काठमाडौं- प्रहरीका पूर्व उच्च अधिकारीहरुले साढे ३३ किलो सुन काण्डको अनुसन्धान पूर्वाग्रहीपूर्ण भएको अभिव्यक्ति सार्वजनिक भएपछि सोमबार गृहमन्त्रालयले विज्ञप्ती जारी गर्दै अनुसन्धानका विषयमा भ्रम नफैलाउन आग्रह गरेको छ ।
गृहले सुनकाण्डमा मुख बन्द गर्न प्रहरीका वाहलवाला र पूर्व हाकिमलार्इ समेत घुमाउरो रुपमा सचेत गराएको छ। आइतबार तीनजना पूर्व उच्च प्रहरी अधिकृतहरु एआइजी राजेन्द्र सिंह भण्डारी, डीआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको दाबी गर्दै छुट्टै आयोग गठन गरेर छानबिन हुनुपर्ने माग गरेका थिए ।
गृह मन्त्रालयले तीनैजना पूर्व प्रहरी अधिकृतहरुको अभिव्यक्तिप्रति लक्षित गर्दै विज्ञप्तिमा निकालेको स्रोतले बताएको छ। 'केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति र तथ्यहिन, भ्रामक विचारले अनुसन्धानलार्इ असर पर्ने भएकोले सरकार, गृहमन्त्रालय सचेत छ। अनुसन्धान टोलीले नेपाल सरकारको अधिकतम क्षमता, श्रोत-साधन परिचालन गरी तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको उल्लेख गर्दै गृहले अदालतमा विचाराधिन रहेको संवेदनशिल विषयमा भ्रामक र तथ्यहिन धारणाहरु व्यक्त नगर्नसमेत आग्रह गरेको छ ।
गृहमन्त्रालयका सहसचिव ईश्वर राज पाैडेलको संयोजकत्वमा २०७४ चैत्र २० उच्चस्तरिय छानविन समिति गठन गरी अनुसन्धान अघि बढाइएको थियो । जसअर्न्तगत प्रहरीका उच्च अधिकारी तथा सुन काण्डका मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेतीलार्इ पक्राउ गरि अनुसन्धान अघि बढाएको छ।
पूर्व एआजी भण्डारीले निष्ठावान प्रहरी कर्मचारीलाई फसाउने काम भएको भन्दै त्यसले छानबिनमा गम्भीर त्रुटी भएको दाबी गरेका थिए । उनले एसएसपी लोहनीलाई हतारमा जेल हालिएको भन्दै पूर्व डिआइजी ठकुरीले अनुसन्धान गर्ने प्रहरीलाई नै कारबाही गर्दा प्रहरी संगठनमा दीर्घकालिन असर पर्ने बताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४