नयाँदिल्ली- कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ। जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा पनि यसबारे छलफल सुरु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका हुन्।
कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उद्देश्यले ‘भ्याक्सिन पासपोर्ट’को अभ्यास सुरु भएको छ।
दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले विभिन्न देशमा ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफूहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको बताएका हुन्।
भारतले पनि कोरोनाभाइरसको दुवै खोप लगाएकाहरुलाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सिन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित हुने/नहुने भन्ने बारेमा छलफल हुन थालेको बिहीबार जनाएको छ।
'यस बारेमा हामी पर्याप्त जानकार छौँ, यो विभिन्न देशमा प्रचलनमा आउने क्रममा रहेको छ, यो विश्वभर नै छलफलको विषय बनिरहेको छ,' उनले भने।
कतिपय विकासशील मुलुकहरुले अहिलेसम्म पनि पर्याप्त खोप पाउन नसकिरहेका बेला यसको औचित्य र उपयोगिता कति उपयुक्त हो भन्ने दृष्टीकोणबाट पनि कुरा उठ्ने गरेको उनले उल्लेख गरे।
‘भ्याक्सिन पासपोर्ट’भन्दा ठूलो कुरा सवैले समान रुपमा भ्याक्सिन पाउनु पर्छ भन्ने हो, हाम्रो त्यसैमा जोड रहेको छ,' उनले भने।