काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले २१ वैशाख दिउँसो दुई बजे केन्द्रीय कार्यसमिति बैठक बोलाए । तर, साढे पाँच बजे मात्र शुरु भयो र तीन मिनटमै सकियो ।
युवा नेताद्वय धनराज गुरुङ र प्रदीप पौडेल खाजा खान केन्द्रीय कार्यालयको 'क्यान्टिन'मा छिरे । दौडिँदै पुग्दा बैठक सकिइसकेको थियो । उपस्थित भएर पनि माइन्युटमा हस्ताक्षर नगरेका पूर्वउपसभापति प्रकाशमान सिंह सभापति देउवाको प्रस्ताव हेरेर मात्र सहमति/असहमति जनाउने योजनामा थिए । तर, उनलाई माइन्युट हेर्नसमेत दिइएन ।
सोही बैठकको माइन्युटमा 'नोट अफ डिसेन्ट' लेख्ने योजनामा थिए, केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्य । उनले पनि माइन्युट नै देख्न पाएनन् ।
त्यस बैठकमा सभापति देउवाले २६ महिनापछि तीन केन्द्रीय सदस्यलाई पदाधिकारीमा नियुक्तिका लागि नाम प्रस्तुत गर्दै थिए । जबकि, पार्टी विधानबमोजिम पार्टीका हरेक निकायलाई महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पूर्णता दिइसक्नुपर्ने थियो ।
मुलुकको पुरानो र ठूलो लोकतान्त्रिक दल दाबी गर्दै आएका छन्, कांग्रेस नेताहरूले । तर, पार्टी जीवनमा आन्तरिक लोकतन्त्रको अभ्यास धेरै कमजोर रहेको प्रष्ट्याउँछन्, माथिका घटनाले । यस्तै परम्परागत प्रचलन र पद्धतिका कारण आन्तरिक लोकतन्त्रको वकालत गर्ने केन्द्रीय सदस्यहरू सधैं निराश बन्ने गर्छन्, कांग्रेसमा ।
कांग्रेसको संस्कार कस्तो छ भने उपस्थित केन्द्रीय सदस्यहरू आफ्ना विरोधी परे माथिका घटनाजस्तै पाखा लगाइन्छ । र, अनुपस्थितहरूलाई बोलाएर हस्ताक्षर गर्न लगाइन्छ ।
अहिले सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्दै गर्दा भातृ संगठनहरू विधानबमोजिम अधिवेशनलगायत माग गर्दै धर्ना र नाराबाजी गरिरहेका हुन्छन् । उनीहरूको माग सहजै सुनुवाइ हुँदैन ।
संघीय ढाँचाको माग
त्यसो त, तीन वटा तहको निर्वाचनमा इतिहासमै कमजोर प्रदर्शन गरेको कांग्रेस सुधार्न अपनाउनुपर्ने उपायसहित सात जना युवा नेताले सुझाव पनि नदिएका होइनन् । तीमध्ये अधिकांशले मुलुक संघीयतामा गइसक्दा पनि कांग्रेस पुरानै ढर्रामा चलिरहेको औंल्याएका छन् ।
सांगठनिक संरचनालाई संघीय ढाँचामा लैजानुपर्ने उनीहरूको माग छ । उनीहरूको सुझावमा आन्तरिक लोकतन्त्रको सुदृढीकरणको बुँदा पनि छ ।
कार्यकर्तालाई प्रशिक्षण र परिचालन तथा योग्यता र क्षमताका आधारमा मूल्यांकन पद्धति निर्माणमा उनीहरूको जोड छ ।
'वंश वा उमेरका कारण होइन, योग्यता र क्षमता भएका सक्षम व्यक्तिहरूलाई पार्टी नेतृत्वमा पुर्याउनुपर्छ ।'
गगन थापाको मार्गचित्र 'समुन्नती'
