काठमाडाैं - ‘बसाइँ’ नेपाली साहित्यमा निकै रुचाइएको उपन्यास हो। यो उपन्यासमाथि बनेको फिल्म हेरेर यसका लेखक लीलबहादुर क्षेत्री रोएको साहित्यकार कृष्ण धरावासी कहिल्यै बिर्संदैनन्।
‘मेरो किताब बिगार्दिए भन्दै उहाँ मेरो अगाडि धुरुधुरु रुनुभएको थियो,’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आयोजित नेपाली सिनेमाबारेको बहसमा लेखक धरावासीले प्रश्न उठाए, ‘हामीकहाँ उत्कृष्ट उपन्यास धेरै फिल्म बनेका छन् तर प्रायःले न्याय गर्न चुकेका छन्। ‘मुनामदन’ भन्ने फिल्म हलमा मैले अन्तिमसम्म हेर्न सकिनँ, ‘शिरिषको फूल’ र ‘तीन घुम्ती’को हालत त्यस्तै छ। तर यी तीनवटै नेपाली साहित्यका उत्कृष्ट उपन्यास थिए।’
‘राधा’ उपन्यासबाट मदन पुरस्कार जितेका लेखक धरावासीका पनि दुई उपन्यास ‘झोला’ र ‘भोर’माथि फिल्म बनेका छन्। दुवै फिल्मलाई निर्देशक यादव भट्टराईले निर्देशन गरेका हुन्।
आफ्नै कृतिमाथि बनेका फिल्ममा सन्तुष्ट हुनुहुन्छ त ? जबाफमा धरावासी भन्छन्, ‘झोला’बाट सन्तुष्ट छु तर ‘भोर’बाट हुन सकिनँ।’
सति प्रथाको विषय उठाएको ‘झोला’ माथि फिल्म बनाउन जब यसको निर्माण टिम धरावासीकहाँ प्रस्ताव लिएर पुगेको थियो, त्यतिबेला उनले स्पष्ट भनेका थिए, ‘मेरो कथाबाट तपाईलाई व्यावसायिक फाइदा हुन्छ भने फिल्म बनाउनुस्, नत्र नबनाउनुस्। तर, विभिन्न फिल्मी मसला, अनावश्यक गीत र फाइट हालेर कथा चलाउन पाउनुहुन्न।’
यो फिल्मको कतिपय सुटिङताका धरावासी स्वयम् पुगेकाले पनि उपन्यासमाथि अन्याय हुन नसकेको उनको तर्क थियो। नेपाली फिल्मको लेखन प्रक्रियामा कम मिहिनेत गरिँदा यस्तो अवस्था निम्तिएको धरावासीको टिप्पणी छ।
‘हतारमा फिल्म बनाउने चलन छ। नेपाली फिल्म लेखक अर्थात् फिल्मकर्मीमा कल्पनाशिलता र बोधगम्यताको अभाव देखिन्छ,’ उनले भने, ‘यसरी दर्शकलाई कम आँकेर फिल्म बनाउनु भएन। कृतिमाथि फिल्म बनाउँदा यसका लेखक छन् भने लेखकसँग, छैनन् भने साहित्यका समालोचक-समीक्षकसँग समन्वय गरेर, सुझाव लिएर फिल्म बनाउँदा न्याय हुन सक्छ।’
नेपालमा उपन्यासमाथि धेरै फिल्म बनेका छन्। ‘सेतो बाघ’, ‘प्रेमपिन्ड’, ‘मसान’, ‘वासुदेव’, ‘शिरिषको फूल’, ‘समर लभ’, ‘तीन घुम्ती’आदि त्यस्ता उदाहरण हुन्, जसले पुस्तकको आकारमा राम्रो प्रतिक्रिया पाए पनि फिल्म बनेर आउँदा त्यसको मर्मलाई आत्मसात् नगरेको प्रतिक्रिया पाए।