सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखराकाे सुन्दरता नै अन्तर्राष्ट्रिय विमानस्थलको बाधक

पोखराकाे सुन्दरता नै अन्तर्राष्ट्रिय विमानस्थलको बाधक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ जेठमा विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थलबारे विज्ञ टोलीको प्रतिवेदनको अपव्याख्या गरिएको बतायो । विज्ञ टोलीको प्रतिवेदनमा उक्त विमानस्थल ठूला विमानका लागि अयोग्य रहेको भन्ने समाचार आएपछि खण्डन गरेको थियो, मन्त्रालयले । 

मन्त्रालयको विज्ञप्ति आउनुको भित्री कारण भने पोखराका बासिन्दा र संघसंस्थाहरू समाचार आएलगत्तै विज्ञ टोलीमाथि खनिनु थियो । समाचार प्रकाशित भएलगत्तै भेला, विज्ञप्ति र सामाजिक सञ्जालमार्फत् पोखरावासी खनिएका थिए । उनीहरूलाई मत्थर पार्न विज्ञप्ति नै निकाल्नुपर्ने दबाबमा पर्‍यो, मन्त्रालय । 

यसबाटै स्पष्ट हुन्छ, पोखरा विमानस्थल स्थानीय 'सेन्टिमेन्ट'सँग जोडिएको छ । पोखरा र त्यस क्षेत्रका बासिन्दाका लागि त्यहाँ क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल वर्षौंदेखिको एक सपना हो । त्यसमा बाधा आउने सम्भावना देखिँदा उनीहरूको आक्रोस पोखिनु स्वाभाविकै हो । 

२५ जेठमा पोखरा उद्योग वाणिज्य संघले प्रदेश-४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बुझाएको ज्ञापन पत्रबाट पनि स्थानीय बासिन्दाको आक्रोस प्रकट हुन्छ । 'निर्माणाधीन विमानस्थलबारे आएको टिप्पणी केन्द्रिकृत एवं असन्तुलित मगजको सोच भएको हाम्रो ठम्याइ छ,' ज्ञापन पत्रमा उल्लेख छ, 'सम्पूर्ण प्रदेश-४ का जनताको भावनामाथि चिसो पानी खन्याउने यो प्रतिवेदनको जति भत्र्सना गरे पनि कम हुन्छ ।'

तर, यसको प्राविधिक पक्षलाई पनि पोखराका बासिन्दाले ध्यान पुर्‍याउनु आवश्यक रहेको विज्ञहरू बताउँछन् । केही यस्ता प्राविधिक पक्ष छन्, जसका कारण उक्त विमानस्थलको सञ्चालन असम्भव देखिँदै आएको छ ।

यी हुन् प्राविधिक कारण

जानकारहरूका अनुसार त्यहाँ अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने कुरामा पाइलटहरू सहमत छैनन् । पोखरा काठमाडौंभन्दा साँघुरो अवस्थितिमा रहेकाले ठूला विमानका लागि अनुपयुक्त हुने उनीहरूको तर्क छ । 

हाल सञ्चालनमा रहेको पोखरा विमानस्थल पूर्व-दक्षिण तन्केको छ । निर्माणाधीन विमानस्थल पूर्व-पश्चिमजस्तो रहन्छ । पूर्वबाट आएर अवतरण गर्नुपर्छ । केहीगरी अवतरण गर्न नसके 'ओभरसुट'का लागि अगाडिका डाँडाहरूले बाधा पुर्‍याउँछन् । 

'पोखरा कचौराजस्तै छ, ठूला विमानको आवाजले यो बस्नै नसक्ने शहर बन्नेछ,' पोखराकै लेखक महेश भण्डारी भन्छन्, 'निर्माणाधीन विमानस्थल पोखरा-लेखनाथ महानगरपालिकाको ठ्याक्कै बीच भागमा पर्छ । र, एयर ट्राफिक भयो भने पूरै शहरलाई डिस्टर्ब गर्नेछ ।'

एक पाइलटका अनुसार तत्काल 'ओभरसुट' गर्नु परे गति र दूरी व्यवस्थापन गर्न गाह्रो हुन्छ । 'किनभने नजिकै अग्ला डाडा छन् । ठूला विमानलाई घुमाउन र अवतरण गर्न मिल्दैन,' ती पाइलट भन्छन् । 

