शुक्रबार, वैशाख २१, २०८१

डायलसिसको चक्करमा ज्यान गुमाए आदर्शका बुबाले

समयमै मिर्गौलाको डायलसिस गराउन नपाउँदा कमेडियन आदर्श मिश्राका बुबा विनोद मिश्राको निधन भएको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं– समयमै मिर्गौलाको डायलसिस गराउन नपाउँदा कमेडियन आदर्श मिश्राका बुबा विनोद मिश्राको निधन भएको छ। मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उनको निधन भएको आदर्शका साथी सोनु जैसवालले जानकारी दिए। 

triton college

‘टिम जितपुर’मा आदर्शसँगै काम गरिरहेका सोनुले नारायणी अस्पतालको लापरवाहीका कारण यो दुःखद् अवस्था निम्तिएको बताए। ‘बुबालाई सोमबार राति नै वीरगन्जको नारायणी अस्पताल लगिएको थियो। त्यहाँ ४ घण्टा डायलसिस गराउनुपर्नेमा ३ घण्टामात्रै गरियो। त्यसपछि राम्रो अस्पताल लिएर जाने भन्दै आदर्शले एम्बुलेन्समा तत्काल बुबालाई भरतपुर अस्पताल लिएर गयो। तर आज दिउँसो उहाँ रहनुभएन भन्ने खबर आयो।’   

‘चार घण्टा पूरा डायलसिस गराएको भए बुबा बाँच्नुहुन्थ्यो भन्ने रिपोर्टमा देखिएको छ,’ आदर्शलाई उद्धृत गर्दै जैसवालले भने।

भरतपुर अस्पतालका डा. कमलेशकुमार साहले राति १२ बजे ल्याइएका बिरामीलाई १०५ डिग्री ज्वरो रहेको र डायलसिसका लागि आज मंगलबारको सेड्युल रहेको बताए। ‘बिहान पनि ज्वरो घटेन। भेन्टिलेटरमा लैजान खोज्दाखोज्दै मृत्यु भयो,’ उनले भने। 

यता नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले अस्पतालले डायलसिस गरेरै पठाएको बताए। 

corrent noodles
Metro Mart

आदर्शका बुबा चार वर्षदेखि मिर्गौलाका बिरामी थिए। तीन दिन अघिमात्रै नेपाल समयले आदर्शबारे स्टोरी लेखेको थियो, जहाँ आदर्शले आमा भारतीय मूलकी भएकै कारण बुबाको मिर्गौला प्रत्यारोपण नभएको गुनासो पोखेका थिए। 

विनोद स्थानीय नगौल निम्न माध्यमिक विद्यालयका प्रिन्सिपल थिए। दुई वर्षअघि आदर्श बुबासहित मिर्गाैला प्रत्यारोपणबारे बुझ्न काठमाडौं, महाराजगन्जस्थित टिचिङ अस्पताल पुगेका थिए। त्यतिबेला भारतमा रहेकी आदर्शकी मौसी अर्थात् विनोदकी जेठीसासू मिर्गौला दिन तयार भएकी थिइन्। 

तर, टिचिङ अस्पताल तयार भइदिएन। आदर्शका अनुसार उल्टै ‘तिमीहरू कहाँ बिहे गर्छौ, त्यो हामीलाई मतलब भएन। नेपालमै बिहे गरेको भए ‘ट्रान्सप्लान्ट’ हुन्थ्यो। इन्डियामा जोसुकै आफन्त भए पनि हामीलाई मतलब हुन्न’ भन्दै हप्काएर पठाइएको थियो। 

आदर्शले मंगलबार बिहान अस्पतालबाटै ट्विट गरेका थिए, ‘मेरो ममीको दिदी भारतीय भएकै कारण मेरो बुबाको ट्रान्सप्लान्ट हुन नदिने नेपाल सरकारविरुद्ध म मुद्दा लड्न चाहन्छु।’

याे पढ्न नछुटाउनुहाेला–  'अनि लाग्यो, यो देश मेरो होइन रहेछ'

बारा, जितपुरका आदर्श बुबालाई हप्ताको दुईपटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लिएर जान्थे। डायलसिस गराउने कोठा अस्पतालको तेस्रो तल्लामा हुँदा र अस्पतालले एउटा गतिलो ह्विलचेयरसम्म व्यवस्था गर्न नसक्दा बिरामीलाई निकै सकस भइरहेको थियो। जसबारे आदर्शले भिडियो कन्टेन्ट नै बनाएर युट्युबमा अपलोड गरेका थिए।

आदर्शले अस्पताल व्यवस्थापनसँग प्रश्न नै गरेका थिए, ‘एउटा ह्विलचेयर पनि किन व्यवस्थापन गर्न नसकेको हो?’ जवाफमा अस्पताल व्यवस्थापनले, ‘मसँग हाइ पिचमा कुरा नगर्नुस्, म यहाँको स्टाफ हुँ। यो अस्पताल मेरो बाउको हो, सरकारको पैसाले चलेको होइन,’ भन्दै गैरजिम्मेवार जवाफ दिएको आदर्शले भिडियोमा बताएका छन्। 

त्यसपछि टायर निस्किएको थोत्रे ह्विलचेयरमा राखेर बुबालाई तीन तलामाथि पुर्‍याउँदा आउने ‘स्याँस्याँ’ आवाजसहितको भिडियो युट्युबमा सार्वजनिक गरेर उनले अस्पतालको लापरबाहीलाई नंग्याएनन् मात्रै, टिम जितपुर र सानो पाइलाको सहयोगमा एउटा नयाँ ह्विलचेयर किनेर अस्पताललाई सहयोग पनि गरिदिए। 

आदर्शले केही दिनअघि हामीसँग भनेका थिए, ‘यो यस्तो देश हो जहाँ मेरो ममी भारतीय भएकै कारण बाबाको किड्नी ट्रान्सप्लान्ट भएन। तर केपी ओली प्रधानमन्त्री भएकै कारण दुई पटकसम्म ट्रान्सप्लान्ट भयो।’

उनको दावी थियो, केपी आली प्रधानमन्त्री नभएको भए सायद अहिलेसम्म उनी बाँचिरहेका हुन्थेनन्। ‘एउटा आमनेपालीले दुइचोटि मिर्गौला फेर्न सक्दैन। त्यति पैसा हुँदैन, स्रोत हुँदैन। अनि, कुन बोटमा फलिरहेका छन् ती मिर्गौलाहरू जुन हामीले पाइरहेका छैनौं, तर केपी ओलीले त्यति सजिलै पाइरहेका छन्।’

तीन दिन अघिमात्रै नेपाल समयसँगको कुराकानीमा आदर्शले भनेका थिए, ‘यो देशमा मिर्गौलाका बिरामीलाई बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ।’ र, आज डायलसिस गराउन अस्पतालको चक्कर लाउँदा–लाउँदै उनले आफ्नो बुबालाई गुमाए।   
 

प्रकाशित: May 25, 2021| 08:11 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्