काठमाडौं– सन् १९८३ को एक दिवसीय विश्वकपको उपाधि जित्दा इन्डियन क्रिकेट टिमका महत्वपूर्ण सदस्य रहेका यसपाल शर्माको ६६ वर्षको उमेरमा निधन भएको छ।
उनको आज मंगलबार हृदयघातका कारण निधन भएको हो। मिडल अर्डरका ब्याट्स्मेन शर्माले खेल जिवनभरी इन्डियन टिमका लागि ३७ टेस्ट र ४२ एकदिवसीय खेल खेलेका थिए। १९७८ देखि १९८५ बीचको त्यो समयमा उनले ती खेल खेलेका हुन्।
साथै उनी १९८३ को विश्वकपमा पनि दोस्रो सर्वाधिक रनर थिए। उनले समूह चरणमा वेस्टइ न्डिजसँग र सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध ६१ रन बनाएका थिए। इंल्यान्डमा आयोजना भएको त्यो विश्वकप फाइनलमा इन्डियाले ४३ रनको जित निकालेको थियो।
शर्माले त्यसबाहेक फस्ट क्लास क्रिकेटमा २१ सतक र ४६ अर्धसतकसहित आठ हजार ९३३ रन बनाएका थिए। उनले खेलाडी जिवनबाट संन्यास लिएपछि पनि प्रशिक्षण, कमेन्ट्री र क्रिकेट प्रशासकीय काममा क्रियासिल थिए।
उनले राष्ट्रिय टिमका खेलाडी छनोटकर्ता भएर २००४ देखि २००५ सम्म र २००८ देखि २०११ सम्म काम गरेका थिए। पछिल्लो समय उनी दिल्ली क्रिकेट एड्भाइजरी समितिका सदस्य थिए।