तस्बिर: सन्ध्या श्रेष्ठ
काठमाडौं- रेडियोले द्वन्द्वकालीन समाचार बाचन गरिरहेको थियो । चार जना क्रान्तिकारीहरू ‘स्टेज’मा पुगे । र, गाए, ‘अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर ।’
शिल्पीको अँध्यारो हलमा अभिनय गर्दै थिए, ‘सखी’का पात्रहरू । निर्देशक घिमिरे युवराज उनीहरूलाई निर्देशन दिँदै थिए । रमेश रञ्जनको नाटक ‘सखी’मा नेपाली संवादभन्दा मैथिली भाषा बोल्ने पात्रहरूको बाहुल्य थियो । र, नयाँ पुस्ताका कलाकार जोश र अनुशासन प्रस्तुत गर्दै थिए ।
आठौं ‘ब्याच’ शिल्पी थिएटरमा प्रशिक्षणरत छ । ‘सखी’मा भने पाँचौं ब्याजसम्मको सहभागिता छ ।
रंगमञ्चमा नयाँ पुस्ता आकर्षित भएको देखेर शिल्पीमा अध्यक्ष कुमार आले दंग छन् । ०६० सालदेखि गुरुकुलमा नाट्यकर्मी सुनिल पोखरेल र प्राध्यापक अभि सुवेदीले दर्शक तान्न कसरत थालेका हुन् । डेढ दशकको यात्रामा दर्शकको उपस्थिति बाक्लिएको छ, रंगमञ्चमा ।
शिल्पीको आठौं ब्याचमा १२ जना छन्, जो तनमन लगाएर अभिनय सिकिरहेका छन् । सर्लाहीका सदरसिंह खत्री ‘मेजर इंग्लिस’ पढ्दै थिए । केही महिना उनले ‘मार्केटिङ’को पनि काम गरे । त्यसमा रमाउन सकेनन् र अभिनय सिक्न थाले ।
खत्रीको परिवारको रुचिको विषय होइन, थिएटर । पहिले उनी परिवारका सदस्यमाझ आफूलाई अभिनय आउने फुर्ति लडाउँथे रे । अहिले भने साँच्चै सिक्दैछन् ।
उनकै समूहमा छिन्, काठमाडौं चाबहिलकी दिप्ती पौड्याल । एलएलबी सकेर ‘ड्रामा’मा लागेकी छन्, उनी । उनको लक्ष्य राम्रो कलाकार बन्ने हो ।
भन्छिन्, ‘घरको दबाबमा एलएलबी गरें । आफ्नो रोजाइमा अभिनय सिक्न थालें । खासमा, मन परेको थिएटर नै हो ।’ मोटो ज्यानकी उनी पनि अभिनयलाई करिअर बनाउने सोचमा छिन् ।
१२ जना तन्नेरी गोलो घेरामा छन् । उनीहरूलाई पढाइरहेका छन्, रंगकर्मी घिमिरे युवराज । र, तन्नेरीहरू पालैपालो प्रस्तुति दिइरहेका थिए ।
‘उच्च घरानाका विदेशमा, निम्न वर्गका पढाइ÷लेखाइमा । मध्यम वर्गका युवा÷युवती थिएटरतिर ।’
मण्डला थिएटरमा भने छैटौं ब्याच ‘वर्कसप’मा छ । एउटा कक्षामा २४ जनाको समूह हुन्छ ।
दाङका आर्जेश रेग्मीले ‘डिग्री माइला’, ‘जय माया आफू मात्र लिखापानी आइपुगिन्’जस्ता चर्चित नाटकमा प्रस्तुती दिइसके । तेस्रो ब्याचका उनी रंगमञ्चमा दुःख देख्छन् । फेरि पनि यसैमा भविष्य खोजिरहेका छन् ।
सर्वनाम थिएटरमा १३ औं ब्याजको वर्कसप चलिरहेको छ । कुञ्ज थिएटरमा पनि उत्तिकै संख्याका युवा ‘ड्रामा’मा डुबिरहेका छन् ।
महिनौं एउटै ड्रेसअपमा देखिन्छन्, कैलालीका झकेन बीसी । शिल्पीको पाँचौं ब्याचका उनले आठौं ब्याचका विद्यार्थीलाई मार्सल आर्ट सिकाइरहेका छन् । भन्छन्, ‘थिएटरले अभिनय मात्रै होइन, बाँच्न पनि सिकाइरहेको छ ।’
बलिउडको नक्कलबाट बाहिर निस्किनै पर्ने दबाबमा, फिल्मकर्मी । विकल्प बनेका छन्, रंगकर्म सिकेका युवा ।
यस कारण आकर्षण
