सोमबार, असार २९, २०८३

आख्यानमा डिजाइनर को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इन्जिनियरले घर बनाउनुअघि सेतो पानामा ढाँचा तयार पार्छन् । त्यही ढाँचामा घरका ढोका, झ्याल, छत, बेडरुम र किचेनको खाका कोरिएको हुन्छ । यस्तै खाका तयार पारेर लेखकले लेख्छ कि लेख्दैन ?

मध्यस्थकर्ता अर्चना थापा सोध्छिन्, ‘आख्यानकार अमर न्यौपानेको उपन्यास लेखनमा डिजाइन कसरी हुन्छ ?’ 

‘स्वतःस्फूर्त आख्यान लेख्न सकिन्नँ,’ न्यौपाने भन्छन् । ‘सेतो धरती’ लेख्दा उनलाई कुनै घटनाले प्रेरित गरेको रहेछ । चितवन देवघाटको ‘लोकेसन’ वरिपरिबाट जन्मिएको उपन्यासको डिजाइन गर्न उनलाई त्यहाँ देखेका पात्र र घटना प्रेरणाका स्रोत थिए । 

'कल्पनामा फिक्सन राइटर हुन सकिन्न, आफूले भोगेका र भेटेका मान्छेलाई नै पात्र बनाएर कथाहरूको डिजाइन गरिन्छ ।’


‘फिक्सन डिजाइनर’का रूपमा परिचित कुमार नगरकोटीले ‘सर्रियल लेखक’को छवि बनाइसकेका छन् । आफूलाई ‘हु केयर्स’ भन्छन् । 

‘न्यारेसन’मा समस्या देख्छन्, नगरकोटी । ‘क्राफ्ट’को आ–आफ्नै शैली हुन्छ । आफ्नो कथालाई कसरी भन्ने ? नयाँ ‘फर्म’ प्रयोग गर्न रुचाउँछन्, उनी । 

वस्तुगत ‘न्यारेसन’मा बढी ध्यान दिन सक्दा डिजाइन आफैं सिर्जना हुने उनको तर्क छ । नृत्य, कला, कार्पेन्टर र रङहरूका फर्ममा उनी बढी सोच्छन् । भन्छन्, ‘अलग–अलग रङका गुलाब मिलायो भने अर्को नयाँ गुलाबको रङ बन्न सक्छ ।’

सीमा तोडेर नयाँ क्राफ्ट लिएर आउनुलाई नेपाली साहित्य समाजले नराम्रो लेखक ठान्छ । नेपाली साहित्यको परम्परागत लेखनशैलीमा बसेर लेख्नेलाई राम्रो लेखक भन्न पाइन्छ कि पाइँदैन ? हारुकी मुराकामी, ओरहान पामुकजस्ता लेखकहरूसँग आफ्नो फर्म सिर्जित भएको नगरकोटीको बुझाइ छ । 

‘कथाकार माया ठकुरी नयाँ उपन्यास लेख्दैछिन् । महिला साहित्यकारले आख्यानलाई कसरी डिजाइन गरिरहेका छन् त ?’ मध्यस्थकर्ता थापा प्रश्न गर्छिन् । 

जन्मँदै आमाको कोखबाट मानिसले सिक्न थाल्ने ठकुरी बताउँछिन् । प्रेम र घृणा दुवै हुन्छ, महिलासँग । महिलाबिना सबै अधुरो देख्छिन्, ठकुरी । 

‘नेपाली साहित्य महिला भएर बाँचेको छ,’ उनी भन्छिन्, ‘हामीले कसका लागि लेखिरहेका छौं । हामीले जे भोग्यौं, त्यही लेख्ने गरेका छौं ।’ 

उनी आफ्नो बाल्यकालमा एउटा ‘फ्रक’ किन्ने रहरलाई जोड्छिन् । अन्तिममा त्यो सुन्दर ‘फ्रक’ ठकुरीकी आमाले कहिल्यै किनिदिइनन् । त्यो समय उनको जीवनमा कहिल्यै आएन । 

