इटहरी- स्थानीय जनप्रतिनिधिले पद सम्हालेदेखि नै विकासको लहर ल्याउने रणनीति अन्तरगत टोल-टोलमा सडक निर्माण तथा मर्मतलाई तीव्रता दिए । वर्षौंदेखि नबनेको बाटो जनप्रतिनिधि आएलगत्तै बन्न थालेपछि स्थानीयवासी निकै खुशी भए । तर, त्यो खुशी धैरै दिन टिक्न सकेन। उपभोक्ता समितिले बनाउने बाटो निर्माण हुँदा महिनौंसम्म नबन्ने र धेरै सातासम्म बाटो बन्द हुँदा स्थानीय बासिन्दाले नै निकै सास्ती भोगिरहेका छन्।
यसै सास्ती पाउनेमध्येका एक हुन्, इटहरी हटियास्थित एमाले कार्यालयनजिकका बासिन्दा आकार शर्मा। शर्माले बिहीबार आफ्ना बुवा बिरामी हुँदा घरसम्म एम्बुलेन्स ल्याउन सकेनन् । सडकछेउमै घर भएर पनि एम्बुलेन्स हटियाको पुलमा रोकेर मान्छे हिँडाउँदै ल्याउनुपरेको शर्माको दुःखेसो छ। 'बाटो बनाउने नाममा गाडी नै छिर्न नमिल्ने गरी काम थालेपछि दमकल र एम्बुलेन्स छिर्न पाउँदैन,' शर्मा भन्छन्, 'यस्तो विकासलाई विकास होइन नाकाबन्दी भनिन्छ ।'
शर्मा मात्रै होइन, सोही इलाकामा डेरा गरी बस्ने अनेरास्ववियू सुनसरी अध्यक्ष जीबी गजलको कुरा पनि यस्तै छ। हरेक दिन स्कुटीमा डेराबाट ओहोर-दोहोर गर्ने गजलले आजभोलि निकै पर स्कुटी
राख्छन् र हिँडेरै कोठा पुग्छन्। कहिलेकाहीँ आफूले साहित्यिक कार्यक्रम चलाउने सप्तकोशी एफएममा पनि स्कुटी राख्नुपरेको गजल बताउँछन्। बाटो बन्ने क्रममा दुर्इ सातादेखि आफूले यस्तो सास्ती भोग्दै आएको गजलको भनाइ छ।
२० वटा भएको इटहरीका हरेक वडामा यस्तै दुःखेसो सुन्न पाइन्छ। बल्लबल्ल बनेको बाटो अनुभवविहीन उपभोक्ताले बनाउँदा बाटो राम्रोसँग नबन्ने त छँदैछ, धेरै समय बाटो छेकेर निर्माणमा ढिलाइ हुने भएकाले स्थानीयवासी तनावमा छन्।
विकासको नाममा हुने यस्तो बन्धनको विषयमा आफूले पटक-पटक कुरा उठाएर पनि सुनुवाइ नभएको बताउँछन्। इटहरीको हवाई चोकमा घर भएका संगीत साधक राम धामी भन्छन, 'मैले बाटो बनाउने नाममा गाउँघरमा सवारीहरू नै निषेध गर्ने गरी नगरौं भन्दै आएको हो तर कतै सुनुवाइ भएको छैन।'
आफूले जनप्रतिनिधिहरूलाई भेटेरै यो विषयमा कुरा गरे पनि अझै पनि यो कुराको सुनुवाइ नभएको धामीको गुनासो छ। उनको प्रश्न छ,'कत्रा-कत्रा राजमार्ग बनाउँदा गाडीहरू सहज चल्न सक्छन् भने यस्ता स-साना बाटो पिच गर्दा किन बाटो बन्दै गर्नुपर्यो ?' सबै बाटोको हालत देख्दै आएका उपहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहाल भने पानी परेको कारणले समयमा पिच गर्न नपाएर बाटो नबनेको बताउँछन् । उनले भने, 'हामीले बाटो ब्लक गर्न चाहेको होइन, पानी नियमित परेकाले ब्लक भएको हो।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४