सोमबार, असार २९, २०८३

ओली सत्ता : 'सरकार' कि 'घोडा' !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
केही प्रश्न र सन्दर्भबाट कुरा शुरु गरौं ।

भर्खर मात्र थाहा भयो, नेपालमा 'किसान आयोग' छ । यसमा केही विशिष्ट महानुभावहरू पदासिन छन् । यसको आफ्नै कार्यालय, कर्मचारी र बजेट छ । यस्तो महत्वपूर्ण कुरा मलाई थाहा थिएन । शायद यो मेरो आफ्नै कमजोरी हो । तर, नेपालका लाखौं किसानलाई किसान आयोगको कुरा कति थाहा छ ?

भक्खर मात्र दूध किसानहरूले सडकमा दूध पोखे । उनीहरू आफ्नो मर्का सरकारलाई सुनाउन चाहन्थे । हाम्रो 'किसान आयोग'लाई यो कुरा कति थाहा छ ? बर्खा लाग्यो यता शहरका सडकहरू हिलाम्य छन्, उता खेतहरूमा पानी छैन । अतः किसान रोपाईंको चिन्तामा छन् ।

गाउँमा किसानी गर्ने मान्छे कम छन् । त्यसैले श्रम महँगो छ । मल, बीउको चिन्ता त छ नै, यस वर्ष कस्तो उब्जनी होला र त्यसले कस्तो भाउ पाउला, किसानको चिन्ता त्यही हो । मानो रोपेर मुरी फलाउने होइन, मुरी खर्च गरेर मानो उमार्ने नेपाली किसानको व्यथा किसान आयोगलाई थाहा छ ?

नेपालमा बृहत् शान्ति सम्झौता भएको १२ वर्ष भयो । त्यसयता युद्ध नायकहरू पटक-पटक सरकारमा पुगे र मन्त्री भए । तर, द्वन्द्वबाट प्रभावित जनताको ठूलो हिस्सा अझै पीडामै छ । यसको अर्थ १० वर्षे द्वन्द्वले समाजमा पारेका घाउहरूमा खाटा बसेको छैन । यसर्थ नै सत्य निरूपण आयोज र बेपत्ता छानविन आयोग बनाइएको छ ।

तर, के आयोगको काम, कार्यप्रक्रिया र परिणामबारे द्वन्द्वपीडितहरू जानकार छन् ? के उनीहरू विश्वस्त छन् कि यी आयोगहरूले सत्यको निरूपण गर्लान् ? के बेपत्ताहरूका परिवार विश्वस्त छन् कि उनीहरूका लापत्ता प्रियजनहरूबारे तथ्य प्रकाशन होला ? अन्यथा यस्ता आयोगहरू किन छन् ?

प्रश्न गर्न अरू पनि अनेकौं विषय छन् । जस्तो : हामीसँग स्थानीय तह छ । गाउँपालिका, नगरपालिका, महानगरपालिकाहरू छन् । त्यहाँ आफ्नो तलब-भत्ता आफैं तोक्ने जण्ड प्रमुख, मेयर र पदाधिकारी छन् । हामीसँग अझै जिल्ला नाम गरेको एउटा तह छ, जसमा जिल्ला समन्वय समिति बस्छ ।

हामीसँग अनेक सरकारी कार्यालय छन् । तिनीहरूका आफ्नै कर्मचारी संरचनाहरू छन् । जहाँ सचिव, सह-सचिव, निर्देशक र हाकिमहरू हुन्छन् । सरकारसँग अर्बौंको बजेट छ । त्यो बजेट सालिन्दा या त फ्रिज हुन्छ या सकिन्छ । तर, किन छन् यावत संरचनाहरू ?

