काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रममा भएको विवादको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेका छन्।
विश्वविद्यालयको स्नातकोत्तर इन्जिनियरिङ कार्यक्रम निर्देशक विश्वनाथ यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर विषय शिक्षकले पठाएको नभई मनलाग्दी रुपमा पठाएको विषय सार्वजनिक भएपछि यस विषयमा छानबिन गर्न उपकुलपति सिंहले छानबिन समिति गठन गरेका हुन्।
समितिमा प्रा.डा. दीप बहादुर रावलको नेतृत्वमा प्रा.डा. सीपी रिजाल र वीरबहादुर पौडेल छन्। उपकुलपति सिंहले छानबिन समितिले रिपोर्ट पेस गर्ने र त्यसका आधारमा दोषी देखिने सबैलाई कानूनबमोजिम कारबाही गरिने बताए। उनले भने, ‘मैले प्रदेश प्रमुखलाई पनि यो विषयमा भनेको छु। छानबिन समिति गठन गरेको छु। समितिले रिपोर्ट पेस गर्छ। आवश्यक पर्ने सबैलाई पालैपालो स्पष्टीकरण सोधिएको छ।’
विश्वविद्यालयमा देखिएको बेथितिलाई सबै मिलेर हटाउनुपर्ने र यस्ता काम गर्नेमाथि कडाभन्दा कडा कारबाही हुने उनको भनाइ छ। कार्यक्रम निर्देशक यादवलाई विश्वविद्यलायले स्पष्टीकरणका लागि पत्र काटेपछि उनले स्पष्टीकरण दिएका छन्। आफूखुसी नम्बर दिएपछि विद्यार्थी र क्याम्पसबीच भएको विवाद विश्वविद्यालयको उपकुलपतिसम्म पुगेको थियो।