सोमबार, चैत ९, २०८२

सबैलाई बोलाएर ३५० जनालाई मात्र खोप लगाउन थालेपछि त्रिविका शिक्षक–कर्मचारी आक्रोशित

उपत्यकाभित्रका सबै शिक्षक कर्मचारीलाई अनिवार्य उपस्थित हुनु भनेर बोलाएर सीमित टोकन बाँडिएको भन्दै शिक्षक कर्मचारीले विरोध गरेका हुन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– त्रिविले उपत्यकाभित्रका केन्द्रीय तथा आंगिक क्याम्पसका शिक्षक कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप लगाउन मंगलबार र बुधबार तोकेर सूचना निकालेको थियो। सोहीअनुसार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु परिसरमा मंगलबार बिहानै शिक्षक र कर्मचारी खोप लगाउन पुगे। तर सबैलाई उपलब्ध नगराएपछि शिक्षक कर्मचारीले विरोध गरेका छन्।

National life

उपत्यकाभित्रका सबै शिक्षक कर्मचारीलाई अनिवार्य उपस्थित हुनु भनेर बोलाएर सीमित टोकन बाँडिएको भन्दै शिक्षक कर्मचारीले विरोध गरेका हुन्। पहिले ३ सय ५० जनालाई मात्रै पुग्ने खोप आइपुगेको जानकारी दिएर टोकन वितरण गरेपछि शिक्षक–कर्मचारी आक्रोशित भएका थिए। केहीबेरमा थप २ सय ५० डोज खोप आएको सूचना दिइएको थियो। टोकन पाएका सबै लाइनमा बसेका छन् भने अन्यलाई बुधबार लगाइने भन्दै फर्काइएको छ। 

कोटा सिस्टम लागू गरिएको जानकारी विश्वविद्यालयले नदिएकाले प्राध्यापक, शिक्षक र कर्मचारीको भीड लागेको थापाथली क्याम्पसमा अध्यापनरत शिक्षक वेदप्रसाद पाण्डेले बताए। उनले भने, ‘यहाँ खोप कार्यक्रम अत्यन्तै अव्यवस्थित छ। खोप लगाउन आउँदा कारोनाको जोखिम बढ्ने अवस्था छ।’ उनले खोप नलगाउँदा शिक्षण लगायतका सबै गतिविधि रोकिएकाले कलेजकलेजमा लगेर सबैलाई खोप लगाउनुपर्ने बताए।  

त्रिवि पनिका परिसरमा खाेप लगाउँदै शिक्षक कर्मचारी। 

महेन्द्र रत्न क्याम्पस ताहाचलमा अध्यापनरत शिक्षक मणिराम शर्माले आफूहरु सबैले खोप लगाउन आह्वान भएअनुसार बल्खु पुगे पनि यत्तिकै फर्कनुपरेको बताए। उनले भने, ‘सबैलाई एकैपटक बोलाउने भन्दा पनि एक दिन शिक्षकलाई एक दिन कर्मचारीलाई गरेर बोलाउनुपर्ने हो। लाइनमा बस्दा नै कोरोना फैलिने जस्तो भीड गराइएको छ। विश्वविद्यालयले खोप कार्यक्रम व्यवस्थित गरेन।’ शिक्षकहरुले आन्दोलन गरेपछि थप एक सयवटा टोकन बाँडेर मंगलबार ६ सय जनालाई खोप लगाइने भएको हो। 

खोप लगाउन पाएका पाटन क्याम्पसका शिक्षक बुद्धिकुमार धाख्वाले राज्यले शिक्षक कर्मचारीलाई ढिलो गरेर खोप लगाएको बताए। उनले भने, ‘ढिलो भए पनि खोप लगाउन पाइयो तर सबैलाई खोप लगाउने व्यवस्था मिलाउनुपर्छ। शिक्षकले मात्र लगाएर भएन, विद्यार्थीले नलगाएसम्म भौतिक कक्षा सञ्चालन गर्न गाह्रो हुन्छ।’

Laxmi sunrise bank
kumari

त्रिविका शिक्षक कर्मचारीलाई मंगलबार र बुधबार खोप लगाउने कार्यक्रम छ। सीमित मात्रामा खोप उपलव्ध भएकाले मंगलबार ६ सय जनालाई मात्र खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालय कार्यालय टेकुका फोकल पर्सन मीनराज न्यौपानेले जानकारी दिए। उनले भने, ‘खोप सीमित मात्रामा उपलब्ध छ। दुई दिनमा एक हजार जनालाई मात्र खोप लगाउन सकिन्छ।’

प्रकाशित: Jun 22, 2021| 09:47 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्