काठमाडौं- जब-जब चुनाव आउँछ, राष्ट्रका ‘गहना’ भनिने कलाकारले टिकट पाउने हल्ला बजारमा खुब चल्छ। चुनावको प्रचारप्रसारका क्रममा गीत गाउने, नाच्नेदेखि भोट माग्नेसम्मका क्रियाकलापमा उनीहरु सरिक हुन्छन्।
तर टिकट पाउने बेलामा निराश हुनुको विकल्प हुन्न। नेपाली राजनीतिक परिदृश्यमा भुवन केसी, करिष्मा मानन्धरदेखि रेखा थापासम्म यसका उदाहरण हुन्। विभिन्न समयमा उनीहरु चुनावमा उठ्ने चर्चा नचलेको होइन तर अन्तिम समयमा पार्टीले टिकट नदिँदा उनीहरु ‘ब्याक’ हुन बाध्य भएका थिए।
त्यसैले त नेपाली राजनीतिमा पार्टीहरुले कलाकारलाई ‘गहना’ मात्रै बनाएको टिप्पणी फिल्मवृत्तमा व्यापक हुने गर्छ।
खैर आज हामी नेपाली राजनीतिमा लागेका कलाकारबारे होइन, भारतको विधानसभा चुनावबारे चर्चा गर्दैछौँ। त्यहाँ नेपालमा जस्तो कलाकारले टिकट नै नपाउने अवस्था छैन, ठूलठूला स्टारसमेत चुनावमा उठे। तर विडम्बना उनीहरुको ‘स्टार पावर’ राजनीतिमा ‘ब्लकबस्टर’ हुन सकेन।
भारतमा यतिखेर बंगाल, असम, तमिलनाडु र केरलको विधानसभा चुनावको विभिन्न कोणबाट विश्लेषण भइरहेको छ तर यसमा रोचक पक्ष के छ भने यी चुनावी नतिजाहरुमा राजनीतिक मुद्दा र नेताहरुकासामु फिल्म क्षेत्रका स्टारहरुको उपस्थिति फिक्का रह्यो। बंगालमा पार्टीहरुले सबैभन्दा बढी फिल्मका स्टारहरुलाई राजनीतिको अखाडामा उतारे। स्टार प्रचारक बनाए तर, अन्त्यमा स्थानीय मुद्दा र राजनीतिक अनुहारका अगाडि स्टार पावर ‘फ्लप’ भयो।
कमलको हार
तमिल सिनेमामा कमल हसनको क्रेज कति छ, त्यो बताइरहनुपर्ने विषय भएन। अर्को सत्य के पनि हो भने पुरा भारतमा तमिलनाडुजस्तो सिनेमाको क्रेज व्याप्त छ। जयललिता, एम.करुणानिधि र एम.जी रामचन्दन सबै सिनेमाबाटै राजनीतिमा आएका थिए। यसपटक चुनाव जितेर मुख्यमन्त्री बन्ने तर्खरमा रहेका स्टालिन पनि सिनेमाबाटै चर्चित भएका थिए। यो पटकको चुनावमा सबैभन्दा बढी चर्चित बनेको अनुहार स्टालिनका छोरा उदयगिरी पनि एक्टर नै हुन्।
कमल तमिल फिल्मका दिग्गज कलाकारका रुपमा चिनिन्छन्। ‘एक दूजे के लिए’ देखि ‘चाची ४२०’ सम्म हिन्दी फिल्मका दर्शकलेसम्म उनलाई निकै प्रेम गरेका छन्। कमलले तीन वर्षअघि ‘जन न्याय’ पार्टी बनाएका थिए। जयललिता र करुणानिधि दुवैको निधनपछि तमिलनाडुमा कमलप्रति अपेक्षा झन् बढेको थियो तर चुनावमा कोयम्बटुर दक्षिणको सिटमा उठेका उनी भाजपाकी वनति श्रीनिवासनसँग हारे। तमिलनाडुमा भाजपा धेरै लोकप्रिय पार्टी पनि होइन तैपनि कमलले हारको सामना गर्नुपर्यो। यसले के पुष्टि गर्यो भने कमललाई फिल्ममा खुब मनपराउने दर्शकहरुले समेत उनलाई राजनेताका रुपमा भने रुचाएनन्।
‘राजनीतिको बिरयानीमा कलाकार बासमती चामलमात्रै हुन्’
