काठमाडौं- ललितपुर कुमारीपाटीस्थित स्विट क्याफेमा कफी पिउँदै प्रेमिलाई 'अफलाइन म्यासेज' पठाउँदै थिइन्, समिता शर्मा । दुई दिनअघि उनीहरूबीच झगडा परेको थियो । र, दुई दिन नबोलेको रिस स्टिकरमार्फत् पोख्दै थिइन् ।
उनी मुस्कुराउँदै भन्दै थिइन्, 'शब्दमा लेख्यो भने अनेक अर्थ लगाउँछ, स्टिकर पठाइदियो खेलै खत्तम ।' भनिन्छ, एउटा तस्बिरले हजार शब्द बोल्छ । यही बुझेर हुन सक्छ, नयाँ पुस्ताले सामाजिक सञ्जाल र इमेलमा मात्र होइन, एसएमएस सन्देशमा पनि इमोजी, स्टिकर र जीआईएफको प्रयोगलाई व्यापक बनाएका छन् ।
समिताकै भनाइ मान्ने हो भने शब्दमा लेखेर समय खेर फाल्नुभन्दा एउटा सांकेतिक चिन्ह पठाइदिएपछि कुराकानी रोमाञ्चक हुन्छ ।
आधुनिक बन्ने रहर !
यो जमाना 'ब्ल्याक एन्ड ह्वाइट' मोबाइल सेटको होइन । स्मार्ट फोनले रंगीन बनाइसकेको छ, आपसी सञ्चारलाई । पुरानो प्रविधिलाई बाई-बाई, आई-फोन र स्मार्ट फोनका फिचर हाई-हाई ।
क्यास्पियन कलेज कक्षा १२ का विद्यार्थी राहुल कार्की गाँजा र अफिमलाई फूलको चिन्हमा व्यक्त गर्छन् भने मदिरालाई पाइला (फुटप्रिन्ट)मा । परिवारका सदस्यहरू साथमा हुँदा प्रेमिका या साथीभाइसँग च्याट गर्नुपरे यस्तै चिन्हको प्रयोगले सहयोग पुर्याएका छन्, उनलाई । भन्छन्, 'कुरा लुकाउन इमोजीले धेरै मद्दत गरेको छ । अब त टाइप गर्ने बानी हराउन थाल्यो ।'
म्यासेजको जवाफमा पनि यस्तै संकेत चिन्हहरू आउँछन् । यसबारे थाहा नभएका बाबुआमालाई झुक्याउन सफल छन्, उनी ।
गाँजा र अफिमलाई फूलको चिन्ह, मदिरालाई पाइला । यौन बुझाउन स्याउ, केरा, चेरी, अण्डा र पानीका फोका ।
रत्नराज्य क्याम्पसमा एमए चौथो सेमेस्टर अध्यययनरत सामना पौडेललाई कसैले च्याटमा वाक्क लगाए लाइक साइन पठाइदिन्छिन् । त्यसको अर्थ हुन्छ, कुराकानीको अन्त्य । भन्छिन्, 'रिसाएको थाहा दिन फोन गरेर झगडा गर्नैपर्दैन, इमोजी, स्टिकर र जीआईएफबाटै व्यक्त गरिन्छ ।'
माया र साथीको कुरामा मख्ख परेको देखाउन मस्केको स्टिकर पठाउँछिन् उनी । अब, माया, प्रेम, रिस, सद्भाव, दया, घृणालगायत अभिव्यक्तिको माध्यम बनेका छन्, यस्ता चिन्ह । इमोसन व्यक्त गर्न अब अनुहार बिगार्नुपर्दैन, कुनै चिन्ह पठाइदियो, चुपचाप बस्यो ।
इमोजी जापानी शब्द हो । 'ई'ले तस्बिर र 'मोजी'ले शब्द भन्ने अर्थ दिन्छ । सन् १९९० को दशकको अन्त्यतिर जापानी मोबाइलबाट शुरु भएको हो, यसको चलन । अहिले विश्वव्यापी रूप पाएको छ ।
४ नोभेम्बर २०१६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा 'इमोजी विश्व सम्मेलन' नै आयोजना भएको थियो । त्यसयता नै हो, आई-फोन र एन्ड्रोइड मोबाइलमा यस्ता चिन्हको प्रयोग अझ व्यापक बनेको पनि । र, पहिलेभन्दा लोकप्रिय बनेका छन् ती ।
एक तथ्यांकअनुसार दिनहुँ ६ अर्ब इमोजी र स्टिकर प्रयोग हुन्छन्, संसारभर । खुशी, माया (मुटु) वा प्रेमका स्टिकरहरू अन्यको तुलनामा बढी प्रयोग हुन्छन् । इमोजी र स्टिकरले समयको बचत मात्र गराएका छैनन्, कुराकानीलाई पनि रोमाञ्चक बनाएका छन् ।
रत्नराज्यमै एमए अध्ययनरत अरुण सापकोटा कक्षामा समेत इमोजीकै प्रयोग गर्छन्, च्याट गर्नु परे । 'च्याट गर्दा सरले क्लासबाट निकालिदिनु हुन्छ,' उनी भन्छन्, 'एउटी साथीसँग च्याट गर्दा इमोजी र स्टिकरको प्रयोग गर्थें, त्यसमार्फत् कुराकानी यति अगाडि बढ्यो कि झण्डै लभ परेको ।'