- मूल्यवृद्धिले भुईं तहलाई सबैभन्दा धेरै मर्कामा पारेको छ । तर, सरकार ती निर्धा मान्छेहरूप्रति पनि उदासिन देखिन्छ । यस्तो लाग्छ, यो कुनै कम्युनिस्ट सरकार होइन ।


सडकमा परेका सानातिना खाल्डाखुल्डी पुर्न नसक्ने जनप्रतिनिधि र सडक विभाग किन छन् यो देशमा ? आफ्नो निर्वाचन क्षेत्रमा कुन तमासा गर्न हाम्रा सांसदहरूलाई चार करोड चाहिएको हो ? साधारण पखाला चल्दा बुढी आमालाई एक पुरिया जीवनजल दिन नसक्ने स्वास्थ्यचौकी किन छन् गाउँमा ?

विद्यार्थीहरूलाई फेल गर्ने शिक्षण संस्थाहरू किन छन् जताततै ? आफ्नो कामप्रति पटक्कै उत्तरदायी नहुने मान्छेहरूलाई तलब, भत्ता र सुविधाका नाममा अर्बौं रकम किन खर्च गर्छ सरकार ?

अर्को पनि रोचक कुरा छ । जस्तो : हामीसँग कृषि विकास बैंक छ, जो किसानलाई भैंसी किन्न महँगोमा ऋण दिन्छ । तर, शहरका साहुलाई गाडी किन्न सस्तो ब्याजमा ऋण उपलब्ध लगाउँछ ।

हामीसँग गाउँमा खरदार छ, जो सर्वसाधारणमाथि शासन गर्छ र नेताकोमा हाजिर बजाउँछ । हामीसँग कर्मचारी छन्, जो कार्यालय कम र पार्टी अफिस ज्यादा धाउँछन् ।

हामीसँग केही यस्ता प्रहरी छन्, जो तस्करसँग सेटिङ मिलाउँछन् र जनतामाथि डण्डा मार्छन् । हामीसँग नियमहरू छन्, जो मिच्नकै लागि लेखिन्छन् । जस्तो : हामीसँग संविधान छ, संविधानमा ३३ प्रतिशत महिलाको कुरा छ । तर, ठूला दलहरू त्यसको धज्जी उडाउँछन् ।

हामीसँग सञ्चार मन्त्री छन्, जो प्रश्नहरूलाई बन्ध्याकरण गर्छन् । र, आफ्नो शक्तिको मादकतामा मदहोस हुन्छन् । यो राज्य पोषित अराजकता र बेथिति किन छ ? यसलाई रोक्ने काम कसको होला ?

समय र सन्दर्भ

केही साल अगाडिको एउटा प्रसंगलाई पुनः स्मरण गर्न चाहन्छु । धरानको कुनै वन उपभोत्ता समिति परिसरमा पिकनिक थियो । पिकनिकमा त्यतिबेला उमंग हरायो, जब त्यो पार्टी प्रशिक्षणमा फेरियो । भन्नु एउटा र गर्नु अर्कै भयो । उद्घोषकले शुरु गरे- कुनै पनि कार्यक्रम अगाडि बढाउन सभापतिको आवश्यकता (?) पर्ने हुँदा आदि ।

कार्यक्रम गर्दा सभापतिको आवश्यकता किन पर्छ ? स्वयं सभापतिलाई थाहा हुँदैन । यद्यपि, सभापतिले कुर्सी सम्हाले । आसन ग्रहण र भाषण भयो । कार्यकर्ता भोकले छटपटाए तर प्रशिक्षण सकिएन । कार्यकर्ताहरू १/२ गर्दै थाल टिपेर भान्सातिर लाग्न थाले ।

यता मञ्चमा अझै बाँकी थिए, उद्घोषक र सभापति । सभापतिले अन्त्यमा गर्वसाथ भने, 'सभापति हुँ केही त बोल्नैपर्छ ।' उनले थप आधा घण्टा बोले तर सुन्ने कोही थिएन । के यस्तै हो हाम्रो सरकार ? देशमा एउटा सरकार आवश्यक पर्ने हुँदा सरकार बन्यो । देशमा केही कर्मचारीहरू चाहिन्छ, त्यसैले कर्मचारी संरचना बन्यो । पार्टीले जे जस्तो भए पनि आफ्ना मान्छेहरूलाई जागिर दिनैपर्छ, त्यसैले आयोग बन्यो ।