केन्द्रीय सदस्य गगन थापा कांग्रेसको लक्ष्य समृद्धि होइन, समुन्नती हुनपर्ने बताउँछन् । भन्छन्, 'कम्युनिस्टहरूले भनेको समृद्धिभित्र केवल आर्थिक र भौतिक विकास मात्र समेटिन्छन् । समुन्नतीले व्यक्तिको आत्मनिर्णयको अधिकार, स्वतन्त्रता र मानवअधिकारसहितको आर्थिक विकासलाई समेट्छ ।'
इतिहासप्रति गौरव गर्दै सुन्दर भविष्यको परिकल्पना गर्न सक्ने कांग्रेस बनाउन विचार, योजना र क्षमता बोकेको योग्य नेताबाट मात्र सम्भव हुने औंल्याउँछन्, उनी । अहिलेको नेतृत्वबाट कांग्रेसलाई मुलुक हाँक्ने जनताको आशा र भरोसाको लोकप्रिय पार्टी बनाउन नसकिने उनको निष्कर्ष छ ।
पार्टीबाट तीन वटै तहमा जितेका जनप्रतिनिधिका क्रियाकलाप र भूमिका प्रभावकारी बनाउनुपर्ने उनको तर्क छ ।
सातै प्रदेश र सात सय ५३ स्थानीय तहमा पार्टीका संरचना निर्माणमा उनको जोड छ । र, पुरानो संरचनामा खुम्चिएर पार्टी अगाडि नबढ्ने थापाको निक्र्योल छ ।
'२००६ सालमा राजनीतिक क्रान्तिका लागि बन्दुक बोकेको कोही नेपाली कांग्रेस भएको थियो । तर, अब पनि किन कांग्रेस हुने ?' थापाको प्रश्न छ । व्यक्तिगत लाभका लागि कांग्रेस सदस्य बन्ने प्रवृत्ति रोक्ने र सदस्यता वितरणबाटै शुद्धीकरणमा लाग्नुपर्ने उनको तर्क छ ।
शर्मा भन्छन्- चुनावमा हार, एजेन्डामा जित
कांग्रेसको आगामी यात्रा असारमा हुने जिल्ला सभापतिहरूको भेला र भदौमा हुने महासमिति बैठकले तय गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । पार्टीका सबै निकाय र तहलाई पूर्णता, पार्टी र भातृ संस्थाको परिचालन र प्रशिक्षण तथा संगठनात्मक संरचनालाई संघीय ढाँचा अनुरूप बनाइने शर्माको भनाइ छ ।
'कांग्रेसले भावी पुस्ताको चिन्ता गर्दैछ तथापि हाम्रा प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचनको चिन्ता गर्नुनभएको किन नहोस्,' शर्मा भन्छन् ।
तीन वटा तहको निर्वाचनमा कांग्रेसको कमजोर प्रदर्शनका तीन वटै कारण देख्छन्, शर्मा । कमजोर आन्तरिक तयारी, एमाले-माओवादी गठबन्धन र भारतीय नाकाबन्दीबारे जनतामाझ स्पष्ट दृष्टिकोण लैजान नसक्नु ।
'तर, गणितमा हारे पनि हाम्रै एजेन्डाले जितिरहेका छन्,' शर्मा भन्छन्, 'संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपथ लिएका मान्छेहरूले कांग्रेसले विश्वास गरेको संसदीय व्यवस्थाको कमान्ड सम्हालेका छन् ।'
चुनाव कम्युनिस्टहरूले जिते पनि सरकार बनाउँदा कांग्रेसको विचारले विजय हासिल गरेको उनको दाबी छ । शर्मा भन्छन्, 'कांग्रेसले अवलम्बन गरेको खुल्ला बजार अर्थतन्त्रलाई नै उहाँहरूले स्वीकार्नुभएको छ ।'