शंकरदेव क्याम्पसमा एमबीएस प्रथम वर्षका राजन महर्जनकी प्रेमिका च्याटमा स्टिकरको प्रयोग बढी गर्छिन् । प्रेमिकाको संगतले उनी पनि संकेत चिन्हहरूको प्रयोगमा अभ्यस्त बनेका छन् । 'यसको रमाइलो शब्दमा व्यक्त गर्न सकिँदैन,' उनी भन्छन् ।
'यौनजन्य कुराकानी शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ, इमोजी पठाउन धेरै सजिलो ।'
अश्लीलता व्यक्त गर्ने माध्यम
प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसको क्यान्टिनमा खाजाको पर्खाइमा थिए, गोविन्द र उनका साथीहरू । उनीहरूले च्याटको अलग्गै 'ग्रुप' बनाएका रहेछन् । क्यान्टिनमा कुराकानीको साटो उनीहरू सबै आ-आफ्ना मोबाइलमा व्यस्त देखिन्थे ।
उनीहरूको समूहले एक्कासी हाँसोको फोहोरा छुटायो । इमोजी र स्टिकरको माध्यमबाट उनीहरू अश्लिल कुराकानी गर्दै रहेछन् । उनीहरूको नजिकै बसेकी रजनीले सबैलाई गाली गरिन्, 'काम छैन है तिमीहरूको ? फोहोरीहरू ।' गोविन्दका साथी रमेशले रजनीलाई सम्झाउन खोजे, 'टेक इट इजी साथी ।'
पाटन कलेजमा पढ्ने नवीन खरेल भन्छन्, 'साथीहरू बीच स्टिकरको प्रयोग यस्तो अवस्थामा प्रयोग गरिन्छ, जुन कुरा शब्दमा व्यक्त गर्दा अश्लिल हुन्छ ।' उनका अनुसार इमोजीमा प्रयोग हुने स्याउ, केरा, चेरीजस्ता फलफूल, अण्डा र पानीमा फोकाले यौनसम्बन्धी अर्थ लगाउँछन् ।
'यौनजन्य कुराकानी शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ, इमोजी पठाउन धेरै सजिलो,' नवीन भन्छन् ।
भावनात्मक चिन्ह
म्यासेज पठाउँदा होस् या कुनै स्ट्याटस पोस्ट गर्नुअघि, अगाडि-पछाडि स्टिकर र इमोजी झुण्ड्याउने चलन नयाँ पुस्तामाझ लोकप्रिय छ । कुनै इच्छा र भावना व्यक्त गर्नेदेखि कन्फ्युज भए, रिसाए र दुःखी छु भन्नका लागि शब्दको प्रयोग गर्नै परेन ।
सबै कुरा स्टिकरले नै स्पष्ट पारिदिन्छ । जस्तै ः दुःख व्यक्त गर्न झोक्राइरहेको, निहुरिएको र आँशु निकालेको इमोजी । स्टिकरमा झोक्राइरहेको पाण्डा, पुतली तथा जीआईएफमा रिसाएको कुनै सेलिब्रेटी भएकोे छोटो भिडियो र रिस व्यक्त गर्न रातो अनुहार प्रयोग गरिन्छ ।
कक्षा-१० सकेर बसेकी मल्लिका ऐरका अनुसार अब साथीलाई कराएर बोलाउने जमाना गयो, जीआईएफ या स्टिकर पठाइदियो, साथी आइहाल्छ । 'साथीहरूसँग अझ बढी नजिक हुन र माया देखाउन सजिलो भएको छ,' उनी भन्छिन्, 'धेरै माया व्यक्त गर्न आँखामा पान बुट्टा भएको इमोजी, स्टिकर र लभ जनाउने जीआईएफ पठाइन्छ ।'
महालक्ष्मी कलेजमा अध्ययनरत सन्दीप लामालाई दिदीले अमेरिकाबाट आई-फोन पठाइदिइन् । यसअघिको साधारण फोनमा इमोजी, स्टिकर र जीआईएफको प्रयोग गर्न पाउँदैनथे, अब सहज भएको छ ।
कसैको तस्बिर राम्रो लागे शब्द र वाक्य टाइप गर्न समय खर्चिनु पर्दैन । माया बुझाउने स्टिकर या जीआईएफ पठाइदिए पुगिहाल्छ ।
धुलिखेल इन्जिनियरिङ कलेजमा अध्ययनरत सक्षम बराल जीआईएफका क्रेजी नै हुन् । रिसाएको जीआईएफ प्रयोग गर्दा रिस उठ्ने नभई रमाइलो लाग्ने उनको भनाइ छ ।
सामाजिक अभियन्ता डा. अरुणा उप्रेती यस्ता चिन्हहरूको प्रयोगका सकारात्मक-नकारात्मक दुवै पक्ष देख्छिन् । भन्छिन्, 'यिनको गलत प्रयोगका कारण साइबर क्राइम पनि बढ्दो क्रममा छ । कसरी प्रयोग गरिन्छ भन्नेमा यसको परिणाम निर्भर हुन्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४