इटहरी- ०५९ सालमै चर्चामा आएको हो, धरान-विष्णुपादुका-बराहक्षेत्र केबलकार परियोजना । धरानका तत्कालीन मेयर मनोजकुमार मेयाङ्बोकै कार्यकालमा चिनियाँ कम्पनीसँगको सहकार्यमा उक्त परियोजना निर्माण हुने चर्चा त्यतिबेला थियो ।
चीनको सीएमआईसी कम्पनीले १७ किलोमिटर लामो केबलकार निर्माणको प्रारम्भिक अध्ययनसमेत गरेको थियो । चिनियाँ कम्पनीले ८० प्रतिशत र धरान नगरपालिको २० प्रतिशत लगानी रहने योजना थियो ।
त्यतिबेलै सवा अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, अझै निर्माणको अत्तोपत्तो छैन । परियोजनाको डीपीआर पनि निर्माण भएको छैन ।
मनकामनापछि दोस्रो केबलकार निर्माणको योजना थियो । तर, काठमाडौं चन्द्रागिरि केबलकारले उछिनिसकेको छ । मेयाङ्बोको कार्यकाल सकिएसँगै उक्त परियोजना पनि चर्चाबाहिर धकेलियो ।
पूर्वमेयर मेन्याङ्बो भने माओवादीको सशस्त्र विद्रोह नभएको र आफूले दोस्रो कार्यकाल काम गर्न पाएको भए केबलकार सञ्चालनमा आइसक्ने दाबी गर्छन् ।
नगरपालिका र हङकङका नेपालीसँगको सहकार्यमा घण्टाघर निर्माण गर्न भने त्यतिबेला सफलता पाएको उनको भनाइ छ । उनी भन्छन्, ‘स्थानीय सरकार र निजी कम्पनी वा सार्वजनिक निजी साझेदारी या पब्लिक लिमिटेड बनाएर भए पनि केबलकार बन्थ्यो ।’
साझा लगानीको प्रस्ताव
उक्त परियोजना सुनसरीका सहकारी संस्थाहरूले नै बनाउन सक्ने सार्वजनिक, निजी, सहकारी अर्थतन्त्रका पक्षधर मुरारी सुवेदीले प्रस्ताव राखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी सुनसरीका प्रभावशाली नेता सुवेदीले अबको अर्थतन्त्र उत्पादनमुखी बनाउन सहकारीको छरिएको पुँजीलाई उत्पादनमा लगाउन केबलकार एक राम्रो विकल्प हुने औंल्याए ।
‘सहकारीहरूमा पैसा व्याजमा लगाउने र व्याजमा लिने मात्रै काम बढी भएको छ तर यसबाट सामूहिक कुनै मेगा प्रोजेक्ट बनाउने कसरत भएको छैन,’ सुवेदी भन्छन्, ‘३/४ अर्बको केबलकार परियोजना बनाउन सहकारीले सामूहिक लगानी गर्न सक्छन् ।’
१६ वर्षअघि एक अर्ब लाग्ने परियोजनाको लागत अहिले करिब तीन अर्ब हुन सक्ने त्यस क्षेत्रका जानकार गुणराज ढकालको भनाइ छ ।
सुनसरीमा पाँच सयभन्दा बढी सहकारी छन् । तीमध्ये १० करोडभन्दा बढीको कारोबार गर्ने दर्जनौं छन् ।
प्राकृतिक र पर्यटकीयभन्दा धार्मिक केन्द्रहरूकै केबलकारमा नेपाली र भारतीय पर्यटकले भरिभराउ हुने भएकाले राम्रो आम्दानी हुन सक्ने सुवेदी बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४