काठमाडौं- २२अौं अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको छैटौं दिन बिहीबार भृकुटीमण्डपमा बिहीबार पाँच घगडान लेखक बहसमा जुटेका थिए । उनीहरू थिए, खगेन्द्र संग्रौला, नारायण ढकाल, चन्द्रकिशोर झा, महेशविक्रम शाह र श्याम शाह ।
ढकाल र झाको पृष्ठभूमि पत्रकारिता हो । संग्रौला पनि पत्रकारिताको दुनियाँबाट धेरै टाढाका लेखक होइनन् । संयोगवस, उनीहरू तीनै जना राम्रामध्येका राजनीतिक विश्लेषक पनि हुन् । महेशविक्रम र श्याम दुवै कथाकार हुन् ।
‘नेपाली लेखाइमा के लेखकहरूले आफ्नो सत्ता बनाउन सकेका छन् ?’ झाको प्रश्न संग्रौलालाई । संग्रौलाको जवाफ, ‘लेखक वान म्यान आर्मी हो ।’
एउटा व्यक्तिले केही गर्न सक्दैन, धेरै जना मिलेर इतिहास बन्ने हो । ‘लेखनको दुनियाँबाट सर्वाधिक अगाडि जान सक्न सकिन्छ कि सकिन्न ?’ झाले प्रश्न तेस्याए ढकालतिर, ‘लेखन सत्ताको बर्चश्व बनाइरहन कस्ता बाधाहरू आइपर्छन् त ?’
ढकालले कोलम्बियाका लेखक गाब्रिएल गार्सिया मार्खेचको शब्द सापटी लिए, ‘लेखकचाहीं डुब्न लागेको जहाजको कप्तानजस्तो हो ।’
‘वर्तमानको चौखटमा उभिएर हेर्दा लेखकको सत्ता कहाँ अडिइरहेको छ ?’ झाले ढकाललाई अर्को प्रश्न गरे । पञ्चायतको लामो अवधिलाई लेखनमार्फत् प्रस्तुति गरेका छन्, ढकालले । सांकेतिक रूपमा धेरै कुरा भनेका पनि छन् । आन्दोलन र अभियानलाई लेखनमार्फत् निरन्तरता दिइरहे । ‘डराएर कहिल्यै लेखक हुन सकिन्न,’ उनी भन्छन् ।
महेशविक्रम भन्छन्, ‘जनताका लागि लेख्छु म ।’ उनी कथामा समाजको आम मान्छेको कथा उतार्न रुचाउँछन् । र, त्यसैबाट आफ्नो लेखन सत्तालाई टिकाइरहेको ठान्छन् ।
‘सत्ताको आँखामा नपरेका मुद्दालाई आम मान्छेसम्म पुर्याउने नै लेखक हो,’ उनी भन्छन् । आफ्नो लेखनबाट कुनै पनि समयको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने उनको ठम्याइ छ । दबाबमा लेख्नु भनेको पात्रहरूको बोली बन्द गर्नुजत्तिकै मान्छन्, शाह ।
मधेशमाथि लेख्दै आएका श्याम लेखनको सत्तालाई सकसपूर्ण कुरा ठान्छन् । उनी सीमित ज्ञान र भाषाको सकसबाट गुज्रिएको बताउँछन् ।
सम्बन्धित समाज र समुदायकै मान्छेले लेख्नुमा बढी न्याय र प्रतिनिधित्व हुन सक्ने उनको ठम्याइ छ । पत्रकार झा उनलाई प्रश्न गर्छन्, ‘मधेशभित्रको सामाजिक सत्ताले कत्तिको झक्झक्याउँछ ?’
शाहको जवाफ थियो, ‘हरेक लेखनको एक दृष्टिकोण हुन्छ ।’ मधेशको कथा आफूले नलेखे व्यर्थ हुने उनको विचार थियो ।
‘सत्तामा जब निरंकुशता बढ्छ, तब सेन्सरसिप शुरु हुन्छ । हरेक पदबाट लोभिएन भने लेखकले प्रतिवाद गर्न सक्छ । लेखकले शासितहरूलाई आश्रित देख्छन्,’ संग्रौला भन्छन्, ‘म साहसी होइन, आवेगी मान्छे हुँ । मलाई डर लाग्छ, म मारिएँ भने छोराछोरीको के होला ?’
आफू कहिल्यै कम्युनिस्ट नभएको उनको दाबी छ । सबै कम्युनिस्ट आन्दोलन दबिएको देख्छन्, उनी । भन्छन्, ‘जन्मदेखि मृत्युसम्म जीवनका कुनै पनि पल संघर्षबाट मुक्त छैनन् ।’
पछिल्लो समय म्यादी प्राज्ञ जन्मिइरहेको अवस्थालाई व्यंग्य गर्दै झा प्रश्न गर्छन्, ‘यसले लेखनलाई कस्तो प्रभाव गर्छ ?’ पार्टीहरूको भागबण्डाको आधारमा प्रतिनिधिहरू बनाइँदै आएको स्मरण गर्दै ढकाल भन्छन्, ‘लेखक गौण हुन पुग्छ ।’
नेपालका संस्थाहरू पार्टीद्वारा निर्देशित रहेको ढकाल देख्छन् । लेखनमा सिर्जनशीलताको पनि अभाव देख्छन् । लेखकहरू नै त्यस्ता संस्थामा जाने प्रवृत्ति पनि उनले देखेका छन् । ढकाल भन्छन्, ‘लोकतन्त्र आयो भनियो तर संस्था र संस्कृति बनेन ।’
सामाजिक परिवर्तनलाई लेखकले अध्ययन गर्न सक्नुपर्ने महेशविक्रम बताउँछन् । कथा लेखनले चरित्र निर्माण गरेको देख्छन्, उनी ।
‘नेपाली लेखनमा मधेशी लेखनको विमर्श किन भइरहेको छैन ?’ झाको प्रश्न श्यामलाई । श्याम यो पक्षलाई अत्यावश्यक ठान्छन् । र, मधेशमाथिको साहित्यमा विमर्श आवश्यक देख्छन् । मधेशी लेखनको मूल मुद्दा विभेद देख्छन्, श्याम ।
लेखकको सत्ताको गरिमाका लागि वैचारिक मोर्चाहरू निर्माण गरिनुपर्ने संग्रौला देख्छन् । भन्छन्, ‘लेखक जहिल्यै जनताको भीडमा हुन्छ । र, लेख्ने बेला एकान्तमा हुन्छ ।’
लेखकलाई लेखनदास हुनबाट जोगाउनुपर्ने संग्रौला बताउँछन् । ‘लेखकहरूले नयाँ–नयाँ नायक खोज्ने हो त ?’ झाको प्रश्नमा संग्रौलाको जवाफ, ‘प्रयत्न गर्ने हो ।’
सत्ता भन्नासाथ शक्ति जोडिएर आउने महेशविक्रमको बुझाइ छ । सिर्जना शक्तिशाली हुन सक्यो भने लेखकको सत्ता हुन सक्ने उनी देख्छन् । पाठकले लेखकको कृति मन पराइदिनु नै सत्ताको विकास हुँदै जानु रहेको उनको बुझाइ छ ।
झाको अन्तिम प्रश्न थियो, ‘लेखकीय सत्ताका लागि अवसर के र चुनौती के छ ?’ ढकालले बिट मारे, ‘लेखक आफ्नै नैतिक साहस नै अवसर हो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४