काठमाडौं- कवि तथा निबन्धकार भुपिन खड्काले विश्वकपका हरेक म्याच छुटाइरहेका छैनन् । विश्वकपभरि उनले टीभीको स्क्रिन छाड्ने छैनन् ।
निरन्तर खेल हेर्न उनी पहिले नै तयार भइहाल्छन् । जहाँ र जस्तो ठाउँमा भए पनि विश्वकपको म्याच भइरहेको देखे उनी हेर्न बसिहाल्छन् । उनी भन्छन्, 'वल्र्डकप हेर्नकै लागि भए पनि अरू चार वर्ष बाँच्न पाऊँजस्तो लाग्छ ।'
पछिल्ला सेसनमा राम्रो खेल्ने खेलाडीप्रति दर्शक निराश छन् । दर्शकले चिताएजस्तो नखेलिदिँदा खेलको संरचना नै फेरिएझैं लागेको छ । मेस्सीले पेनाल्टी गोल मिस गर्नु र रोनाल्डोले ह्याट्रिक गर्नुजस्ता घटनाले खेलप्रेमी हतोत्साही भएका छन् । कवि भुपिन भन्छन्, 'आत्मघाति गोल हुन थालेपछि खेलाडीले स्वतन्त्र खेल्न सक्दैन ।'
दर्शकले जति सोचेका थिए, त्यस किसिमको खेल कहलिएका खेलाडीले खेल्न सकेका छैनन् । भुपिन अर्जेन्टिनाको सपोर्टमा छन् । र, मेस्सीका उनी 'बिग फ्यान' हुन् । मेस्सीले पेनाल्टी मिस गरेकामा उनी पनि दुःखी छन् । यसका बाबुजद खेलाडीले राम्रो खेल्ने आशामा पनि छन् । भन्छन्, 'शुरूवाती खेल कमजोर भए पनि पक्कै आगामी खेल राम्रा खेल्ने छन् ।'
शहरमा विश्वकप झल्काउने टी-सर्ट यत्रतत्र देखिन्छन् । युवा-युवती टी-सर्ट लगाएर हिँडिरहेका छन् । युवा खेलप्रति आकर्षित रहेको देखिन्छ भने कतिले यसलाई थोरै फेसनको रूपमा लिन्छन् । धेरै खेलप्रतिको मोह ठहर्याउँछन् ।
भुपिन भन्छन्, 'कतिले खेलै नबुझी टी-सर्ट लगाउँछन् अनि फलानोले जित्छ भन्छन् ।'
त्यसरी खेललाई आकलन गर्न नमिल्ने तर्क छ, उनको । भन्छन्, 'म मेस्सीको फ्यान हुँ र उनको खेलप्रति मलाई विश्वास छ ।'
नेपालमा खेललाई गिरोहले चलाइरहेजस्तो लाग्छ, उनलाई । म्याच फिक्सिङको आरोपमा खेलाडीहरू थुनिएको क्षणमा उनी सबैभन्दा दुःखी बनेका थिए ।
नेपालमा खेल मौलाउन नसकेकामा उनी दुःखी पनि छन् । चीनले विश्वकप खेलाउन हजारौं तालिम केन्द्र खोलेको छ, जहाँ हजारौं खेलाडी अभ्यासरत छन् । भुपिन भन्छन्, 'राज्यले खेललाई माथि उठाउने खालका कार्यक्रम गर्नुपर्यो । अन्डर-१६ र अन्डर-१९मा मात्रै सीमित भएर हुँदैन ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४