काठमाडौंमै त्यसरी ओभरसुट गर्दा दुई नटिकल माइलभन्दा पर जान मिल्दैन । त्यसभन्दा टाढा पुगे डाँडामा ठोक्किने जोखिम हुन्छ । दुई नटिकल माइल भनेको सीधा हावामा तीन दशमलव दुई किलोमिटर हो । ठूला विमानहरूका लागि त्यति दूरी नाघ्न २/३ सेकेन्ड मात्र लाग्छ । 

ती पाइलटका अनुसार दुई नटिकल माइल पुग्दा नपुग्दै पोखरामा विमानका पखेटाले पहाडमा छोइसक्छन् । 'निर्माणाधीन विमानस्थल र डाँडाको दूरी दुई नटिकल माइलभन्दा कम छ,' ती पाइलट भन्छन्, 'मौसम बिग्रियो भने घुमाउने ठाउँ छैन ।' 

गत २८ फागुनमा यूएस-बांग्ला एयरलाइन्सको बम्बार्डियर क्यू-४०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्‍यो । जबकि, उक्त जहाजलाई काठमाडौंको आकाशमै सुरक्षित 'होल्ड' गराउन सकिने प्रशस्त सम्भावना थियो । 

पोखरामा भएको भए ? जानकारहरूका अनुसार थोरै सावधानी अपनाएको भए काठमाडौंमा उक्त जहाजलाई बचाउन सकिने थियो । पोखरामा त त्यो सम्भव नै थिएन । 

एयरबस-३१० विमानहरू पोखरामा उडान र अवतरण गर्नै नसक्ने जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार हाल नेपाल वायु सेवा निगमसँग रहेका एयरबस-१२० जस्ता जहाजका लागि भने केही हदसम्म सहज हुन सक्छ । 

पोखरानजिकको लुम्ले नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । उक्त स्थानलाई 'नेपालको चेरापुञ्जी' संज्ञा नै दिइने गरेको छ । पाइलटहरूका अनुसार पोखरामा मौसम सफा रहेको जानकारी पाएर काठमाडौंबाट उडेका जहाजहरूले आधा घण्टाको दूरीमा खराब अवस्था बेहोर्नुपर्छ । 

पोखरामा भीओआर र डीएमई मात्र उपयुक्त हुन्छन् । ती दुई सिस्टमले मात्र ठूला जहाजलाई पुग्दैन । पोखरा हुँदै भैरहवासम्म जर्मनीको जिप्सम कम्पनीले उडान रुट कोरिदिएको छ, जसलाई आइकाओले पनि स्वीकृति दिएको छ । 
 

विमानस्थल सञ्चालनमा देखिएका प्राविधिक जटिलतालाई पोखराका बासिन्दाले ध्यान दिनु आवश्यक रहेको जानकारहरूको सुझाव 


बन्ला त काठमाडौंको विकल्प ?

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु भनेको काठमाडौंका लागि विकल्प तयार हुनु हो । काठमाडौंमा मौसम खराब हुँदा या प्राविधिक समस्या आउँदा ठूला विमान पोखरामा अवतरण गराउन सकिँदैन । 

अर्का पाइलटका अनुसार निजगढ र भैरहवा विमानस्थल मात्र काठमाडौंका लागि विकल्प बन्न सक्छन् । ती दुवै स्थानमा पहाडले छेक्ने जोखिम छैन । 

लामो समय नेपाली आकाशमा हेलिकोप्टर, साना जहाज र ठूला विमान उडाएका क्याप्टेन स्वर्गीय रतनबहादुर लामिछानेले आफ्नो पुस्तक 'आकाशको दुनियाँ'मा लेखेका छन्, 'काठमाडौंभन्दा साँघुरो पोखरा उपत्यकामा ठूला विमानको उडान/अवतरणको जोखिम उठाउनु भनेको मुर्खताबाहेक केही हुँदैन । नागरिक उड्डयनसँग मान्छेको ज्यान जोडिएको छ । त्यसैले विमान र विमानस्थलहरू ठट्टा गर्ने विषय होइनन् ।' 

पोखरा समुद्री सतहबाट दुई हजार फिटमा पर्छ । नजिकै तीन हजारदेखि पाँच हजार फिटका डाँडा छन् । 