तर, किन यो सबै गरियो र यसको जनतासँग के साइनो छ ? शायद यो कम्तिमा सरकारलाई थाहा हुनुपर्ने । उही धरानको पार्टी पिकनिकमा झैं सरकार भाषण गर्दो छ । काँचो भातको सकसमा छन् जनता । भाषण र भोकका बीचमा के फरक छ, कसैले बताउँदैन ।

औचित्यको खोजी

ओली सरकार आधुनिक नेपालको ४९औं सरकार हो । ००७ सालदेखि हिसाब गर्दा ६८ वर्षमा ४८ वटा सरकार बने र ढले । यसरी हेर्दा यो सरकारको कुनै थप मूल्य छैन । तर, इतिहासको चश्माले हेर्दा ओली सरकार गणतान्त्रिक संविधान आएपछिको पहिलो निर्वाचित सरकार हो । त्यसैले यो सरकार नेपाली जनताको संवैधानिक आशा र अपेक्षाको पछिल्लो अभिव्यक्ति हो ।

योसँग लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई एक सिँढी माथि लैजाने दायित्व छ । यो सरकारसँग नयाँ राज्यसंस्कृति र सुशासन स्थापित गर्ने दायित्व छ । यो सरकारलाई फटाफट काम गर्नुपर्ने जिम्मेवारी छ ।

यो मात्र बोल्ने सरकार होइन । वाचाल मान्छेहरू त गाउँ-गाउँमा चटक गरेर बसेकै छन् । यो सरकारलाई कामहरूको सूची बनाउने र सय दिनको फेहरिस्त प्रकाशन गर्ने छुट छैन । यसले परिणाम दिनुपर्छ ।

तर दुर्भाग्य, सरकार बनेको चार महिना भयो । पाँच वर्षभित्र उधुम मच्चाउँछु भन्ने सरकारले चार महिनामा केही शुरुवात त गर्नैपर्छ ।

तर, तीव्र महँगीले जनताको ढाड भाँच्दैछ । सरकार यसलाई स्वाभाविक महँगी भनेर मुसुक्क हाँसी दिन्छ । असारे विकासले शहर अस्तव्यस्त छ । गाउँमा कुनै रोजगारी छैन । सबै कुरा हेर्दा लाग्छ, सरकार या त सिंहदरबारमा, अथवा पार्टीका कार्यक्रम वा गोष्ठीहरूमा मात्र छ ।
 

- गफाडी शासकहरू भएको देशमा सपना र यथार्थको भ्रम निकै चर्को हुन्छ ।


अस्पताल, विद्यालय, हिलो सडक, किसानका खेत, गरिबका भुपडी र तरकारी बजारमा कतै पनि सरकार छैन । १/२ जना असल मन्त्रीहरू छन् । उनीहरूको सक्रियता लोभलाग्दो छ । तर, राज्य मेसिनरी खिया परेझैं देखिन्छ, जहाँ १/२ मन्त्रीको सक्रियताले कुनै उलटफेर ल्याउँदैन ।

परिणाम जे हुनुपर्ने त्यो हुँदैन र नहुनुपर्नेहरू भइरहन्छन् । भाषणमा मात्र सरकार देखिनु र अन्यत्र अन्धकार हुनु यो कस्तो मायाजाल हो ? यसरी यो सरकारले आफ्नो औचित्य कसरी पुष्टि गर्छ ?