पछ्याइरहेको विषयवस्तुलाई नै कथामा उनिरहेकी छन्, ठकुरीले । उनी भन्छिन्, ‘म कल्पनामा फिक्सन राइटर हुन सक्दिनँ, आफूले भोगेका र भेटेका मान्छेलाई नै पात्र बनाएर कथाहरूको डिजाइन गर्छु ।’

उनी आफूले महशुस गर्न सकेका कुरा मात्रै गर्छिन् । खुशी भएर, रोएर, गीत गाएर र नाँचेर हिँडेको भेट्छिन् । र, कार्यक्रमहरूमा महिलाको प्रतिनिधित्व भएकामा गर्व महशुस पनि गर्छिन् । 

बजार हुन्छ कि हुँदैन दिमागमा ?

‘बजार या पाठक लेखकको दिमागमा हुन्छ कि हुँदैन ? आख्यान डिजाइन गर्दा पाठकले बजारको अवस्था सोच्ने गर्छन् त ?’ मध्यस्थकर्ता थापा अमरलाई प्रश्न गर्छिन् । 

‘स्वान्त सुखायका लागि लेख्छु भन्नेहरूले पुस्तक छाप्न आवश्यक देख्दैनन्,’ न्यौपाने भन्छन्, ‘पुस्तक छाप्ने हो भने पाठकसँग टच हुन्छ । बजार भनेको पाठक हो र न्यायालय पाठकको हृदय हुन्छ । त्यो हृदयले कसरी लिन्छ भन्ने सोचेर लेख्छु ।’

विश्व साहित्यमा नयाँ–नयाँ लेखन शैली र प्रस्तुती आइरहन्छन् । नयाँ डिजाइन गर्ने लेखकलाई पुरस्कृत गरिएका उदाहरण पनि छन् । तर, नेपालको सवालमा ठ्याक्कै उल्टो छ । ‘लेखेर पुरस्कार पाउने हो,’ न्यौपाने भन्छन्, ‘पहिलो पुरस्कार पाठक हुन् ।’

आख्यान लेख्ने बीपी कोइरालाले कहिल्यै पुरस्कार पाएनन् । तर, उनका कृति आजसम्म पनि उस्तै बलियो देख्छन्, न्यौपाने । 

नगरकोटीलाई भने पुरस्कारप्रति कुनै मोह छैन रे । उनी पात्रको नाममा डिजाइन गर्न रुचाउँछन् । ‘डार्क’तिर जान मन पराउँछन् । ‘ग्रे कलर’ खोज्ने उनी भन्छन््, ‘मलाई रियल क्यारेक्टरले अझैसम्म छोएको छैन ।’ 

साहित्य लेखनमा महिलाको जमात विस्तारै बढेको छ । नगरकोटी ‘कठपुतला’को तारिफ गर्छन् । र, ‘कल्ली’ र ‘तोदा’ मन पराएको जिकिर गर्छन् । उनी पात्रको नामकरण गरेर आख्यानको ‘क्राफ्ट’ बनाएकामा प्रशंसा गर्छन् । 

साहित्यको बहसमा महिलाको नाम नलिने बहसप्रति मध्यस्थकर्ता थापा असन्तुष्टि जनाउँछिन् । महिलाहरूको लेखनलाई ‘गनगन’ नभनिदिऊन् भन्ने अनुरोध गर्दै ठकुरीलाई सोध्छिन्, ‘गनगन नै हो त महिलाहरूको लेखन ?’

थापाको प्रश्नलाई ठकुरी नकार्छिन् । महिला र पुरुषको लेखनमा खासै अन्तर देख्दिनन्, उनी । १÷२ जना पुरुषले दिएको सास्ती सम्झिन्छिन् र तिनै पुरुषहरूको सहयोगले लेखनमा उकासिएको पनि ठह¥याउँछिन् । 

ठकुरीले ‘बिग्रेको केटी’को उपनामसमेत पाएकी रहिछन् । महिलाहरू पनि लेखनमा सशक्त देखिँदै आएको उनको ठहर छ ।