ठूला विमानका लागि राम्रो मौसममै उडान र अवतरण गाह्रो हुने स्वर्गीय लामिछानेले उल्लेख गरेका छन् । पुगेर ठिक्क अवतरण मात्र गर्न ठूला विमानलाई उक्त विमानस्थल उपयुक्त हुने उनको ठम्याइ छ । विमानलाई आपतकालीन अवस्थाका लागि ठाउँ छ कि छैन भनेर अध्ययन नगरी विमानस्थल बनाउनु जोखिमपूर्ण हुने उनले सुझाएका छन् । 

राजनीतिक दलका नेताहरूले भोट बैंकको रूपमा पोखरा विमानस्थललाई अगाडि सार्नुको परिणाम त्यसले 'सेन्टिमेन्टल' रूप लिएको जानकारहरू बताउँछन् । 

यसरी भएको थियो उठान

२०३० सालतिर एक विदेशी संस्थाले पर्यटन प्रबद्र्धनका लागि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको औंल्याएको थियो । तत्कालीन गण्डकी अञ्चलाधीश शंकरराज पाठकले बस्ती उठाएर जग्गा अधिग्रहण गराउन पहल गरे । 

लामो समय यो विषय माग र छलफलमै सीमित बन्यो । स्थानीय बासिन्दाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि माग गरिरहे । त्यसमा पनि लेकसाइडका होटेल, रेस्टुराँ र पर्यटन व्यवसायीको सपनामा सधैं रह्यो, अन्तर्राष्ट्रिय विमानस्थल ।

यो विषयलाई उठाउने नेताहरूमा वर्तमान पर्यटन मन्त्री रविन्द्र अधिकारी सधैं अग्रपंक्तिमा थिए । उनकै लयमा लय मिलाउँदै सबै पार्टीका नेताहरूले यस विषयलाई स्थानीयस्तरमा लोकप्रियता आर्जन गर्ने 'टुल्स' बनाइरहे । 

एकै पटक ०६५ सालमा आएर मात्र यो कार्यान्वयनको पाटोमा गयो । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएपछि महत्व पायो, यस विषयले । उनको जन्मथलो कास्कीको ढिकुरपोखरी हो । र, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग उनी पनि 'सेन्टिमेन्टल' रूपमै गाँसिए । 

धेरैपछि प्रधानमन्त्री बनेका तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले पनि प्रचण्डको पहलमा साथ दिए । ०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका केपी ओलीले विमानस्थलको शिलान्यास नै गरे । र, प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्व कालमा विमानस्थल निर्माणले गति पायो । 

आउलान् त सीधा पर्यटक ?

पोखरामा बढी संख्यामा आउने भारतीय पर्यटक हुन् । पछिल्लो समयमा चिनियाँ पर्यटकको संख्यामा पनि उल्लेख्य बढोत्तरी भएको छ । भारतका निजी विमान कम्पनीहरूका लागि पोखरा एक उत्कृष्ट गन्तव्य बन्न सक्छ । 

तर, त्यसमा अर्को पाटो पनि जोडिएको छ, भारतीय पर्यटकको पहिलो रोजाइ काठमाडौंस्थित पशुपतिनाथ मन्दिर हो । भारतीय पर्यटकका लागि अर्को गन्तव्य बनेको छ, मुस्ताङस्थित मुक्तिनाथ धाम । त्यहाँ पुग्न पोखराको ट्रान्जिट एक मात्र विकल्प हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २८-२९ वैशाखको पछिल्लो नेपाल भ्रमणका क्रममा मुक्तिनाथ पुगेर आफ्ना नागरिकमाझ उक्त धार्मिक स्थलको महत्व बढाइदिएका छन् । मोदी भ्रमणलगत्तै मुक्तिनाथ दर्शनमा आउने भारतीय पर्यटक बढेका छन् । यस कोणबाट हेर्दा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने हो भने ठूलो संख्याका भारतीय पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना छ । 

चिनियाँ पर्यटकको पहिलो रोजाइ भने पोखरा नभई लुम्बिनी हो । उनीहरू पोखरामा भन्दा बढी काठमाडौंमै रमाउँछन् । 

अन्नपूर्ण फेरो मार्न आउने युरोपेली पर्यटकका लागि भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त देखिँदैन । किनभने, युरोपबाट सीधा उडान गराउन वाइडबडी विमानबाट मात्र सम्भव छ, जुन पोखरामा उडान र अवतरण हुन सक्दैनन् । 