गुरुराजको सुझाव- कार्यशैलीमा परिवर्तन
केन्द्रीय सदस्य गुरुराज घिमिरे पार्टीको आन्तरिक सुधार र व्यवस्थापन गर्दै कार्यकर्ताको मूल्यांकन गर्ने परिपाटी बसाल्नुपर्ने औंल्याउँछन् ।
'सांगठनिक गतिविधि न्यून रहेकाले त्यसलाई बढाउँदै न्याय प्रणाली बनाउनुपर्छ,' घिमिरे भन्छन्, 'कांग्रेसका शीर्ष नेता, पदाधिकारी र नेताहरू आत्मकेन्द्रित छन् । उनीहरू व्यक्तिगत रूपमा क्रियाशील भए पनि संस्थागत सोचाइ र क्रियाशीलता छैन ।'
नेताहरूको कार्यशैली परिवर्तन, कार्यकर्ताको मूल्यांकन र न्याय पद्धतिको विकास, नीति र रणनीति निर्माणमा कांग्रेसको नेतृत्व कमजोर भएको उनको ठम्याइ छ । विपक्षीको चाल बुझेर आफूलाई परिचालित गर्न नेतृत्वलाई सक्षम तुल्याउँदै भातृ संगठनलाई व्यवस्थित गरी परिचालित गर्नुपर्ने उनको सुझाव छ ।
उनी भन्छन्, 'कांग्रेसको वैदेशिक सम्बन्ध कमजोर छ । नेताहरूको व्यक्तिगत सम्बन्ध होला तर त्यो संस्थागत बन्न सकेको छैन । र, दुवै छिमेकी र मित्र राष्ट्रहरूको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्छ ।'
'नेतृत्व युवाको हातमा आउनुपर्छ भन्ने छैन तर आन्तरिक लोकतन्त्र सुदृढ बनाइनुपर्छ ।'
थानीको सल्लाह- अहंकार त्याग
केन्द्रीय सदस्य हृदयराम थानी अन्तरघात र अविश्वास मेट्दै संघीय संरचनाबमोजिम संगठनको पुनर्संरचनामा जानुपर्ने औंल्याउँछन् । भन्छन्, 'सन्तनेता कृष्णप्रसाद भट्टराईले भनेझैं पार्टी र जनताप्रति इमानदारितापूर्वक गाउँ र ठाउँमा निरन्तर क्रियाशील भए कांग्रेसको भविष्य उज्वल छ ।'
प्रजातन्त्र आएको अढाइ दशकमा कसैले २६ लाख पनि कमाउन नसक्ने तर कसैले २६ अर्ब कमाउने भएपछि पार्टीभित्र वितृष्णा आएको उनको भनाइ छ ।
समाजसेवाका नाममा देशलाई चुस्नेहरूलाई पार्टीबाट बिदा गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, 'काठमाडौंको घर र डेरामा सीमित रहने नेता र कार्यकर्ताको संस्कारलाई सच्याउँदै जनताको घरदैलोमा पुग्ने गरी निर्देशन दिनुपर्छ । नेताको फेरो मारिरहने जमातलाई जनताको वरिपरि घुम्न पठाउनुपर्छ ।'
'म नै पार्टी हुँ' भन्ने अहंकारी सोच नत्यागेसम्म कांग्रेसमा सुधार नआउने उनी बताउँछन् ।
विश्वकर्माको रोडम्याप 'बहुपदीय पदाधिकारी'
केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्मा हालको केन्द्रीय समितिको आकार 'क्लस्टर'सहित बढाएर बहुपदीय पदाधिकारीको संरचनामा लैजानुपर्ने बताउँछन् ।
'कम्युनिस्टहरूको केन्द्रीय कमिटीमा साढे चार सय जना अटाउँदा ००६ सालदेखिको इतिहास बोकेको कांग्रेसको अझै ८५ सदस्यीय मात्र छ,' उनी भन्छन्, 'कम्युनिस्टको साम्यवादी समाजवाद र कांग्रेसको प्रजातान्त्रिक समाजवादबीचको फरक जनतालाई बुझाउन सक्नुपर्छ ।'
