काठमाडौं- मंगलबार आयोजना भएका धेरै औपचारिक/अनौपचारिक कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी ओलीले राजनीतिक कुरा गरेनन्। उनी सहयोगीहरूसँग सोध्दै थिए, 'यो रुख के हो, यो फल केको ।'
सधैंजसो राजनीतिक भाषणमा समय बिताउने ओलीले मंगलबार भने वातावरण, फलफूल र इकोसिस्टमका कुरा गरे।
प्रधानमन्त्री कार्यालयको बगैंचामा आयोजित विश्व वातावरण दिवसको कार्यक्रममा ओलीको प्रश्न थियो, 'महँगोमा घडेरी किनेर किन सल्ला रोप्नु हुन्छ?' त्यसको जवाफ पनि उनी आफैंले दिए, 'सल्लाको साटो फलफूल रोप्नूस्। आफूले खानु भएन भने केटाकेटीले खान्छन् । त्यो पनि नभए चराले खान्छन्।'
वातावरणीय सन्तुलनको कोणबाट नेपाल संसारकै अब्बल मुलुक भएको उनको दाबी थियो। वृक्षरोपण गर्दा इकोसिस्टमलाई मनन गर्नुपर्ने उनको तर्क थियो।
नेपालमा धमिराले नखाने रुख भएको प्रधानमन्त्रीको दाबी थियो। 'धमिरा र किरा, फट्यांग्राले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुँदैनन् तर ती सबै नेपाली हुन्,' प्रधानमन्त्रीले भने ।
कतिपय मुलुकमा जंगल नभएको र मरुभूमि मात्र भएको ओलीले उल्लेख गरे। र, भने, 'हामी मरुभूमि भएका देशमा सिलिन्डरमा भरेर अक्सिजन पठाउँदैनौं तर उत्पादन गरेर पठाइदिन्छौं ।'
प्रधानमन्त्रीले 'एक नेपाली एक फलफूल' अभियान मंगलबारदेखि शुरु भएको घोषणा गरे। अलैंची र एभोकाडोको बिरुवा रोपेर अभियानको शुरुवात गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४