सोमबार, असार २९, २०८३

मह जोडीले हँसाए अनि रुवाए पनि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– ‘मेरो दुःखले हँसाए पनि, मेरो हाँसोले कसैलाई पीडा नपुगोस् ।’ चार्ली च्याप्लिनले ‘बायोग्राफी’मा लेखेको यो लाइनले जोकोहीलाई छुन्छ । 

साँच्चै, मान्छेलाई हँसाउन साह्रै गाह्रो काम हो । र, कसैलाई ‘डोमिनेट’ नगरी हँसाउनु आफैंमा चुनौती पनि । अहिलेका युवा दिनप्रतिदिन ‘डिप्रेसन’बाट गुज्रिरहेका छन् । हाँस्न सिकाउने योगालयहरू जन्मिँदै छन् । आखिर के हाँसो लोप हुँदै गएको छ त ? र, मान्छेको जीवनमा हाँसोले कत्तिको महत्व राख्छ त ? 

पत्रकार शेखर खरेलले हास्य कलाकार हरिवंश आचार्यलाई प्रश्न तेर्स्याए । 
 

घरको पीडा मुटुभरि बोकेर अरूलाई हँसाउँदै हिँडेका हरिवंश र मदनकृष्णका जीवनका हाँसो र रोदनका पलले कम रोमाञ्चित गराउँदैनन् । 


‘भूकम्प गएको चौथो दिनमा उजाडिएको घर हेरेर बाँचेकाहरू हाँसेका थिए,’ हरिवंश हातमा माइक लिँदै भन्छन् । 

साँच्चै, भूकम्प जानासाथ हाँस्न सिकेका थिए, पीडित नेपालीले । आफ्ना कठिनाइ र आवश्यकतालाई व्यवस्थापन गर्न थालेका थिए । 


विकास मात्रै भएर पनि भएन । ‘ह्याप्पी डेजबाट त्यो समाजको अवस्था कस्तो छ भनेर बुझ्न सजिलो पर्छ । नेपालमा त्यो विकास भएको छ कि छैन ?’ मदनकृष्ण श्रेष्ठलाई हरिवंश प्रश्न गर्छन् । 

‘हाँस्नु रमाइलो । अरूलाई हँसाउनु पनि रमाइलो । हाँस्दा स्वस्थ पनि भइने कुरा छ,’ मदनकृष्ण भन्छन्, ‘हाँसोले पोजिटिभ भाइब्रेसन गराउँदो रहेछ । हाँसेर बाँच्नुपर्छ ।’

‘पछिल्लो पुस्तामा हाँसोको खडेरी पर्दैछ । सामाजिक सञ्जालहरूले खोस्दै लगेका छन्, हाँसो । युवामा हाँस्ने स्वभावमा ह्रास आइरहेको छ । के साँच्चै हाँसो बिरानो हुँदै गयो त ?’ खरेल जोड्छन् । 

‘सम्पन्नता भयो भने हाँसो टिक्छ होला भन्छन् मदन दाइ । र, हाँसो टिकाइराख्नका लागि मान्छेमा सेन्स अफ ह्युमर हुनुपर्छ,’ हरिवंशको जवाफ । 

सेन्स अफ ह्युमर

‘गाउँघरमा अनगिन्ती मान्छे सेन्स अफ ह्युमर भएका हुन्छन्,’ हरिवंश भन्छन्, ‘तर, शहरमा सेन्स अफ ह्युमर भएका मान्छे भेटिन्न ।’ 

उनी कृष्णप्रसाद भट्टराईमा सेन्स अफ ह्युमर देख्छन् । र, प्रधानमन्त्री केपी ओलीमा पनि सेन्स अफ ह्युमर भेट्छन् । 

भट्टराईको क्यारिकेचरमार्फत् उनले सेन्स अफ ह्युमरको उदाहरण दिए । र, उनी उन्नत खालका व्यंग्य गर्न माहिर नेता लाग्छ, हरिवंशलाई । 

‘सरस्वतीले दिएको वरदान हो सेन्स अफ ह्युमर,’ हरिवंश भन्छन् । पोखरा गएको कुनै दिन एक वृद्धाले ‘ए औतारी टीभीमा हेरेको मान्छे जिम्दै भेटियो’ भनेर खुशी व्यक्त गरेकी थिइन् रे, उनीसँग । त्यहाँ ‘तँ’मा पनि सेन्स अफ ह्युमर भेट्छन्, हरिवंश । 

