्रशिक्षण थालेको तीन वर्षपछि, २०१६ मा प्रशिक्षक बेकरले जोकोविचको प्रशिक्षकको भूमिकाबाट विदा लिएका थिए। जोकोविचले त्यतिबेला जितको लय हराएको भन्दै प्रशिक्षकसँगको सम्बन्धलाई ‘कट अफ’ गरे। यसरी विभिन्न देशका प्रशिक्षक र खेलका क्रममा विश्व डुलिरहने जोकोविचले टेनिससँगै विभिन्न भाषा पनि सिके।
आफूलाई भाषाप्रेमी बताउने जोकोविच सर्बियनबाहेक इंग्लिस, फ्रेन्च, जर्मनी र इटालियन भाषा जान्दछन्। त्यसैले त उनलाई ठूलो प्रतियोगितमा पत्रकार सम्मेलनका दौरान गाह्रो पर्दैन।
जोकोविचको प्रेम र परिवार
जब उनी उच्च शिक्षा लिँदै थिए, उनलाई एक युवती खुब मनपथ्र्यो। अत्यन्तै सुन्दर थिइन् ती युवती, जेलेन रिस्टिक। यता रिस्टिककी आमाले विराले त उनको त्यो प्रेम ‘लभ एट फर्स्ट साइट’ अर्थात् पहिलो हेराइमै गडेको प्रेम भएको बताएकी थिइन्। अनि टाढाको सहरकी सुन्दरीबाट जोकोविच भने टाढा रहन सकेनन्।
उनीहरुले हाइस्कुले जीवनमै, २००५ मै डेटिङ सुरु गरिसकेका थिए। जोकोविच र रिस्टिकले २०१३ मा इन्गेजमेन्ट गरे। र, त्यसको एक वर्षपछि जुलाईमा विवाह बन्धनमा बाँधिए।
नौ वर्षको प्रेम सम्बन्धपछि गर्भवती प्रेमिकासँग विहे गरेका जोकोविचले त्यो विवाहपछि विवाहकै सन्दर्भमा निकै चर्चा पाएका थिए। विवाहको तीन महिनामा उनीहरुको पहिलो सन्तान स्टेफेन पाए। त्यसो त, उनले त्यही वर्षको जुलाईमै आफू बाबु बन्दै गरेको बताएका थिए।
‘हामी साइन्स फिक्सन जसरी नजिक हुँदै थियौँ। किनभने म विद्यायमा थिएँ, उनी धेरै युवा खेलाडी थिए। जोसँग घुम्न जानको लागि धेरै पैसा हुँदैन थियो,’ विवाहपछि रिस्टिकले प्रेम गर्दाताकाका कुरा सुनाएकी थिइन्, ‘हवाईजहाज हाम्रो पहुँचबाट टाढाको थियो। तर हामी भेट्न चाहन्थ्यौँ। र, सम्बन्धलाई मजबुत बनाउन चाहन्थ्यौँ।’
त्यतिबेला उनीहरुलाई आफ्नो प्रेमलाई अघि बढाउन निकै साह्रो परेको थियो। जब जोकोविचले सफलता हात पार्न थाले, त्यसपछि पनि समस्या समाधान भएन। धेरै वर्षसम्म पनि उनी खेलमा कारणबिना नै थकानले व्याकुल हुन थाले।
अनि सफलताको भयो सुरुआत...
२०११ मा उनको शरीरमा सेलिक रोग लागेको पत्ता लाग्यो। उनका डाक्टरले त्यसको निदानका उपाय सुरु गरे। त्यसपछि मात्र उनको खेलमा सुधार भयो। उनको शरीरले प्रोटिनको राम्रो व्यवस्थापन गर्न सक्दैन थियो। त्यसअघि खाएको प्रोटिनले उनको सानो आन्द्रामा हानी गर्ने गरेको थियो। रोगको निदानपछि उनको डाइटमा व्यापक परिवर्तन गरियो।
त्यसपछि त उनी विश्वमा नै कसैले रोक्न नसक्ने खेलाडी भइहाले। उनले त्यो वर्ष तीन ग्राण्डस्लामसहित १० प्रतियोगिताको उपाधि जिते। त्यही वर्ष विश्व नम्बर वान बने।
२०१२ को अन्तिममा दोस्रो वरियतामा झरेका उनी २०१४ मा फेरि शीर्षस्थानमा उक्लिए। २०१५ मा त उनले लगातार चार एटीपीको उपाधि जिते। त्यसो गर्ने उनी पहिलो खेलाडी बने।
लगातार उपाधि जितिरहेको जोकोविचको जिवनमा जोसुकै प्रशिक्षक आए पनि उनले उपाधि जित्ने शृंखता तोडिएन। यो वर्ष पनि उनले अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन्।
निकट प्रतिद्वन्दी नाडाल र फेडेरर
अहिले राफेल नाडाल, रोजर फेडेरर र जोकोविच विश्व टेनिसमा छाएका खेलाडी हुन्। विश्वका अहिलेका सबैभन्दा उत्कृष्ट यि खेलाडी निकट प्रतिद्वन्दीसमेत हुन्।
जोकोविचले नाडालसँग अहिलेसम्म ५८ खेल खेलेका छन्। जहाँ जोकोविचले नाडालले भन्दा दुई खेल धेरै जितेका छन्। जहाँ हार्ड कोर्टमा जोकोविच २०–७ खेलले अघि छन् भने क्ले कोर्टमा नाडालले १९–८ खेलले अघि छन्।
नाडाललाई १० खेलमा हाराउन सक्ने विश्वका एकमात्र खेलाडी जोकोबीच नै हुन्। उनले नाडाललाई सात पटक लगातार हराएका छन्।
यता जोकोविचले फेडेररसँग ५० पटक भिडेका छन्। फेडेररविरुद्ध पनि जोकोचितले २७–२३ ले लिड गरिरहेका छन्। हार्ड कोर्टमा अघि रहेका जोकोविच ग्रास कोर्टमा भने पछि नै छन्।
यद्यपि, फेडेररलाई सबैभन्दा धेरै हराउने खेलाडीमा जोकोविच नै पर्छन्। त्यसबाहेक अन्य टेनिस स्टार एन्डी मोरी, स्टन वारिन्का, जो–विलप्रेडलगायतका खेलाडीसँग पनि उनी पछि छैनन्।
उनको टेनिस उडान अझै लामो छ। त्यसैले उनलाई कोहि कोहि बेला अहिलेसम्मकै उत्कृष्ट टेनिस खेलाडीले सम्मान पनि गरिन्छ। दुवै विंगमा उनको ग्राउन्डस्ट्रोक लगातार बलियो हुने गरेको छ।
साधारणतयाः कतिपय टेनिस खेलाडीका लागि असम्भव दुरीमा रहेको बललाई पनि उनी सहजै फर्काइदिन्छन्। त्यसमाथि उनको सर्भिस त जितको मुख्य हतियार नै हो। उनको प्रतिस्पर्धि भएर जसले खेल्नुपर्छ खेलभरि नै दबाबमा रहेर खेल्नुपर्छ। कुनै पनि खेलाडीलाई उनको प्रतिद्वन्दी हुनु सहज छैन।
अहिले उनी फेडेरर र नाडालसँग बराबरी गरेको कीर्तिमानबाट अघि बढेर सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमानमा एक्लो नाम लेखाउन चाहन्छन्। ‘मेरो प्राथमिक लक्ष्य यो नै हो। र, यसबाट म खुसी हुनेछु,’ उनले गएको आइतबार उपाधि जितेपछि भनेका छन्।