काठमाडौं- चलचित्र 'दोख' पोस्ट-प्रोडक्सनमा छ । अनुप बराल फिल्मको निर्देशक हुन् । त्यसमा लगानी छ, अस्ट्रेलिया बस्ने १० नेपाली युवाको । र, सबैले १०÷१० लाख लगानी गरेका छन् ।
निर्देशक बराल भन्छन्, 'मिडियाले मान्छेलाई छिटो चिनाउँछ, त्यही सोचले विदेशमा बस्ने नेपाली युवा सिनेमामा लगानी गर्न चाहिरहेका छन् ।'
पछिल्ला दिनमा बनेका सिनेमामा 'दोख'कै जस्तो अस्ट्रेलिया, जापान, युरोप र अमेरिका बस्ने युवाको लगानी भित्रिइरहेको छ । मल्टिप्लेक्स हलहरूमा सातामा चार वटासम्म फिल्म रिलिज हुन्छन् । ती सबैले लगानी उठाउन सक्छन् भन्ने छैन । तै पनि, चलचित्रको निर्माण रोकिएको छैन ।
रहर पूरा गर्न सिनेमामा'तँ म ऊ' चलचित्रका निर्माता तथा नायक सुदिन प्रसाईं कतारमा छन् । सात वर्ष कतार नै बसेर उनी स्वदेश फर्किए, ७० लाख खर्चेर 'तँ म ऊ' निर्माण गरे । मासिक तीस हजार रुपैयाँ भाडा तिरेर पुरानो बानेश्वरमा कार्यालय पनि खोले ।
फिल्मको लगानी उठाउन सकेनन् । तर, आफैं हिरो बन्ने रहर पूरा गरे । र, फेरि कतार फर्किए ।
अमेरिका बस्दै आएका झोलाका निर्देशक यादव सिलवाल भन्छन्, 'मान्छे टन्न पैसा कमाएपछि लगानी गर्न चाहन्छ । तर, छिटो चिनिने चाहना राख्ने युरोप र अमेरिका बस्नेहरूले लगानी गर्न थालेका हुन् ।'
निर्देशक तथा छायाँकार राजु केसीको भनाइमा बाहिर बस्नेहरूले लगानी गरिदिएर नै नेपाली फिल्म बनिरहेका छन् । उनी भन्छन्, 'तर, विचराहरू पुनः फिल्ममा रिपिट हुन सकेका छैनन् ।'
निराजन शर्मा अस्ट्रेलियामा मासिक चार लाख कमाउँथे । स्टुडेन्ट भिसामा गएका उनी सात वर्षपछि फर्केर फिल्म 'अफिसर'का निर्माता बने । र, आफैं त्यसको हिरो पनि बने ।
उनलाई नेपाली फिल्म उद्योगमा जम्न मन छ । 'अफिसर'को सफलता या विफलताले नै त्यसको निर्धारण गर्ने भने निश्चित छ ।
निर्देशक राजु शाह आफ्नो नयाँ फिल्मको आधा सुटिङ अमेरिकामा गराउने योजनामा छन् । स्क्रिप्ट लेखिरहेका छन्, शाह । र, लगानीकर्ता फेला पारेका छन्, क्यालिफोर्निया बस्ने युवा । १० वर्षदेखि उतै रहेका उनी निर्देशक शाहका मित्र पनि हुन् ।
शाहको अघिल्लो फिल्म 'नमस्ते नेपाल'मा पनि बाहिरकै लगानीकर्ता थिए ।
मुकुन्द भट्टले 'लप्पन छप्पन' निर्देशन गरे । उक्त फिल्मको निर्माता पनि युरोप बस्ने नेपाली थिए । फिल्मको सबै सुटिङ युरोपमै गरेका थिए । नेपालका चर्चित कलाकारहरू रहेको उक्त फिल्मले लगानी उठाउन सकेन ।
बिदेसिएका अधिकांश युवाको उद्देश्य पैसा कमाउने नै हुन्छ । जब सोचेभन्दा राम्रो आर्जन गर्न सफल हुन्छन्, अनेक इच्छा मनमा पलाउँछ । पैसा कमाएकाहरू सञ्चारमाध्यमसँग नजिकिन चाहन्छन् ।
पैसाबाटै पैसा कमाउन र चिनिन पनि चाहेकाले उनीहरू लगानीको क्षेत्र खोज्छन् ।
नेपाली चलचित्र वितरण र हलसम्म पुर्याउन ठूलै सास्ती बेहोर्नुपर्छ, फिल्मकर्मीलाई । त्यसबीचमा पहाड बनेर खडा भएको सिन्डिकेट पार गर्न धेरै कठीन छ ।