कम्युनिस्टहरूले गरिब र विपन्न जनतालाई सपना बाँड्दै पुँजीपतिहरूको संरक्षक बनेर संगठन गरेको उनको आरोप छ । 'यही विषय जनतालाई बुझाउनुछ,' उनी भन्छन् ।
आगामी दिनमा कांग्रेसलाई पनि 'मास बेस्ड'बाट 'क्याडर बेस्ड'मै लैजानुपर्नेमा उनको जोड छ ।
प्रदीप पौडेलको दृष्टि- सिद्धान्तको पुनव्र्याख्या
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल मार्गचित्र दिन सक्ने व्यक्तिको हातमा पार्टीको नेतृत्व जानुपर्ने देख्छन् । भन्छन्, 'युवाकै हातमा आउनुपर्छ भन्ने छैन तर आन्तरिक लोकतन्त्र सुदृढ बनाइनुपर्छ ।'
बीपीको समाजवादी आर्थिक नीतिको कुरा गर्दा वस्तु वा सेवाको उत्पादन र वितरण प्रणालीबारे स्पष्ट हुनुपर्ने उनको भनाइ छ । त्यसलाई समय सापेक्ष बनाउँदै पुनर्परिभाषित गर्नुपर्ने उनी बताउँछन् ।
पार्टीका प्राथमिकता बदल्दै लोकतान्त्रिक समाजवादको पुनव्र्याख्या जरुरी भएको उनी बताउँछन् । भन्छन्, 'कांग्रेसका नीति र कार्यदिशा जनतामाझ स्वीकार्य भयो तर संगठन कमजोर भयो । त्यसैले, संगठन निर्माण र परिचालनलाई बढी प्रभावकारी बनाउनुपर्छ ।'
धनराज भन्छन्- विरासतको राजनीतिको अन्त्य
केन्द्रीय सदस्य धनराज गुरुङ नेताहरूकै प्रवृत्ति, संस्कार, कार्यशैली र दृष्टिकोणमै परिवर्तन आउनुपर्ने बताउँछन् । 'नेतादेखि कार्यकर्तासम्म गुट र उपगुटभन्दा माथि उठ्नु पर्छ,' उनी भन्छन् ।
नेता आफैं सदाचारी भए मात्र कार्यकर्ताले अनुसरण गर्ने उनको भनाइ छ । अब कांग्रेसमा विरासतको राजनीति नचल्ने गुरुङ बताउँछन् । भन्छन्, 'पार्टीलाई विधि, विधानबमोजिम सञ्चालन गर्न र नेतृत्वले संगठनभित्र निरंकुश नबनी योगदान र क्षमताका आधारमा पार्टी अगाडि बढ्छ ।'
'अब वंश प्रणालि चल्दैन'
महिला संघकी पूर्वअध्यक्ष तथा सांसद डा. डिला संग्रौला केन्द्रदेखि गाउँसम्म नेता/कार्यकर्ताबीच एकताको खाँचो औंल्याउँछिन् ।
प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई रचनात्मक सहयोग गर्दै समृद्धि र विकासको एजेन्डालाई सफल पार्नुपर्ने उनको भनाइ छ । विधानबमोजिम संगठनात्मक संरचना निर्माण गरी कार्यान्वयनमा लैजानुपर्ने र कार्यकर्ताको मनोबल उकास्ने कार्यक्रम र योजना ल्याउनुपर्ने डा. संग्रौला बताउँछिन् ।
'कार्यकर्ता र नेताहरूले आफ्नो आचरणमा सकारात्मक परिवर्तन ल्याई गुटको अन्त्य गर्नुपर्छ,' उनी भन्छिन्, 'अब वंश वा उमेरका कारण होइन, योग्यता र क्षमता भएका सक्षम व्यक्तिहरूलाई पार्टी नेतृत्वमा पुर्याउनुपर्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४