मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ओस्कर जितेर इतिहास रच्ने एसियाली मूलकी पहिलो महिला निर्देशकको कथा

चीनमा जन्मिएकी, बेलायतमा पढेकी र अमेरिकामा बस्दै आएकी चाओले निर्देशन गरेको ‘नोम्याडल्यान्ड’ तेस्रो फिचर फिल्म हो। यसले ओस्करमा उत्कृष्ट फिल्मको अवार्डसमेत जित्न सफल भयो।
 |  सोमबार, वैशाख १३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

क्लोई चाओले फिल्म ‘नोम्याडल्यान्ड’ बाट ओस्करमा उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छिन्। योसँगै ओस्करको ९३ वर्षे इतिहासमा उनी अवार्ड जित्ने दोस्रो महिला निर्देशक बनेकी छन्। तर उनी अस्कर जित्ने पहिलो एसियाली महिला हुन्। 

triton college

चीनमा जन्मिएकी, बेलायतमा पढेकी र अमेरिकामा बस्दै आएकी चाओले निर्देशन गरेको ‘नोम्याडल्यान्ड’ तेस्रो फिचर फिल्म हो। यसले ओस्करमा उत्कृष्ट फिल्मको अवार्डसमेत जित्न सफल भयो। यही फिल्मबाट अभिनेत्री फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन्।

ओस्करमा ११ वर्षपछि महिला निर्देशकको फिल्मले अवार्ड उचालेको हो। पात्र केन्द्रित कथा र गैरव्यावसायिक कलाकार चाओका फिल्मका विशेषता हुन्। उनकै निर्देशनमा अर्को सुपरहिरो फिल्म ‘इटर्नल्स’ पनि रिलिजको तयारीमा छ। ‘हर्टलकर’ फिल्मबाट निर्देशकको अवार्ड उचाल्ने पहिलो महिला हुन् क्याथरिन बिगेलो।

को हुन् चाओ?

बेइजिङमा जन्मिएकी चाओका पिता सफल स्टिल व्यवसायी थिए भने सौतेनी आमा साङ डान्डन चीनकी प्रसिद्ध हास्य अभिनेत्री। 

Metro Mart
vianet

उत्कृष्ट निर्देशकको अवार्ड उचालेपछि मन्तव्य दिने क्रममा चाओले भनेकी छन्, ‘अचेल सबै चिज कठिन हुँदै जान थालेपछि म कसरी चलिरहन्छु भनेर खुब सोच्छु। मलाई लाग्छ, बाल्यकालमा मैले धेरै कुरा सिक्न पाएँ।’

उनले चीनमा हुर्किरहेका बेला बुबासँग खुब खेल खेल्ने गरेको स्मरण गरिन्। ‘हामी चिनियाँ कविता कण्ठ गथ्र्यौं र सँगै वाचन गथ्र्यौं,’ नोस्टाल्जिक हुँदै चाओले भनेकी छन्, ‘म एउटा कविता अझै सम्झन्छु जसको पहिलो वाक्यमा भनिएको थियो– ‘मान्छेहरु जन्मिएका बेला साँच्चै असल हुन्छन्। यी शब्दले बाल्यकालमा मलाई निकै प्रभाव पारेको थियो। र, आज पनि यसमा म उत्तिकै विश्वास गर्छु।’ 

यद्यपि उनलाई कहिलेकाहीं यस विपरीतचाहिँ सही हो भन्ने पनि लाग्छ। उनले भनिन्, ‘म जहाँ जहाँ पुगें, अधिकांश मान्छेमा असलपन नै भेटें। र, यो अवार्ड तिनै मान्छेप्रति समर्पित गर्न चाहन्छु जोसँग जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि आफू र एकअर्काप्रति असल व्यवहार गर्ने विश्वास र साहस छ। मलाई यसैगरी प्रेरित गरिरहनू।’

