आइतबार, वैशाख २७, २०८३

कमेडीमा नेपालको विश्व कीर्तिमान

नेपालमा कमेडी क्षेत्रमा नयाँ पहिचानको शुरुवात गरेको ‘नेपग्याजम कमेडी’ समूहले कमेडीमा विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाएको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- नेपालमा कमेडी क्षेत्रमा नयाँ पहिचानको शुरुवात गरेको ‘नेपग्याजम कमेडी’ समूहले कमेडीमा विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाएको छ। 

National life

‘नेपग्याजम कमेडी’ समूहले २० वैशाख मे ३, २०२१ का दिन विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको कालापत्थरमा पुगेर स्ट्यान्डअप कमेडी प्रस्तुत गरेको थियो। सो समूहका दुई कलाकारले ५,६४३ मिटरको उचाइमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका हुन्। 

‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति लिएर नेपग्याजम मिडिया एण्ड प्रडक्सन प्रालिले कालापत्थरमा स्ट्यान्डअप कमेडी आयोजना गरेको प्रालिका निर्देशक सन्तोष देवकोटाले जानकारी दिए।
 
‘वर्ल्ड रेकर्ड कायम गरेको अफिसियल अनाउन्समेन्ट भएको छ, कोरोना महामारीका कारण प्रमाणपत्र पठाउन केही समय लाग्ने जानकारी आएको छ,’ निर्देशक देवकोटाले भने। 

सो क्रममा विश्व कीर्तिमान राख्नका लागि समूहका संस्थापक कमेडी कलाकार उमेशकुमार गौतम (यूकेजी) र लेखमणि त्रिताल (रमेश अंकलको छोरो) ले आफ्नो कमेडी कला प्रस्तुत गरेका थिए। 

कार्यक्रमका लागि उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामग्री समेटिएको तीस तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरेको नेपग्याजमका संस्थापक निर्देशक शरद श्रेष्ठले जानकारी दिए ।

यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर ५,२७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका थिए । नेपग्याजमको यो नयाँ रेकर्डसँगै पाउलोले कायम गरेको रेकर्ड तोडिएको छ । 

कार्यक्रमका लागि कोरोना महामारीका बीच आठ जनाको टोली कालापत्थर पुगेको नेपग्याजमले जनाएको छ। नेपालको कलाकौशल विश्वस्तरमा फैलाउनु नै आफ्नो समूहको चाहना भएको र यसले मनोबल थप बढाएको नेपग्याजमले भनेको छ। 

सो कार्यक्रमका लागि कलाकारसहितको नेपग्याजम समूहलाई सिम्रिक एयरको हेलिकप्टरले कालापत्थर लगेको थियो। जमिनको सर्वाधिक उचाईमा स्ट्याण्डअप कमेडी शो गरी विश्व किर्तिमान कायम गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।

प्रकाशित: May 26, 2021| 07:06 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्