विराटनगर- सुनसरी दुहवीकी पवित्रा माझीले विराट मेडिकल कलेज टिचिङ हस्पिटल बुढीगंगामा ‘डाइटिसियन असिस्टेन’का रुपमा काम गरेको झण्डै एक महिना भयो।
कोरोनाको दोस्राे लहर सुरुभएको केही समयपछि विराट मेडिकल कलेजलेले ‘डाइटिसियन असिस्टेन’ राख्ने निर्णय गर्यो। पवित्राले सो पदका लागि आवेदन दिइन्। उनी छनौट पनि भइन्।
२५ वर्षीया पवित्राले ‘डाइटिसियन असिस्टेन’ का रुपमा काम गर्ने निर्णय गरे पनि मनमा भने डर कायमै थियो। संक्रमितको खानाको हेरचाह गर्नुपर्ने। के होला? कसो होला? उनलाई काम सुरु गर्नु पूर्व धेरै डर लागिरहेको थियो। तर, उनले हिम्मत हारिनन्। काम सुरु गरिन्। काम गर्दै गएपछि बिस्तारै उनको संक्रमित हेरचाह गर्ने बानी परिसकेको छ।
उनी भन्छिन, ‘नर्मल बिरामी र कोरोना संक्रमित मलाई त केही लागेन।’ दुवै खालले बिरामी आफ्नो नजरमा समान भएको उनी बताउँछिन्।
‘बिरामी निको भएर हात हल्लाउँदै घर जाँदा मेरा खुसीका आँसु बग्छन्।’
अस्पतालमा सुरक्षाको सबै उपाय अपनाएर बिरामीको सेवा गर्दा आफूलाई सन्तुष्टि मिलेको उनको भनाइ छ। उनले भनिन्, ‘बिरामी निको भएर हात हल्लाउँदै घर जाँदा मेरा खुसीका आँसु बग्छन्।’ सुरुवाती दिनमा घरबाट समेत संक्रमितको हेरचाहका लागि नगर भन्ने उनलाई दबाब आएको थियो।
काम नगर भन्ने उनका अभिभावक अहिले छोरीको आत्मविश्वासप्रति खुसी छन्। पवित्राले घरमा आफूले गरेको काम र बिरामीले दिने गरेको धन्यवाद सुनाउने गरेको बताइन्। बिरामीले भनेको कुरा ल्याइदिने, गफ गरिदिने गरेपछि बिरामीमा छुट्टै उत्साह आउने गरेको उनले सुनाइन्।
निशा चौधरी र पवित्राले सँगै विराट मेडिकल कलेजमा ‘डाइटिसियन असिस्टेन’ को काम सुरु गरेका हुन । संक्रमितको हेरचाहमा समय वितेको पत्तै नहुने गरेको उनले बताइन्। एउटा सिफ्टमा दुई जनाले संक्रमितले खाना खाए–नखाएको, के खान खोजेको त्यहीअनुसारको खानेकुरा उपलब्ध गराउँदै आएका छन्।
मोरङ रंगेलीका ५६ वर्षीय भक्तबहादुर सुब्बाले खाना खुवाइदिने, गफ गरिदिने नर्सको बानी एकदमै मन परेको बताए। डिस्चार्ज भएर घर फर्कन लाग्दा उनले भने, ‘हाम्रो हेरचाह राम्रो गर्नुभयो, तपाईंहरू पनि सुरक्षित रहनुहोला।’
‘डाइटिसियन असिस्टेन’ले विशेषगरी मधुमेह र उच्चरक्तचापका बिरामीको रेखदेख गर्दै आएका छन्। भोकै राख्न नहुने, एकै पटक धेरै खान नमिल्नेहरूलाई विशेषगरि हेर्ने गरिएको निशाले बताइन्। संक्रमित राखेको स्थानमा 'भिजिटर' जान नपाउने हुँदा संक्रमितलाई खाना खुवाइदिने, चुठाइदिने, मिठा-मिठा गफ गरिदिने गरिएको उनले सुनाइन्।
बिरामीहरूले गफ गर्न पाएपछि पनि धेरै ठिक भएको अनुभूति गर्ने गरेको उनले बताइन्। दाल पनि पिउन नसक्ने बिरामी ठिक भएर अस्पताल छाड्दा धेरै सन्तुष्टि मिल्ने गरेको चौधरी बताउँछिन्। उनले भनिन्, ‘सुरुवातका दिनमा जुन डर थियो, सबै हराएर गयो।’
मोरङ रंगेलीका ५६ वर्षीय भक्तबहादुर सुब्बाले विराट मेडिकल कलेजमा राम्रो सेवा पाएको बताए। उनले खाना खुवाइदिने, गफ गरिदिने नर्सको बानी एकदमै मन परेको बताए। डिस्चार्ज भएर घर फर्कन लाग्दा उनले भने, ‘हाम्रो हेरचाह राम्रो गर्नुभयो, तपाईंहरू पनि सुरक्षित रहनुहोला।’
किन राखियो ‘डाइटिसियन असिस्टेन?’
कोरोनाका दोश्रो लहर सुरु भएलगत्तै विराट मेडिकल कलेजले कोभिड अस्पताल सञ्चालनमा ल्यायो। पहिलो लहरका समयमा पनि कोभिड अस्पताल सुरु गरेको विराटले दोश्रो लहर सुरु भएलगत्तै अस्पताल सञ्चालनमा ल्यायो।
अस्पताल सञ्चालनपछि विरामीको गुनासा धेरै आए। हस्पिटलको क्यान्टिनको खाना ठिक भएन, भने अनुसारको खाना खान पाइएन, खाना खुवाइदिने मान्छे भएन जस्ता गुनासा आए।
त्यसपछि अस्पतालले ‘डाइटिसियन असिस्टेन’को माग गर्ने निर्णय गरेको म्याट्रन आयुश्मा शाक्यले बताइन्। अस्पतालले खोजेनुसारको जनशक्ति पाइएपछि काम सुरु गरिएको उनले बताइन्। अहिले संक्रमितबाट राम्रो प्रतिक्रिया आउने गरेको उनले सुनाइन्।
८–८ घण्टाको दुई सिफ्टमा रहने ‘डाइटिसियन असिस्टेन’हरूले मुख्यगरी मन परेको खाना खुवाउने र काउन्सिलिङको काम गर्ने गरेको शाक्यले बताइन्। उनले भनिन्, ‘संक्रमितलाई डाइटिसियनहरूले भनेअनुसारको खाना खुवाउने गरेका छौं।’ संक्रमितलाई रेखदेखका लागि ‘डाइटिसियन असिस्टेन’ राखेपछि अहिले विरामीबाट राम्रो प्रतिक्रिया आउने गरेको उनले बताइन्।