चिनियाँ प्रशंसा र विवाद

चाओको आफ्नो जन्मभूमिसँग पेचिलो सम्बन्ध थियो। उनले सन् २०१३ मा एक अन्तरवार्तामा भनेकी थिइन्, ‘जति बेला म हुर्कंदै थिएँ त्यति बेला जताततै झुट मात्रै थियो।’ उनी सानी हुँदा पाएका थुप्रै सूचना सही थिएनन्। उनले भनिन्, ‘त्यसैले म मेरो परिवार र पृष्ठभूमिप्रति निकै विद्रोही भएँ।’

त्यसपछि चिनियाँ अधिकारीहरुले सोसियल मिडियामार्फत चीनमा ‘नोम्याडल्यान्ड’ को रिलिजलाई लिएर लगातार प्रश्न उठाएका थिए। तर, ओस्कारमा उनको विजयपछि चिनियाँहरू यतिखेर उनको प्रशंसा गरिरहेका छन्। चीनको माइक्रोब्लगिङ प्लटेफर्म वाइबोमा उनलाई ‘द लाइट अफ चाइना’ भनेर धेरैले प्रशंसा गरिरहेका छन्। 

एक व्यक्तिले उनको मन्तव्यप्रति कमेन्ट गरेका छन्, ‘यसको गहिरो राजनीतिक अर्थ छ। कोही पनि चलाख व्यक्तिले चिनियाँ बजार त्याग्ने कुरा सोच्न सक्दैन।’

अन्य प्रयोगकर्ताले वाइबामा उनको नाम अर्थात् ओस्कर टप टे«न्डिङको खोजी सूचीमा नपर्नुलाई ‘अनौठो’ भनेर टिप्पणीसमेत गरेका छन्।  

चीनमा ओस्करका रिपोर्ट खासै प्रसारण भएनन्। चाओसँग जोडिएका विवाद नै यसको कारण मानिएको छ। 

किशोर अवस्थाको आवेग

९० को दशकतिर १४ वर्षको उमेरमा चाओ चीनबाट अध्ययनका लागि बेलायतको ब्राइटन कलेज पुगेकी थिइन्। उनी अंग्रेजी भाषमा कमजोर थिइन्। ‘सबैभन्दा बढी म के सम्झन्छु भने उनी चुनौतीलाई खुब प्रेम गर्थिन्’, ब्राइटन कलेजमा चाओलाई पढाएकी प्रोफेसर एलिसन विदर्सले बीबीसीसँग भनेकी छिन्, ‘चाओ फरक देश, फरक संस्कृतिबाट यहाँ आइपुगेकी थिइन् तर सधैं यो कसरी यस्तो भनेर प्रश्न गरिरहन्थिन्। खुब जिज्ञासु थिइन्। अंग्रेजी पनि उनले निकै चाँडो सिकिन्।’

चाओ स्वयम् ब्राइटनको समुद्री तटमा बिताएका समयलाई भावनात्मक रूपमा सम्झिन्छिन्। ‘किशोरकालमा आवेग धेरै थिए तर केही वर्ष साँच्चै रचनात्मक पनि थिए,’ उनले आई पत्रिकासँग भनेकी छन्।

ब्राइटनपपछि चाओ अमेरिका गइन्। त्यहाँ उनले राजनीतिशास्त्र पढ्न थालिन्।  सन् २०१० मा न्युयोर्कमा पुगेर फिल्म पढिन्। यो चाओको करिअरमा महत्त्वपूर्ण समय थियो। त्यसपछि उनले आफ्नो पहिलो फिचर फिल्म ‘सङ्स माइ ब्रदर्स टर्ट मी’ मा काम थालिन्। धिमा गतिमा जलिरहेको एउटा पुरानो कथा जसको सुटिङ साउथ डकोटाको नेटिभ अमेरिकन रिर्जभेसनमा ‘नन–प्रोफेसनल’ कलाकारलाई लिएर गरिएको थियो।
 
न्युयोर्क युनिभर्सिटीमा रहँदा चाओको भेट जोसुआ जेम्स रिर्चड्ससँग भयो। त्यसपछि आफ्ना तीनवटै फिल्ममा चाओले रिर्चड्सलाई सिनेमाटोग्राफर बनाइन्। रिचर्ड्स पनि ‘नोम्याडल्यान्ड’ बाटै उत्कृष्ट सिनेमाटोग्राफर विधामा नोमिनेसनमा परेका थिए। 

