विराटनगर- विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरले नेपालमा पनि संक्रमितको संख्यासँगै मृत्युदर पनि बढेको छ।
प्रदेश १ मा गत चैत १ गतेदेखि वैशाख ३१ गतेसम्मको अवधिमा १५८ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २ महिनाको अवधिमा १५८ जनाको मृत्यु हुनु कोरोनाको पहिलो लहरको तुलनामा धेरै भएको स्वास्थ्यकर्मी बताउँछन्। पहिलो लहरको झण्डै एक वर्षमा ४६६ जनाको मृत्यु भएको थियो।
प्रदेश १ मा पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुनेको उमेर समूह फेरिएको छ। पहिलो लहरमा धेरैजसो ६० वर्ष उमेरमाथिका व्यक्तिको मृत्यु भएको थियो। स्वास्थ्यकर्मीहरु अहिले मृतकको उमेर समूह फेरिएको बताउँछन्।
प्रदेश १ मा ३१ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिको बढी मृत्यु भएको छ। यो समूहका ८९ जनाका मृत्यु भएको छ भने संक्रमित पनि ३१–६० उमेर समूहका धेरै छन्।
(२०७७ चैत १ देखि २०८७ वैशाख ३१ गते सम्म)
उमेर समूह | संक्रमितको संख्या | मृत्यु संख्या |
०–१० | ३४० | ० |
११–२० | १००८ | ३ |
२१–३० | ३०४० | ७ |
३१–४० | २८६३ | १८ |
४१–५० | २०९८ | ३० |
५१–६० | १६४५ | ४१ |
६१–७० | ७९१ | २९ |
७१ देखि माथि | ४७२ | ३० |
जम्मा | १२,२५७ | १५८ |
स्रोत : सामाजिक विकास मन्त्रालय
जेष्ठ नागरिकलाई खोपको प्रभाव
कोरोनाको दोस्रो लहरमा जेष्ठ नागरिक कम संक्रमित हुनुमा खोपले काम गरेको जनस्वास्थ्यकर्मीको विश्वास छ। सरकारले जेष्ठ नागरिकलाई लक्षित गरि खोपको व्यवस्था गरेको थियो। जेष्ठ नागरिकहरुले खोपको दुवै मात्रा लगाएकाले संक्रमण कम भएको वरिष्ठ जनस्वास्थ्यविद् डा. नवराज सुब्बाको दाबी छ।
उनले भने, ‘पहिलो लहरले जेष्ठ नागरिकलाई संरक्षण गर्नुपर्ने देखिएकाले सबैले जेष्ठ नागरिकलाई बढी हेरचाह गरे।’ ३१ वर्षदेखि माथिको सक्रिय उमेर समूहका बढी व्यक्ति संक्रमित हुनुमा काममा निस्कनु पर्ने वाध्यताका कारण भएको डा. सुब्बाको भनाइ छ। ‘परिवार चलाउनु पर्ने उमेर समूहका व्यक्तिहरुले खोप पनि पाएनन् र बाहिर पनि उनीहरु निस्कनु पर्ने भएका कारण प्रभावित हुन पुगे।’ उनले भने। खोपलाई प्राथमिकता दिन उनको आग्रह छ।
जनस्वास्थ्यको मापदण्ड पालना नै भएन
कोरोनाबाट बच्नका लागि सरकारले जारी गरेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नुको विकल्प नभएको जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठ बताउँछन्। पहिले चरणको तुलनामा दोस्रो चरणमा जनस्वास्थ्यको मापदण्ड पालना नै नभएको उनले बताए।
श्रेष्ठले भने, ‘पहिलो लहरको अन्त्यतिर मानिसले मास्क नै लगाउन छाडिसकेका थिए।’ सरकारले जेजे नगर्नु भनेको छ, मानिसहरु त्यही गर्दै हिँड्ने गरे।' जनस्वास्थ्यको मापदण्ड पालना गगर्ने परिपाटी हेर्दा सरकारले ३ करोड आइसोलेसन, भेन्टिलेटरसहितका बेड बनाउनुपर्ने देखिएको उनले बताए। उनले भने, ‘उपचारात्मक विधि अपनाउने भए, ३ करोड बेड आवश्यक छ।’
मृत्युदर जेष्ठ नागरिकको बढी
संख्यात्मक रुपमा सक्रिय उमेर समूहका व्यक्तिहरुको कोरोना संक्रमणबाट मृत्यु भए पनि मृत्युदर चाँहि जेष्ठ नागरिकको बढी छ। दुई महिनाको अवधिमा ७० वर्षमाथि उमेर समूहका व्यक्तिहरु ४७२ जना संक्रमित भएका छन्। संक्रमित भएकामध्ये ३० जनाको मृत्यु भएको छ।
यो समूहको समग्र मृत्युदर ६.३५ प्रतिशत छ। ६१ देखि ७० उमेर समूहको ३.७९, ५१ देखि ६० वर्ष उमेर समूहको २.४९, ४१ देखि ५० वर्ष उमेर समूहका १.४३ प्रतिशत, ३१ देखि ४० वर्ष उमेर समूहका ०.६२, २१ देखि ३० वर्ष उमेर समूहका ०.२३ प्रतिशत। ११ देखि २० वर्ष उमेर समूहका ०.२९ प्रतिशत मृत्युदर रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।