काठमाडौं- मानिसको जीवनमा मरण सत्य हो। तर, त्यसलाई मान्छेले सहजै स्वीकार्दैनन्। धेरैलाई जीवन दिएका डा. उपेन्द्र देवकोटाले मरण शाश्वत सत्य भएको नजिकबाट नियालेका छन् । र, धेरैलाई मृत्युको मुखबाट थुतेर ल्याएका छन् ।
तिनै जीवनदायिनी व्यक्तित्व यतिबेला जीवन र मरणको संघर्षमा छन्। सबै नेपालीलाई लागेको छ, यो समाचार असत्य होस्। तैपनि, मानिसहरू भनिरहेका छन्, जगत सत्य जीवन मिथ्या।
आफ्नै पहलमा स्थापना भएको बाँसबारीस्थित न्युरो अस्पताल डा. देवकोटा जिन्दगीका कष्टपूर्ण दिन बिताइरहेका छन् । सहकर्मी चिकित्सकहरूले उनलाई यो धर्तीमा रहने अवधि कम रहेको बताइरहँदा उनी त्यसलाई ठाडै चुनौती दिइरहेका छन् ।
उनले शुक्रबार परिवारसँग भेट्ने इच्छा व्यक्त गरे, चिकित्सकहरूसँग । त्यसलगत्तै उनलाई भेन्टिलेटरबाट निकालियो। र, परिवारका सदस्यहरूसँग बातचित गर्न दिइयो ।
परिवारका सदस्यहरूले डा. देवकोटालाई उनको इच्छाबारे सोधे। देवकोटाले आफ्नो जन्मभूमि सम्झिए । र, भने, 'मलाई मेरो घर लानु र सिस्नेपानीको पानी पिउन दिनु ।'
उनको इच्छा पुर्याइदियो, परिवारले । शनिबार दिउँसो साढे दुई बजे उनलाई हेलिकोप्टरमा राखेर जन्मघर पालुङटार पुर्याइयो । र, उनको इच्छाअनुसार उनले बाल्यकाल बिताएको घरको पँधेरो सिस्नेपानीको जल दिइयो ।
डा. देवकोटाका एक सहयोगीका अनुसार उनी आफ्नै घरको पेटीमा संसार त्याग्न चाहन्छन् । सिस्नेपानीको जरुवासँग डा. देवकोटाको 'नोस्टाल्जिया' मात्र जोडिएको छैन, उनको बाल्यकाल र प्रख्यात चिकित्सक बनेर जीवनदायिनी भूमिका निर्वाह गर्ने आत्मबल पनि जोडिएको छ ।
'भाइको स्वास्थ्य अहिले अस्थिर छ,' उनका दाजु वाचस्पति देवकोटा भन्छन् । उनका अनुसार सिस्नेपानीको कुवा देवकोटा परिवारले प्रयोग गर्ने जरुवा हो । घरमा पानी ल्याउने मात्र नभई नुहाउन र लुगा धुन जाने कुवा पनि त्यही हो ।
करिब २० घरको पँधेरो हो त्यो । बाहन बसालेर लुगा उमाली धुने चलन थियो, एक समयमा । पँधेरोको छेउमा त्यसरी नै बाहन बसालेर लुगा धुने चलन थियो, देवकोटा गाउँमा पनि ।
धारामुनि देवकोटा परिवारले न्वागी खाने खेत छ । मुठी राख्नु परे र दशैंमा नवरात्रिको पूजा गर्दा त्यहींको रोपो ल्याउने चलन अद्यापि छ । 'हाम्रो परिवारको सेन्टिमेन्टल एट्याचमेन्ट जोडिएको छ त्यस धारोसँग,' वाचस्पति भन्छन् ।
डा. देवकोटाका हजुरबाहरू जजमान गर्थे, पुराण भन्थे । पुर्खाहरूदेखि नै इज्जतिलो र सम्मानित जीवन बिताएको ठाउँ हो त्यो । त्यहाँको पानी पिएको मानिस अशिक्षित, अनपढ र मुर्ख हुँदैन भन्ने विश्वास थियो, पहिलेदेखि नै ।
डा. देवकोटाले आफ्नो बाल्यकाल त्यही कुवाको पानी खेलेर बिताएका थिए । डाँडाको शिखरकटेरी, तलपट्टि पालुङटारलगायत टारहरू । उनीहरूका बुवा, हजुरबुवाहरू तिनै टारहरूमा लगाइने सप्ताह पुराणका बाचक (पण्डित) बन्थे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४