पहिलो फिचरमा काम गरिरहेकै बखत चाओको भेट रोडियो राइडरसँग भयो। त्यसपछि उनले दोस्रो फिल्म बनाइन्, ‘द राइडर’। ब्राडीको वास्तविक जीवनमा आधारित यो फिल्म सन् २०१७ मा रिलिज भएको थियो। 

‘आफूलाई सधैं आउटसाइडर महसुस गरें’

‘द राइडर’ लाई यूएस नेसनल सोसाइटी अफ फ्रिल्म क्रिटिक्स र बीबीसी रेडियोको फोर्थ फिल्म प्रोगामले उत्कृष्ट फिल्म घोषणा गरेको थियो। यो फिल्मपछि चाओ र रिचर्ड्सको हलमार्क नै के बन्यो भने दुवै नन–एक्टरलाई अभिनय गराउँदै ‘वाइड ओपन स्पेस’ सुट गरेर कथा भन्न रुचाउँछन्।  

चाओले द टेलिग्राफसँगको कुराकानीमा आफूलाई आकर्षित गरेका कथाहरुबारे बताएकी थिइन्। ‘म मेरो जीवनकालमा जहाँ पनि पुगें, सधैं आफूलाई आउटसाइडर (बाहिरिया) नै महसुस गरें’, उनले भनेकी थिइन्, ‘त्यसैले म सधैं ती मान्छेहरुप्रति आकर्षित भएँ जो सधैं परिधिमा रहे, जसले कहिल्यै मूलधारको जीवनशैली बाँचेनन्।’

चाओलाई सधैं त्यस्ता मान्छेको कथाले लोभ्यायो जसको घर नै भ्यान बन्यो, जसलाई सडकमै बाँच्न पनि कहिल्यै असहज भएन। ‘नोम्याडल्यान्ड’ त्यस्तै एउटा फिल्म हो जहाँ अमेरिकाको आर्थिक मन्दीका कारण सर्वस्व गुमाएकी ६० वर्षीया महिलाको कथा छ। ती महिलाले कसरी एउटा गाडीमै आफ्नो जीवन गुजार्छिन् भन्ने कथा फिल्ममा देखाइएको छ। 

विभिन्न संघर्ष र विवादलाई छिचोल्दै अघि बढेकी चाओ हलिउडमा अहिले रुचाइएकी फिल्ममेकरमा गनिन्छिन्। उनको फिल्म यात्राले आज ब्लकबस्टरको दुनियाँमा पनि प्रवेश गरिसकेको छ। 

उनको आगामी प्रतीक्षित सुपरहिरो फिल्म ‘इटर्नल्स’ मा एन्जेलिना जोली, रिचार्ड म्याड्डेन, सलमा हायेक लगायत कलाकारको अभिनय छ जहाँ उनी आफ्नो विशिष्ट दर्शन र आवाज प्रस्तुत गर्दैछिन्।

चाओ लामो समयदेखि मार्भल सिनेम्याटिक युनिभर्सको फ्यान थिइन्। ‘मलाई मार्भलको मुभी गर्ने मन थियो, नभन्दै मेरो हातमा मार्भलको सही प्रोजेक्ट हात पर्‍यो,’ उनले भनेकी छन्।

इटर्नल्स नोभेम्बरमा रिलिज हुने तयारीमा छ। त्यसपछि चाओ नयाँ प्रोजेक्टको तयारीमा छन्। चाओले भनेकी छिन्, ‘फिल्ममार्फत एउटा धनी र विश्वसनीय संसार निर्माण गर्न मलाई खुब मनपर्छ। चाहे त्यो रोडियो राइडर्सको संसार होस् या कमिक बुकका हिरोहरुको।’

(यो सामग्री बीबीसीकाेसहयोगमा अनिल यादवले तयार पारेका हुन्)
 

प्रकाशित: Apr 26, 2021| 15:05 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्