अन्तर्वार्तामा भेटिएको पीपलबोट

न्युरोड पीपलबोट साहित्यकारहरूको जमघट हुने एउटा जक्सन । ऐतिहासिक पीपलबोट सम्झिन्छिन्, थापा । पीपलबोटमा बसेर साहित्यका कुराहरू चल्छन् । र, त्यहाँ विश्व साहित्यका कुराहरू सेयर गरिन्छ । 

‘पुरुषहरू मात्रै भेटिने त्यस किसिमका अड्डामा महिला हुन्छन् कि हुँदैनन् ?’ थापाको प्रश्न । 

‘पीपलबोट साहित्यकार महिलाहरूको घर–घरमा उम्रेको छ । घरमा जमघट भएर पनि साहित्यिक बहस गरेका छौं,’ ठकुरीको जवाफ । 

‘नेपाली साहित्य राणाकाल र शाहीकालमा नयाँ डिजाइन हुन सक्यो कि सकेन ?’ थापाको प्रश्नमा अमर भन्छन्, ‘लक्ष्मीप्रसाद देवकोटा, शंकर कोइराला, मोहन कोइराला, डाइमनसमशेरका नाम लिँदै विश्व साहित्यमा नेपाली साहित्य पुगेको छ ।’ 

सांकेतिक भाषामा लेखिएका ‘मकैको खेती’जस्ता कृति पनि आएको देख्छन्, न्यौपाने । भन्छन्, ‘साहित्य संस्कृतिसँग जोडिएको हुन्छ ।’ 

नगरकोटी थप्छन्, ‘लेखकहरूसँग धेरै लिबर्टी हुन्छ । अनेक कला, संस्कृतिलाई समेट्न सकिन्छ । र, विविधता ल्याउने नै डिजाइनले हो ।’ साहित्यमा अनेक भाषालाई जोडेर नयाँ शब्दहरू जन्माउँदै डिजाइन गर्न सकिने उनको ठम्याइ छ । 

उनका अनुसार ‘मेटाफर’को प्रयोगबाट पनि डिजाइन गरिँदैछ । 

‘शब्दमा कतिसम्म खेल्ने ?’ थापाको प्रश्नमा ठकुरीको जवाफ, ‘महिलाहरू सांकेतिक वा विम्बका रूपमा ल्याइरहेका छन् ।’

थापाको अर्को प्रश्न थियो, ‘म्याजिक लेखन किन आइरहेको छैन नेपालमा ?’ 

अमरको जवाफ थियो, ‘सुनकाण्डदेखि दरबार हत्याकाण्डसम्मलाई म्याजिक लेखनबाट हामीले साहित्यमा भित्र्याउन सक्छौं कि ।’ र, म्याजिक लेखनमा पनि जीवन जोडिएको देख्छन्, उनी । 

न्यौपानेको तर्क थियो, ‘जीवनले बुझ्ने तरिका सिकाउँछ । समय फेरिँदै जान्छ । अध्ययनले मान्छेलाई बुझाउन सक्छ । समाजभन्दा बाहिर गएर लेखकले कुनै पनि साहित्य सिर्जना गर्न सक्दैन ।’ 

नगरकोटीले आत्महत्यासम्म गर्न सक्ने डिजाइन गरेको आरोप लगाएका थिए, कुनै समीक्षकले । के आत्महत्या गर्नै प्रेरणा दिने साहित्यको डिजाइन गरेका छन् त नगरकोटीले ? 

उनीसँग यस प्रश्नको जवाफ छैन । ‘लेखक नै समीक्षक र समीक्षक नै लेखक भएको देशमा समीक्षक त्यस किसिमको समीक्षालाई समीक्षा मान्दैनन्,’ उनी भन्छन्, ‘पूर्णकालीन समीक्षक हुँदा मात्र सही समीक्षा आउन सक्छ ।’

काठमाडौं भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा मंगलबार बहस चलिरहेको थियो, आख्यानमा डिजाइन । त्यसको मध्यस्थकर्ता थिइन्, थापा । उनका जिज्ञासा शान्त बनाउँदै थिए, ठकुरी, नगरकोटी र न्यौपाने ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।