सातामा चार वटाको दरले मासिक १६ वटा फिल्म हलमा लाग्छन् । तीमध्ये अधिकांश अर्को साता हलबाट उत्रिसकेका हुन्छन् । त्यो साता थप चलचित्रले हलको दैलो कुरेर बसेका हुन्छन् ।
'मिडियाले मान्छेलाई छिटो चिनाउँछ, त्यही सोचले विदेशमा बस्ने नेपाली युवा सिनेमामा लगानी गर्न चाहिरहेका छन् ।'
म्यानपावर सञ्चालक पनिसामाखुशीमा कार्यालय रहेका एक म्यानपावर सञ्चालकलाई फिल्म निर्माण गर्ने रहर जाग्यो । दुबईमा नेपाल कामदार पठाएवापत उनको कमाइ मासिक तीन करोडसम्म हुन्थ्यो ।
एक जना निर्देशकलाई साथमा लिएर त्यसरी आर्जित रकमबाट फिल्म निर्माण गरे, जुन प्रदर्शनमा आउनै सकेन ।
निर्देशक राजु अर्यालको भनाइमा म्यानपावर सञ्चालकहरू रहर र रमाइलो दुवैका खातिर फिल्ममा लगानी गर्न आइरहेका छन् । म्यानपावर सञ्चालकहरू मात्र होइन, विचौलियाहरूले पनि फिल्ममा पैसा खन्याइरहेका छन् ।
निर्माता गिरिप्रसाद सुनारको पहिलो फिल्म हो, विधवा । त्यसअघि म्यानपावरमा काम गर्ने उनले धेरै युवालाई खाडी मुलुक उडाए । त्यसवापत कमाएको पैसा फिल्म 'विधवा'मा डुबाए ।
काठमाडौं तीनकुनेमा कार्यालय रहेको अर्को म्यानपावरका सञ्चालकलाई पनि यस क्षेत्रमा हात हाल्ने रहर जाग्यो । उनले एक निर्देशकबाट स्क्रिप्ट सुने । जापान बस्ने साथीसँग मिलेर फिल्म बनाए । र, कमाएको पैसा डुबाए । डुबेको पैसा उठाउन उनी म्यानपावर व्यवसायमै व्यस्त भएका छन् ।
घरजग्गा कारोबारीको पैसाकेही वर्ष वागबजारको तत्कालीन होटेल अशोकामा मृत भेटिए, एक फिल्म निर्माता । उनले दुई वटा चलचित्र बनाइसकेका थिए, तेस्रो बन्दै गर्दा उनको मृत्यु भयो । उनको पृष्ठभूमि घरजग्गा कारोबारीको थियो ।
चलचित्र 'माया नमार' रमित ढुंगानाले बनाएका हुन् । त्यसका लागि आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको जग्गा बिक्री गरेको ढुंगानाले एक टेलिभिजन अन्तरवार्तामै बताएका थिए ।
सन्तोष सेनले दुई करोड खर्चेर 'प्रेम गीत-२' बनाए । दिपकराज गिरी र दीपाश्री निरौलाको 'छक्कापञ्जा'ले १६ करोडको व्यापार गरेको हल्ला चल्यो । तर, लगानीकर्ताको हातमा पर्यो, तीन करोड मात्रै ।
नाफा त टाढाको कुरा, साँवा पनि उठाउन नसकिने बजारमा फेरि पनि निर्माताको लहर घटेको छैन ।
केही परम्परागत निर्माता पनि छन्, नेपाली चलचित्रका । माधव वाग्ले, भानु महर्जन, दीपकराज ब्यानर, सुनिल रावल, छविराज ओझा । उनीहरूले एउटा फिल्ममा कमाएको पैसा अर्कोमा लगानी गर्छन् ।
उनीहरूले वर्षमा १/२ वटा फिल्म दिन्छन् । तर, सातामा चार वटासम्म फिल्म हलमा पुग्छन् । त्यसको अर्थ हो, पैसा डुबाउन चाहनेहरू फिल्ममा लगानी गर्न हौसिँदै आइरहेका छन् ।
फिल्म समीक्षक अनुप सुवेदी भन्छन्, 'निर्माता नेपालमा अझै छैनन् । यी त फाइनान्सियल सपोर्ट मात्रै गरिरहेका छन् ।'
एउटा निर्माताले ५० लाख खन्याउँछ । हिट फिल्मबाट दाम र नाम एकसाथ कमाउने उसको सपना हलमा पुगेर तुहिन्छ । त्यसपछि ऊ नेपाली फिल्म फर्किंदैन, सधैंलाई हराउँछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४