रूपचन्द्र विष्टमा पनि उनी सेन्स अफ ह्युमर देख्छन् । माइतीघरतिर कुनै दिन ‘भातेहरू हाम्ले गर्ने काम तिमीहरूले गर्ने’ भन्दै तँ तँ भनेछन् । उनी ‘तँ’को सम्बोधनमा पनि माया र सद्भावका साथमा ‘सेन्स अफ ह्युमर’ पाउँछन् । 

चार्ली च्याप्लिनले ‘पानी पर्दा रुन पाऊँ’ भनेका थिए । हास्य व्यंग्य गर्दा आजसम्म कोही नेता रिसाएका छैनन् । र, हाँस्य व्यंग्य गर्दा कोही रिसाएर जानु भनेको आक्रोश ठान्छन्, हरिवंश ।

‘कुनै पनि अपांगलाई डोमिनेट हुने खालका शब्द हामीले प्रयोग गरेका छैनौं,’ उनी भन्छन्, ‘हास्य व्यंग्य सिम्बोलिक हुनुपर्छ ।’ 

जीवनमा कति रोदन ?  

‘जीवनलाई ‘क्लोज अप’बाट हेर्दा रुन्चे (ट्रयाजेडी) देखिन्छ । र, ‘लङ सर्ट’बाट हेर्दा कमेडी हुँदो रहेछ,’ चार्ली च्याप्लिनको भनाइमा सहमत देखिन्छन्, शेखर र हरिवंश दुवै । मानव जीवनको रोदनमा च्याप्लिनको भनाइ ठ्याक्कै उत्रिने उनीहरूको ठम्याइ देखिन्छ ।

‘क्लोज अप व्यक्ति हो र आम मान्छेले त्यो पीडा २० प्रतिशत पनि बुझ्न सक्दैनन्,’ अस्पतालमा आफन्त बिरामी भएर कुरिरहेको ठाउँमा माया गर्ने दर्शकका अगाडि हाँसेर सेल्फी खिच्ने गरेका छन्, हरिवंशले । तर, रिसाउन नपाउने शर्त राख्छन्, उनी । 

आफ्नै जहानलाई दागबत्ती दिन लाग्दा पनि हरिवंशकै गीत गाएर त्यहाँ उपस्थित केही मानिसले व्यंग्य गरेका रहेछन् । कलाकार हुँदा र साधारण मान्छे भएर काम गर्दा गाह्रो हुने तर्क राख्छन् । 

मदनकृष्ण भर्खरै बितेकी श्रीमतीलाई सम्झँदै भन्छन्, ‘क्यान्सर स्पाइनल कर्डमा सरेपछि सोह्र दिन नचल्दाको पीडा भएको थियो ।’ त्यो पीडालाई उनी नजिकबाट नियाल्छन् । र, त्यो क्षणलाई आतंक नै देख्छन् । दुःखमा पनि हाँस्ने नाटक गर्न बाध्य भएको महशुस गर्छन्, उनी । 

जब तिमी हाँस्छौं, सारा दुनियाँ हाँसेको हुन्छ र जब तिमी रुन्छौ, तिमी  एक्लै रोइरहेको हुन्छौ भन्दै राज कपुरको फिल्म ‘मेरा नाम जोकर’लाई उदाहरण बनाउँछन्, मदनकृष्ण ।

गर्भवती अवस्थामा जन्डिस भएकी श्रीमतीलाई पाटन अस्पतालमा भर्ना गराएर हरिवंश भैरहवा पुगेका थिए । र, त्यहाँ जम्मा भएका दर्शकलाई हँसाएको स्मरण गर्छन् । 

घरको पीडा मुटुभरि बोकेर अरूलाई हँसाउँदै हिँडेका हरिवंश र मदनकृष्णका जीवनका हाँसो र रोदनका पलहरूले कम रोमाञ्चित गराउँदैनन् । भृकुटीमण्डपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको तेस्रो दिन सोमबार ‘जीवनमा कति हाँसो, कति रोदन’मा उनीहरू दुवै यसरी नै पोखिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।