हामी इतिहासको अपूर्व कालखण्डमा छौं । अपूर्व यसकारण कि हामीसँग नयाँ संविधान छ । हामीसँग संघीय लोकतान्त्रिक गणतन्त्र छ । जनता शान्ति, समृद्धि र स्थायित्वप्रति सचेत छन् ।

यी यस्ता अवसरहरू हुन्, जुन अगाडि थिएनन् । तर, सँगै अनेकौं चुनौती पनि छन् । मुलतः हाम्रो आर्थिक वृद्धिदर तीन दशमलव पाँच प्रतिशतबाट तल झर्ने विज्ञहरू बताउँछन् । यसलाई उकास्नु छ ।

विगतका निरन्तर आन्दोलनहरूले दुई हजारभन्दा धेरै उद्योग बन्द छन् । भनिन्छ, बितेका चार महिनामा यातायात, उद्योग र निर्माण क्षेत्रबाट दुई लाख कामदारहरू पाखा लागे । उनीहरू खाडीतिर पुगे । सरकारले रोजगारी थप्नु छ । पूर्वाधार बनाउनु छ । बिजुली निकाल्नु छ । भ्रष्टाचार बढ्दो छ । महँगी र कालोबजारी संस्थागत हुँदैछ, जसलाई रोक्नु छ । सुशासन दिनु छ ।

यसरी हेर्दा हामी उज्यालो र अँध्यारोको बीचमा छौं । यस्तो बेला होसपूर्वक उज्यालोतिर जाने सरकार चाहिन्छ । यस्तो बेला सबैलाई सुन्ने र आफ्ना कमजोरीहरू स्वीकार्ने सरकार चाहिछ ।

मान्छेहरू भन्छन्, 'इतिहासले प्रधानमन्त्री ओलीलाई ख्यालठट्टा गर्ने थोरै पनि छुट दिँदैन ।' तर, ओली महोदय सुशासन, समावेशीकरण र विधिको शासनमाथि दुई तिहाइको कोर्रा बर्साउँदै छन् । या त उनी विनोदपूर्ण ठट्टा गर्दै मगनमस्त भेटिन्छन् वा दम्भले गमक्क ।

शायद शक्तिशाली र ठूलो हुनुको भ्रममा छन्, उनी । परिणाम, नीति, बजेट र कार्यक्रम कतै पनि समयको बोध देखिँदैन । यो सरकारमा न त समाजवादी न्यायको प्रतिबद्दता देखिन्छ, न पुँजीवादी प्रतिस्पर्धामा गम्भीरता ।

त्यसैले ओली सरकारलाई भनौं, महोदय आफ्ना आसेपासे, कार्यकर्ता र स्वार्थ समूहसँग मात्र निमग्न रमाउने समय छैन है ? आफ्नो चरित्रलाई स्पष्ट गर । जाने बाटो कता हो, सिधार गर र भुईंका मान्छेहरूलाई समेट । अन्यथा, ती मान्छेहरूका लागि सरकार सिर्फ भ्रम हुनेछ, जसले सिंहदरबार देखेकै छैनन् ।

सरकारका कमजोरीहरू मात्र उतार्नु यो लेखको उद्देश्य होइन । तर, कमजोरी छोप्नु पनि आवश्यक छैन । कमजोरी सुधार्नु पर्छ । 'मुख्य शब्द'मा हेर्दा 'अहंकार, कुशासन र विधि उल्लंघन' सरकारको मुख्य कमजोरी हो । सरकार प्रश्नहरूप्रति उदार देखिँदैन । आफ्ना पार्टीका महिलाको ३३ प्रतिशत सहभागिताको मागलाई गैससहरूको प्रायोजन देख्ने प्रधानमन्त्री अनेक प्रश्नहरूमा आक्रामक भेटिन्छन् ।

प्रश्नहरू नरुचाउने, स्वतन्त्र चिन्तनको खोइरो खन्ने र अध्ययन संस्कृतिलाई निरुत्साहित गर्ने प्रधानमन्त्रीको तरिका राज्य सञ्चालनको प्रवृत्ति नबनोस् । तर दुर्भाग्य, उनका केही मन्त्रीहरू प्रधानमन्त्रीको सिको गर्दै प्रश्नहरूलाई निमोठ्न उद्यत भेटिन्छन् । समग्रमा आफ्नै अहंकारले होला शायद, सरकार छुचो बोल्छ । दम्भ देखाउँछ ।