तमिल फिल्मका चर्चित एक्टर मोहनले दैनिक भास्करसँगको कुराकानीमा भनेका छन्, ‘कमलको हारलाई लिएर म कति पनि चकित छैन। यदि राम्रो बिरयानी बनाउनु छ भने बासमति चामलको अलावा राम्रो कुक, मसला, भाँडा, तेल, सब्जी, ननभेज सबै चाहिन्छ। राजनीतिमा कलाकार बासमती चामलमात्रै हुन्। त्यसैले चुनाव जित्नका लागि उसले अरु धेरै थोक गर्नुपर्छ। यसमा कुनै शंका छैन कि कमल हसन राजनीतिमा राम्रो ब्याट्सम्यानका रुपमा चिनिँदै थिए, तर प्रतिपक्षवाला राम्रो बलर निस्किए। कमललाई जनताको भरोसा जित्न अझै कडा मिहेनत गर्नुपर्छ।’
त्यस्तै कमलकै पार्टीबाट चुनावमा उठेका तमिल अभिनेत्री श्रीप्रीया र एक्टर एवम् गीतकार स्नेहनले पनि चुनावमा हार व्योहोर्नुपर्यो।
खुश्बुको स्वीकारोक्ति : लोकप्रियता नै चुनाव जित्ने मानक होइन
कमल हासन भाजपाको सामुन्ने हारे तर केही महिनाअघि मात्रै भाजपा प्रवेश गरेकी अभिनेत्री खुश्बु सुन्दर पनि चुनावमा हारिन्। एक जमानाकी लोकप्रिय अभिनेत्री खुश्बुले सन् २०१० मा डीएमकेबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्। उनी सन् २०१४ देखि २०२० सम्म कांग्रेस पार्टीमा आबद्ध थिइन्। तर, अक्टुबर २०२० मा कांग्रेस छाडेर भारतीय जनता पार्टीमा प्रवेश गरिन्। खुश्बु चेन्नईको हजार लाइट्स निर्वाचन क्षेत्रबाट उम्मेद्वार थिइन्।
भारतीय मिडिया दैनिक भास्करसँगको कुराकानीमा खुश्बुले भनेकी छन्, ‘मिडिया हामीलाई कलाकार हुनुको नाताले म्याग्निफाइड ग्लासबाट हेर्छन्, जबकी राजनीतिमा यस्तो हुँदैन। अरु मान्छे पनि त चुनाव हारेका छन्। होला, हामी लोकप्रिय छौँ तर लोकप्रियता नै चुनाव जित्ने मानक होइन। यसपटक डीएमकेको लहर थियो तैपनि कमल हासनजस्ता सुपरस्टारले आफ्नो स्थान बनाउन सकेनन्।’
तर, खुशबु कमललाई हराउने नेता भाजपाबाटै रहेकोमा भने खुशी छन्। ‘कोयंबटुरको यो जितले तमिलनाडुमा भाजपाको खाता खुल्यो भन्ने संकेतसमेत गरेको छ,’ कमलको हारप्रति खुशी हुँदै उनले यस्तो भनेकी छन्।
बंगालमा भाजपाका सेलिब्रेटी उम्मेद्वार : जसले हार व्योहोरे
बंगालमा तृणमुल कांग्रेसबाट थिएटर एक्टर बरतया बसु, निर्देशक राज चक्रवर्ती, गायक अदिति मुंशी, एक्टर चिरन्जीवी, एक्टर लवली मित्रा, थिएटर एक्टर नयना बंदोपाध्याय, क्रिकेटर मनोज तिवारी, पूर्व फुटबलर विदेश बोस, एक्टर कञ्चन मालिक, गायक इन्द्रनील सेन, एक्टर जूने मालिहाँले चुनाव जिते। तर तृणमुलबाटै एक्टर सयानी घोषले चुनाव हारिन्। त्यस्तै एक्टर संयतिका बनर्जी र कौशानी मुखर्जीले पनि चुनाव हारे।
भाजपाबाट टिकट लिएर चुनाव लडेकामध्ये फेसन डिजाइनर अग्निमित्रा पालले मात्रै चुनाव थिए। बाँकी बाबुल सुप्रियो, लकेट चटर्जी र यश दासगुप्तजस्ता दिग्गज कलाकार र गायकले समेत चुनाव हारे। बाबुल त सांसद र केन्द्र सरकारमा मन्त्री पनि छन् तर ममताको आँधीमा उनले विधानसभा पनि जित्न सकेनन्। बाबुललाई चुनावमा तृणमूलबाट चुनाव उठेका अरुप विश्वासले हराए। अरुपलाई चुनाव जिताउन जया बच्चनसम्म भोट माग्न पुगेकी थिइन्। त्यतिबेला बाबुलले भनेका थिए, ‘मेरो जया बच्चनसँग राम्रो सम्बन्ध छ। मलाई विश्वास छ, मेरोविरुद्ध उनले केही बोल्ने छैनन्।’ बाबलुको यस्तो स्टेटमेन्टले नै उनको कम आत्मविश्वास संकेत गथ्र्यो।
किनभने, भोट दिदीको नाममा गयो...
