सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संकटमा राजपा : असारभित्र महाधिवेशन गर्न आयोगको निर्देशन

संकटमा राजपा : असारभित्र महाधिवेशन गर्न आयोगको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ७ वैशाख ०७४ मा ६ वटा मधेशकेन्द्रित दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा)को वैधानिकता संकटमा परेको छ।

निर्वाचन आयोगले उक्त पार्टीलाई बिहीबार पत्रमार्फत् ३० असारभित्र महाधिवेशन गर्न ‘अल्टिमेटम’ दिएको छ। अध्यक्ष मण्डलको बिहीबार दिउँसो भएको बैठक सकिनासाथ करिब साढे तीन बजे आयोगको पत्र प्राप्त भएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।

बैठक सकिएको आधा घण्टापछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पुनः अन्य सदस्यलाई बोलाएका थिए। आयोगले दिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न कठिन हुने नेताहरू नै बताउँछन् । 

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरतसिंह भण्डारीको रामसपा, महेन्द्र राय यादवको तमसपा, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको थियो।

हालसम्म राजपाको सदस्यतासमेत वितरण नगरिएपछि कार्यकर्तामा असन्तुष्टी चुलिएको छ। पार्टीका काठमाडौं जिल्ला अध्यक्ष मुरलीप्रसाद सिंहले जिल्ला समितिको निर्णय गराई पार्टी महाधिवेशनको मिति घोषणा नगरे संघीय समाजवादी फोरममा विलय हुने चेतावनी दिइसकेका छन्।

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र शरत्सिंह भण्डारीले महाधिवेशनका लागि सदस्यता वितरण गरी स्थानीय तहको निर्वाचन गर्न अध्यक्ष मण्डलको बैठकमा दबाब दिँदै आएका थिए। तर, अध्यक्ष मण्डलका संयोजक ठाकुरले स्वार्थअनुकुल माग गरेको बताउँदै महाधिवेशन टार्दै आएका थिए। 

आयोगको निर्देशनअनुसार महाधिवेशन गर्न वडा, गाउँ÷नगरपालिका, निर्वाचन क्षेत्र र प्रदेश प्रतिनिधिहरूको निर्वाचन एक महिनाभित्र सम्भव नदेखिएको एक महासचिव बताउँछन्।

अध्यक्ष मण्डलका संयोजक ठाकुरले महाधिवेशनको अवधि ६ महिना थपिदिन आग्रह पनि नगरेका होइनन् । तर, पार्टीको विधानको प्रावधानअनुसार एक महिनाभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता छ । 

विधानको दफा २२ को १० मा एक वर्षभित्र महाधिवेशन गर्ने प्रष्ट उल्लेख छ। पार्टीको विधान सच्याउन सक्ने स्थिति पनि छैन। अस्वस्थताको कारण जनाउँदै ठाकुरले अध्यक्ष मण्डलको बैठकसमेत दुई महिनादेखि टार्दै आएका थिए । 

आयोगले असारसम्म महाधिवेशन नगरे पार्टीको खारेजीसम्मका योजना बनाएको छ। नवगठित नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले पार्टी दर्ता र विधान बुझाउँदा तथा प्रमाण लिन जाँदा राजपालाई महाधिवेशन नगरी किन पार्टी सञ्चालन गर्न दिएको भनी प्रश्न गरेका थिए।

महतोको असहमति

अध्यक्ष मण्डलको बिहीबारको बैठकमा महतोले महाधिवेशनका लागि चाँडो कार्यक्रम घोषणा गर्न माग गरे। तर, अध्यक्ष ठाकुरले चाहेनन्। ठाकुरले शुक्रबार (२५ जेठ) का लागि बोलाइएको राजनीतिक समितिको बैठकपछि ४ असारसम्मलाई सारे। 

संयोजक ठाकुरले प्रदेश–२ सरकारले नीति तथा कार्यक्रम बिहीबार नै पेश गरेको र १ असारमा बजेट ल्याउने भएकाले राजनीतिक समितिको बैठक सार्नैपर्ने प्रस्ताव गरेका थिए।

संयोजक ठाकुरले जबर्जस्ती गरेपछि महतोको केही लागेन । र, उनले बैठकको निर्णयप्रति असहमति जनाए । प्रदेश–२ को कार्यक्रमले राजनीतिक समितिको बैठकलाई बाधा नगर्ने महतोको तर्क थियो। 

राजपा संसदीय दलको बैठक निर्वाचन भएको चार महिनासम्म पनि नराखेको बताउँदै महतोले असन्तुष्टी जनाए। संसदीय दलको नेता चयन गर्नुपर्ने र तत्काल महाधिवेशन घोषणा गर्न राजनीतिक समिति बैठकको मिति सार्न नहुने उनले बताएका थिए। राजपा संसदीय दलमा महतो पक्षधर सांसदहरूको बहुमत भएका कारण ठाकुरले दलको बैठक नबोलाएको एक नेताले बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।