भुटानी पर्यटकको पनि पहिलो रोजाइ पोखरा होइन । लुम्बिनी, काठमाडौं र खोटाङको हलेसी दर्शनका लागि भुटानी पर्यटक आउने गरेका छन् । र, श्रीलंकाली पर्यटक पनि लुम्बिनी नै पुग्न आतुर देखिने गरेका छन् । 

'त्यसैले पोखरामा अहिलेको भन्दा ठूलो विमानस्थल बनाउनु भनेको फजुल खर्च मात्र हो,' क्याप्टेन स्वर्गीय लामिछानेले आफ्नो पुस्तकमा लेखेका छन् । 

भारतीय पर्यटक नै ओसार्दा पनि आउँदा र जाँदा पर्याप्त यात्री हुने ग्यारेन्टी छैन । नेपाल आइपुगेका भारतीय नागरिकहरू एक पटक पशुपतिनाथको दर्शन नगरी फर्किने कमै हुन्छन् । फेरि, काठमाडौं आएका यात्री पोखरा पुगेर नयाँदिल्ली, मुम्बईलगायत गन्तव्यमा उड्ने सम्भावना कमै रहन्छ । किनभने, पैसा खर्च गर्न सक्ने भारतीय नागरिकहरूले मात्र पोखरालाई गन्तव्य बनाउने गरेका छन् । 

उदाहरण हुन सक्छ हङकङ

हङकङको 'काई टाक' अन्तर्राष्ट्रिय विमानस्थल सन् १९२५ देखि अपरेसनमा थियो । संसारको अति व्यस्त विमानस्थलमध्येमा पथ्र्यो त्यो । गगनचुम्बी भवनहरू छल्दै उडान र अवतरण गराउनुपथ्र्यो ।

राति मौसम बिग्रिँदा या हावा चल्दा विमानहरू सीधै भवनमा ठक्कर खान्थे । उक्त विमानस्थलमा उडान/अवतरण गर्दा धेरै विमान दुर्घटनामा परे । 

एकतर्फी अप्रोच, हावा चल्ने र उपकरणको सहायताबाट हुने अवतरण (आईएलएस)ले पनि काम नगर्ने । 

केही समय ठूला-ठूला भवनको टुप्पोमा बिजुली जडान गरेर काम चलाइयो । तिनै संकेत चिन्ह हेर्दै पाइलटहरूले विमान अवतरण गराउँथे । आँखा झिमिक्क नगरी अवतरण गर्नुपथ्र्यो । ती संकेत बत्तीहरू नबलेको अवस्थामा आकाशमै घुमिरहनुको विकल्प थिएन । र, एकदमै खर्चिलो बनेको थियो अवतरण ।

अन्ततः सरकारले ३० किलोमिटर पश्चिमतर्फ 'चेक लाप कोक' विमानस्थल निर्माण गर्ने निर्णय लियो । र, सन् १९९८ देखि 'काई टाक' विमानस्थल सधैंका लागि बन्द भयो । 

पोखराका लेखक भण्डारीका अनुसार हङकङले शहरबाट टाढा विमानस्थल बनाएको छ, न्युजिल्यान्डमा बस्तीभन्दा धेरै टाढा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको छ। काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल नजिकका बस्तीभन्दा उचाइमा छ । पोखराको निर्माणाधीन विमानस्थल भने बस्तीभन्दा होचो ठाउँमा पर्छ । 

दुबईको विमानस्थलबाट पनि समुद्रपट्टिबाट मात्र उडान र अवतरण हुन्छ । पोखरा महानगरको मध्यभागमा विमानस्थल बनाइँदा ध्वनी र वायु प्रदुषण चर्को हुने र त्यसको असर नजिकका हिमालसम्म पर्ने भण्डारी बताउँछन् । 

निष्कर्ष निकाल्न सकिन्छ, निर्माणको चरणमै प्रवेश गरिसकेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थलमा जोडिएको स्थानीय बासिन्दाको 'सेन्टिमेन्ट'लाई पनि नजरअन्दाज गर्न सकिँदैन । तर, अहिले नै त्यसका लागि सुरक्षाका मानकहरू तयार नपारिए सम्भावित जोखिम न्यूनीकरण हुन नसक्ने भने निश्चित छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।