तृणमुल कांग्रेसबाट भारी मत ल्याएर चुनाव जित्ने सुपरस्टार हुन्, चिरन्जीव चक्रवर्ती। चक्रवर्तीले दैनिक भास्करलाई बताएअनुसार कुल २९२ सिटमध्ये खेल र सिनेमा क्षेत्रबाटमात्रै १६ उम्मेद्वार थिए। ‘लगभग यी सबैले जिते तर भाजपाबाट जुनजुन कलाकारलाई टिकट दिइएको थियो, लगभग सबैले हारे। किनभने बंगालमा भोटको लहर नै दिदीको नाममा गयो। दिदी सबै निर्वाचन क्षेत्रमा गएर भन्छिन्, तपाई उम्मेद्वार नहेर्नुस्, मलाई हेर्नुस्।’
३ सयभन्दा बढी फिल्ममा काम गरिसकेका चिरञ्जीव चक्रवर्ती बंगालका कलाकारमा राजनीतिक चेतना सधैँ रहेको बताउँछन्। ‘यो सत्यजित रे, विमल राँयजस्तो फिल्ममेकर रहेको ठाउँ हो, जहाँ उनीहरुको पोलिटिकल स्ट्यान्ड सधैँ रहन्थ्यो,’ उनले भनेका छन्।
मिथनुलाई घाटैघाटा
बंगाल चुनावभन्दा केही समयअघिमात्रै अभिनेता मिथुन चक्रवर्तीले आफ्नो पार्टी परिवर्तन गरे। तृणमुलबाट राज्यसभा सांसदसमेत भइसकेका उनी भाजपामा प्रवेश गरे। जसरी बंगालको चुनावम र्यालीहरुमा उनले भीड जुटाएका थिए, जसरी उनलाई ‘बंगालका बेटा’का रुपमा प्रस्तुत गरिएको थियो, त्यो हेर्दा भाजपालाई त्यहाँ बहुमत मिल्ने र मिथुन मुख्यमन्त्रीको उम्मेद्वार बन्ने खुब अनुमान गरिएको थियो। तर, विडम्बना मिथुनको जादु त्यहाँ चल्न सकेन।
मुख्यमन्त्री बन्ने मोहमा उनले राज्यसभाको सिट पनि छाडेका थिए। तर, परिणामले के भन्यो भने मिथुनले ‘ममता दिदी’को साथ छोडे पनि त्यहाँका जनताले छाडेनन्।
कांग्रेससँग जोडिएका राजनीतिक विश्लेषक डा. अलीमुल्लाह खान भन्छन्, ‘केरलजस्तो राज्यमा पनि नेसनल अवार्ड जितेका एक्टर सुरेश गोपीले चुनाव हारे किनभने जनताले खाँटी कुरो बुझिसकेका छन्। जनताले कसले उनीहरुको काम गर्छ, को जितपछि गायब हुन्छ, बुझिसकेका छन्। यो नतिजापछि सायद धेरैजसो राजनीतिक दलहरुले सेलिब्रेटीलाई टिकट दिनुअघि धेरै सोच्नेछन्।’
(यो सामग्री दैनिक भास्करको सहयोगमा अनिल यादवले तयार पारेका हुन्)