प्राध्यापक सुवेदीको विश्लेषण छ, ‘थिएटरले दर्शकलाई प्रत्यक्ष मज्जा दिन्छ, युवा पुस्तालाई मन परेको कुरा पनि त्यही हो ।’ शुरुवाती दिनमा दर्शकलाई थिएटरसम्म तान्न ठूलै पापड बेल्नु परेको भुलेका छैनन्, उनले । थप्छन्, ‘दर्शकले बल्ल थिएटर बुभ्mदैछन् ।’
जब नेपाली सिनेमा बन्न थाले, नाटक छायाँमा प¥यो । तर, अहिले सिनेमा निर्माता÷निर्देशकले नै थिएटरका कलाकार खोज्न थालेका छन् ।
नाटक सिक्न आउने अधिकांश मध्यम वर्गका युवा छन् । शिल्पीका अध्यक्ष आलेको विश्लेषण छ, ‘उच्च घरानाका सन्तान प्रायः विदेशमा पढ्छन् । निम्न वर्गका सन्तान भने पढाइ÷लेखाइमा लाग्छन् । मध्यम वर्गका युवा÷युवती थिएटरतिर होमिएका छन् ।’
शिल्पीकै पाँचौं ब्याचका सुरेश जीसी पर्वत सिंगारकोशका हुन् । गाउँमा सडक नाटक देखाउँदै हिँड्थे, एक समयमा उनी । विस्तारै शिल्पीको भरपर्दो पात्र बन्दैछन् । भन्छन्, ‘थिएटरले अभिनयलाई निखार्ने मात्र होइन, अनुशासित हुन पनि सिकाउँछ ।’
शिक्षित युवाले थिएटर बुझ्न थालेकामा नाट्यकर्मी अनुप बराल दंग छन् । भन्छन्, ‘यो सकारात्मक भविष्यको संकेत हो ।’
लक्ष्य सिनेमा
अभिनय सिकेका युवालाई धमाधम फिल्मकर्मीहरूले ‘ब्रेक’ दिइरहेका छन् । अहिलेका दर्शक अभिनय सजिलै चिन्छन् । र, कुन पात्रले कति मिहिनेत गरेको छ भन्ने औंल्याउन सक्छन् ।
फिल्मकर्मी पनि बलिउडको नक्कल गर्ने शैलीबाट बाहिर निस्किनै पर्ने दबाबमा छन् । विकल्प बनेका छन्, रंगकर्म सिकेका युवा ।
अहिलेका चर्चित् सिनेकर्मीहरू दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, अरुणा कार्की, बुद्धि तामाङ र नाजिर हुसेन थिएटरकै उत्पादन हुन् । जब ठूलो पर्दामा प्रवेश गरे, पछाडि फर्केर हेर्नुपरेको छैन, उनीहरूले । अभिनयबाटै राम्रो आम्दानी पनि गरिहेका छन् ।
थिएटर कलाकारमा देखिने अनुशासन फिल्मकर्मीका लागि लोभलाग्दो आकर्षण बनेको पाइन्छ । त्यसमाथि, मार्सल आर्ट, संगीत र नृत्य पनि सिकाइन्छ, थिएटरमा ।
नाटक सिक्दा छिट्टै ठूलो पर्दामा ‘डेब्यु’ गर्न पाइने सोच युवा पुस्तामा झल्किन्छ । तर, त्यो दिगो हुनेमा नाट्यकर्मीहरूमा शंका देखिन्छ ।
दर्शक बचाउने चुनौती
नाटकमै भविष्य खोजिरहेका युवा भने पछिल्लो छिमलका केही विद्यार्थीमा धैर्य देख्दैनन् । र, ‘टाइम पास’का लागि आइरहेझैं ठान्छन् ।
डेढ दशकको मिहिनेत हो, रंगमञ्चमा दर्शकको उपस्थिति । त्यही जोगाउन चुनौती देख्न थालेका छन्, प्राध्यापक सुवेदी । भन्छन्, ‘नाटक स्तरीय हुनुपर्छ । सन्तुलन भएन भने या सिनेमाजस्तो बन्यो भने दर्शक भड्किने डर छ ।’
यसको अर्को आयाम पनि छ । त्यो हो, अभिनय सिकिरहेका र यसमा जमेकाहरू अधिकांश उपत्यका बाहिरका बासिन्दा छन् । तिनैमध्ये पर्छन्, पुरु लम्साल । उनी नाटक ‘पानीघट्ट’ लिएर देशाटनमा छन् ।
उनको नाटकमा लमजुङका १८ जना कलाकार छन् । र, ती सबै नयाँ हुन्, यस क्षेत्रमा । भन्छन्, ‘युवा पुस्तालाई यस क्षेत्रमा टिकाइराख्न ठूलो चुनौती छ ।’ लम्सालले भनेजस्तै युवा पुस्तालाई टिकाउन नसकिए सिनेमामा जस्तै कलाकारहरू पलायन हुने जोखिम उत्तिकै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४