यो तस्बिर सन् १९९५ तिरको हो। ‘पेप्सीकोला हिरक साँझ’को घटना मेरो मानसपटलमा फेरि ताजा भएर आयो। तस्बिरमा त्यतिबेलाका सम्माननीय प्रधामन्त्री मनमोहन अधिकारीज्यू, विश्व सुन्दरी ऐश्वर्य राय, पेप्सीकोलाकी ब्राण्ड एम्बेसडर र म (प्रथम नेपाल सुन्दरी) छौं।
यो तस्बिरका लागि भाइ चित्रकारलाई म धेरै धन्यवाद दिन चाहन्छु। उहाँले फेसबुकमा राख्नुभएको थियो र मैले सेभ गरेर आफ्नो मनमा लागेको कुरा सेयर गर्दैछु। अन्यथा नलिनुहोला।
त्यही दिन म अनि विश्व सुन्दरी ऐश्वर्य रायको बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी शाहसँग दरबारमा दर्शन भेटको कार्यक्रम तय भएको थियो।
एकदमै उत्साहित थिएँ, रानीसँग भेट्न र कुराकानी गर्न। तर, मेरो त्यो उत्साह धेरै समयसम्म टिक्न पाएन। एक्कासि मलाई आयोजकबाट ‘तिमी जानु पर्दैन, रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्र्याउने रे’ भन्ने खबरले मेरो मन खिन्न बनायो।
म असमञ्जसमा परेँ। सोधेँ– ‘किन ?’ ‘खै, थाहा भएन।’
जवाफले झन् दुःखी बनायो। किन होला मैले मेरै देशको रानीलाई भेट्न नपाउने? मनमनै खिन्न भावनाले मलाई खाँदै थियो।
वीरगन्ज छपकैया गाउँका बासिन्दा क्याप्टेन जनकजंग बहादुर राणा र कमला देवी राणाको पक्कै पनि ‘प्रिन्सेस’ थिएँ म र, नेपालको पहिलो मिस नेपाल। किन दर्शन दिन खोजिबक्सिएन? रहस्य नै रहने भो मनमा। अथवा, राणाकी छोरी हो भनेर तर्सिबक्सेको हो पो कि!
मलाई जसरी पनि रानीको दर्शन गर्नु थियो। ‘उकाली ओरालीहरुमा’ गीतकी चाँदनीको उज्यालो मुहारलाई नजिकबाट नियाल्नु थियो। रानीको भुक्क फुलेको देवीको जस्तै केश सज्जा हेर्ने धोको थियो। काँधमा सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो। कमल कोपिलाजस्तो हातमा काँचका चुराहरु खन्केको आवाज सुन्नु थियो। जति मैले मेरो रानीलाई चिनेको थिएँ, विश्व सुन्दरीले के चिनेकी थिइन् होला र!
मलाई किन भेट नदिइबक्सेको होला! हो, पाहुना इश्वर हुन्, मान्दछु तर, म? मलाई स्वय् म अपहेलित भएजस्तो महसुस भयो। माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरेजस्तो हीन भावनाले मलाई मेरो ताजको महत्व र चमक पनि धमिलो लाग्न थाल्यो।
मनमा अनेकौं प्रश्नले जालो बुन्दै जाँदा आँखाबाट आँसुका धाराले रानीप्रतिको मायालाई पखाल्दै गयो। मनलाई कठोर बनाएर मैले रानीलाई भेट्ने सपना त्यागेँ। हुन सक्छ, यो मेरो मनको बह मात्र हो। यही दृढ़ संकल्पका साथ म आफैँ खुशी रहेँ। सोचें– म आफ्नै मनको रानी बन्न सक्छु। मनको रानी, धनको रानी हैन!
हो, त्यो यही दिनको तस्बिर हो। जतिबेला ऐश्वर्य रायले बडामहारानीलाई भेटेर आएपछि हामी बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीज्यूलाई भेट्न गएका थियौँ– कालो चिल्लो मर्सिडिज कारमा विश्व सुन्दरी र नेपाल सुन्दरी चढेर।
मलाई सम्झना छ, विश्व सुन्दरी राय अंग्रेजीमा बडामहारानीको खुबै बयान गर्दै थिइन् र म सुनिरहेकी थिएँ केही नबोली। मेरो मनको पीडा र डाहले मन पोल्दै थियोे, तैपनि मैले एक शब्द बोलिनँ, कुनै प्रतिक्रिया जनाइनँ। ‘आर यू ओके?’ भनेर पनि सोधिन् विश्व सुन्दरीले। मैले मुन्टो मात्र हलाएर जवाफ दिएँ।
तर, जब मैले प्रधानमन्त्री र उहाँको श्रीमतीलाई भेटेँ, मेरो मुड एक्कासी परिवर्तन भयो। अति सरल र मिजासिलो उहाँकी श्रीमतीले गरेको आदरसत्कार र कुराकानीले मलाई अति नै प्रफुल्लित बनायो। अभिभावकजस्तो व्यवहारले मैले आफूलाई छोरीजस्तो अनुभव गरेँ। उहाँले भन्नुभयो, ‘हामी देशबासीहरु एकदमै खुशी छौं तिमीलाई नेपाल सुन्दरी देख्न पाउँदा। नेपालको यो प्रथम प्रयास हो। निरन्तरता जारी रहोस्।’
पछाडिबाट मधुरो स्वरमा ‘हाम्री नेपाल सुन्दरी पनि निक्कै अग्ली रहिछन्’ भनेर प्रधानमन्त्रीज्यूको श्रीमतीले भन्नुहँदा सबै मजाले हाँसेका थियौँ। सम्झनाका कुराहरु जुन मैले व्यक्त गरेँ, यो एउटा मनमा बिझेको काँडाजस्तो थियो, जुन आज निकालेर हजुरहरुसमक्ष पेश गरेको छु। र पनि मेरो मनको रानीले बडामहारानी ऐश्वर्यलाई सधैं खोजिरह्यो। भाग्यमा भेट्नै लेखेको थिएन होला र पो भेट भएन। यस्तै भनेर मेरो मनको रानीले मलाई बेलाबेला सम्झाइरहन्छे।
(रुवीले फेसबुकमा राखेको अनुभूतिको सम्पादित स्वरुप)