काठमाडौं- बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आधारभूत तहमा सञ्चालन हुने नेपाली तथा अंग्र्रेजी भाषामा अध्यापन हुने सम्पूर्ण कक्षा निःशुल्क गर्न निर्देशन दिएको छ।
नगरपालिकाका सबै विद्यालयहरुलाई आर्थिक वर्ष २०७६–७७ देखि नै पठनपाठन तथा परीक्षा सञ्चालन, शिक्षक व्यवस्थापन, शैक्षिक सामग्री, मर्मतसम्भार कार्यका लागि नगरपालिकाबाट चौमासिक रुपमा अनुदान प्रदान गर्दै आएको हुँदा कुनै पनि शिर्षकमा शुल्क नलिन निर्देशन दिएको हो।
निर्देशनविपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास र कक्षा १–८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा नगर अनुदान रोक्ने र आवश्यक कारबाही गर्ने नगरले सूचनामार्फत् चेतावनी दिएको छ।
यसका साथै नगरले सबै सामुदायिक विद्यालयहरुले कक्षा ९ र १० को वार्षिक तथा मासिक शुल्क संरचना पुस्ट्याइसहित पेस गरी नगरबाट स्वीकृति लिन भनेको छ।
नगरका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले जारी गरेको सूचनामा संस्थागत विद्यालयले विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ बमोजिमको शुल्क संरचना कायम गरी पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक र सन्दर्भ सामग्रीबाट मात्र पठनपाठन गर्नुपर्ने उल्लेख गरिएको छ।
नगरभित्रका संस्थागत विद्यालयलाई नगरपालिकाले सात दिनभित्र अनिवार्य रुपमा विद्यालयको शुल्क संरचना तथा पाठ्यपुस्तकको सूची पेस गर्नु निर्देशन दिएको छ।