याद गरौं, छुचो बोली प्रतिपक्षलाई सुहाउला, सरकारमा बस्नेले त मित्रवत् कुरा पो गर्नुपर्छ । कार्यकर्तालाई उचाल्नु र जनतालाई आश्वस्त गर्नु दुई फरक कुरा हुन् । सरकारमा बस्नेले त जनतालाई अपिल पो गर्नुपर्छ । खास यही सद्गुण यो सरकारमा देखिँदैन ।

सरकारी उदासिनता

आफ्नो समर्थन संख्या तीन चौथाइ पुर्याउने सरकारी महत्वाकांक्षाले हाम्रो लोकतन्त्रलाई कता लैजान्छ ? थाहा छैन । संघीय व्यवस्थापिका नियमावलीमा भएको व्यवस्थालाई समेत कार्यान्वयन गर्न सरकार उदासिन हुँदैछ, जसको प्रत्यक्ष प्रभाव नियमावलीको नियम ५६ लाई परेको छ ।

जसअनुसार प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो साता संसद्मा उपस्थित भई सांसदहरूको प्रश्न सुन्ने र जवाफ दिने गर्नुपर्छ ।

तर, यसको कार्यान्वयन कमजोर छ । यसैगरी, विषयगत मन्त्रालयमाथिका छलफलहरूमा मन्त्रीको अनुपस्थितिले संघीय व्यवस्थापिका नै स्थगित भएका उदाहरणहरू पनि छन् । यी केही उदाहरण मात्र हुन् । मुल कुरा कार्यकारीको विधिमाथिको यस्तो उदासिनता र दम्भले लोकतन्त्र बन्दैन ।    

दुर्भाग्य भनौं, ओली सरकारको आगमनसँगै मूल्यवृद्धि आकासियो । तेल, चामल, दाल छुनै नसक्ने भयो । तरकारीको मूल्य अस्वाभाविक बढ्यो । यसलाई रोक्ने सरकारको भूमिका कतै पनि प्रभावकारी देखिँदैन ? किन यस्तो भयो ?

पछिल्लो मूल्यवृद्धिले भुईं तहलाई सबैभन्दा धेरै मर्कामा पारेको छ । तर, सरकार ती निर्धा मान्छेहरूप्रति पनि उदासिन देखिन्छ । यस्तो लाग्छ, यो कुनै कम्युनिस्ट सरकार होइन । सामाजिक सुरक्षा कार्यक्रमहरूमा सरकारको भनाइ र गराइ उल्टो भयो ।

नीति तथा कार्यक्रम र बजेट हेर्दा लाग्छ, सरकार ठूला-ठूला कुरामा रमाउँदैछ, जहाँ साना-साना कुराहरू छुट्ैछन् । कुरा ठूला-ठूला गर्ने र साना-साना कुराहरू छुट्दै जाने हो भने आधार तहका मान्छेहरूले न्याय कहाँ खोज्ने ?
 

कृपया ख्यालठट्टा नगर र अगाडि बढ । अन्यथा यो सरकार पनि एक भ्रम मात्र हुनेछ ।



सरकारका सय दिनहरू बिते । अब सरकारले आलोचना सुन्नुपर्छ । निश्चय नै, काम गर्न सजिलो छैन । तर, काम नगरी बस्ने छुट पनि त दिन सकिँदैन । जनताको निराशालाई आशामा फेर्ने काम सरकारको हो । पछिल्ला जनअपेक्षाहरूलाई सम्बोधन गर्ने काम सरकारको हो । मधेश, पहाड र हिमाल जोड्ने काम सरकारको हो ।

सरकारले अनुभूत हुने गरी परिणाम दिनुपर्छ । अन्यथा, परिणामविहीन सरकार असफल सरकार हो । त्यो असफलताको हिसाब-किताब पाँच वर्षपछि गरेर हुँदैन । जे गर्ने हो गर्दै जाऊ, काम पनि गर्दै जाऊ, आलोचना पनि सुन्दै जाऊ, आफूलाई सुधार्दै जाऊ र परिणामहरू निकालौं । अन्यथा, पाँच वर्ष चुपचाप जनताले सहनुपर्छ भन्ने सरकारी अपेक्षा जायज हुँदैन ।  

अन्त्यमा सानो कथा जोडौं । अत्यन्तै दुर्गम गाउँमा सरकार (मन्त्री)को सवारी हुने भएछ । स्वागतद्वारहरू बने । आसपासका साना-साना विद्यार्थीहरूलाई स्वागत गर्न लगियो ।

भीडमा सरकार (मन्त्री) घोडा चढेर आयो र गयो । आफ्नो सानो छोरालाई बेलुका आमाले सोधिन्, 'बाबु सरकार देख्यौ ?' छोराले भन्यो, 'देखें । सरकार त बलियो रहेछ । हाम्रो माले गोरुभन्दा पनि अग्लो । मान्छेलाई ठम् ठम् बोकेर उकालो हिँड्न सक्ने ।' आमा छक्क परिन् ।

बुझ्दै जाँदा रहस्य खुल्यो । सानो केटाले कहिल्यै घोडा देखेको थिएन । न त उसले त्यसभन्दा अगाडि सरकार नै देखेको थियो । उसलाई लाग्यो, सरकार त्यही हो । कालो घोडा । कथाको अनेक अर्थ होला । यहाँ भने कथा सरकारको कर्मसँग जोडिन्छ ।

भीडमा आउने र जाने मात्र सरकारको कुनै परिचय हुँदैन । परिचय पाउन कुनै यस्तो काम गर्नुपर्छ, जसलाई परैबाट चिन्न सकियोस् । अन्यथा बच्चाका लागि घोडा र सरकारमा के भेद ?

अतः सरकारले यस्तो काम गरोस्, जसलाई परैबाट चिन्न सकियोस् । अन्यथा नेताहरूले भनिदिऊन् कि सरकार एक भ्रम हो । सरकारले स्वरमा स्वर थपेर भनोस् कि पुलिस अर्को भ्रम हो । मेयर भ्रम हो । हाकिम भ्रम हो । अन्यथा सरकार हुनुको अनुभूति त चाहियो ।

कि त स्वीकारौं कि गफाडी शासकहरू भएको देशमा सपना र यथार्थको भ्रम निकै चर्को हुन्छ । र, त्यो स्वीकारोक्तिको उत्सव मनाऔं । त्यही उत्सवमा घोषणा गरौं कि सपना र विपनाको फरक नबुझ्ने सरकार फलतः एउटा भ्रम हो । अन्यथा, सरकार कतै छ भने त्यसको अनुभूति त हुनैपर्छ ।
 
अन्त्यमा, प्रधानमन्त्रीलाई आग्रह छ ! कृपया उखान होइन, जवाफ देऊ । तिमीबाट हामीले के आशा गर्ने ? नेपाली जनताको आँखामा तिमी मात्र 'घोडा' हुन चाहन्छौ कि 'सरकार' ।

अन्यथा, न त तिमीलाई समयले पर्खिने छ, न त हामीलाई नै । त्यसैले अनुरोध छ, इतिहासको महान गतिलाई उखानको सहारामा नगिजोलौं । अन्यथा, सरकार तिम्रा समृद्धिका भ्रमहरू उदांगो हुनेछन् । त्यसपछि लाज ढाक्न कहाँ जाने ? कृपया ख्यालठट्टा नगर र अगाडि बढ । अन्यथा यो सरकार पनि एक भ्रम मात्र हुनेछ ।

लेखक दाहाललार्इ ट्वीटरमा @dahalkeshab मा भेट्न सकिन्छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।