काठमाडौं– जातकै कारण गायक प्रकाश सपुतले जीवनमा अनेक तीता–नमिठा भोगाइको सामना गरे। मेला–महोत्सवतिर गीत गाउन जाँदा स्वर सुनेर सबैले हाइहाइ गर्थे तर जब साँझ पर्थ्यो र रात बिताउने कुरा हुन्थ्यो। त्यसपछि सबै तर्किन थाल्थे। साथीहरु ‘सुत्न त अलि नमिल्ला’ भनिहाल्थे।
सानैबाट सिनेमाप्रति प्रकाशको विछट्टै प्रेम थियो। हिरो बन्न चाहन्थे। तर, घरमा टिभी थिएन। घरभन्दा अलि मास्तिर आले परिवारको घरमा टिभी त थियो तर दलित परिवारलाई छिर्न अनुमति थिएन। तैपनि उनी ढोकासम्म पुग्थे, अनि शरीर बाहिर, मुन्टोमात्रै भित्र छिराएर भए पनि लगातार डेढ घन्टासम्म फिल्म हेर्थे।
काठमाडौंमै आएपछि पनि यस्ता तीता अनुभव उनले थुप्रै ठाउँमा गरे। जातकै कारण तीन पल्टसम्म डेरा सर्नुपर्यो। ‘हामी यहाँ पटकपटक अनागरिक महसुस गरिरहेका छौँ,’ प्रकाश भन्छन्, ‘म जुन समुदायबाट आएँ, त्यो हिसाबले त हामी मान्छे नै होइनौँ भन्ने महसुस पनि भयो कहिलेकाहीँ। आफ्नो जीवनकालमा अनेक नमिठा अनुभव गरियो। जब मान्छे–मान्छेबीच विभेदको कुरा आउँथ्यो, नागरिक त परको कुरा, म मान्छे नै होइनजस्तो महसुस हुन्थ्यो।’
जीवनकालमा संग्रहित यस्तै अनुभूतिहरुलाई पोख्दै प्रकाशले हालै बजारमा नयाँ सिर्जना लिएर आएका छन्। जसले प्रश्न गरेको छ– ‘मेरो पनि हैन र, यो देश ?’ युट्युबमा अपलोड भएको २४ घण्टामै गीत ट्रेन्डिङको नम्बर १ मा उक्लिसकेको छ।
प्रकाशलाई त लागेको थियो– ‘राष्ट्रिय झण्डा र टोपी देखाएको गीत के चल्ला र !’ सन्चो नभएर घरमै बसिरहेका प्रकाशलाई यतिखेर गीतको प्रतिक्रियाले औषधीकै जस्तो काम गरिरहेको छ रे !
कस्तो छ गीत ?
ब्यानरमा देख्न सकिन्छ कार्यक्रमको नाम– करोडौं कस्तुरी। यो अमर न्यौपानेको पुस्तकको नाम पनि हो। यही पुस्तकको शब्द सापटी लिँदै कार्यक्रम प्रस्तोता बोल्छन्, ‘वनको कस्तुरी, जसलाई आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध थाहा हुँदैन तर मानिस त्यस्तो कस्तुरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्दछ।’
त्यसपछि स्टेजमा प्रस्तुतिका लागि आइपुग्छ, प्रकाश सपुतको–‘अनागरिक समूह।’
‘के हो यो अनागरिक समूह ?’ निर्णायकहरुबीच नै खुल्दुली जाग्छ। निर्णायक समूहमा रहेकी सरिता लामिछाने जिज्ञासा राख्छिन्, ‘समूहको नाम अनागरिक राख्नुभएको रैछ, कुन अर्थमा ?’
प्रकाश जवाफ फर्काउँछन्, ‘जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन्, त्यसको अर्थमा ‘अनागरिक समूह।’
त्यसपछि निर्णायककै भूमिकामा देखिएका ऋषि धमला उनकै शैलीमा सोध्छन्, ‘कसरी बन्नुभयो अनागरिक समूह।’
प्रकाश फेरि जवाफ फर्काउँछन्, ‘हामी देशैभरिबाट छौं। हिमाल, पहाड, तराई सबैबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ। त्यो भन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन। र पनि देशको विछट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासा पनि भएको मानिसहरु खोजेर मैले बनाएको समूह। ’
त्यसपछि सुरु हुन्छ, समूहको गीति प्रस्तुतिः
यही देशको सीमाभित्र मैले जन्म लिएँ
गोर्खालीको सन्तान भनी गर्व गर्या थिएँ
जन्माएको आमाले हो घाँस काट्दाकाट्दै
बाउको जीवन यसै गयो दुःख साट्दासाट्दै
हामीले के नै सुख छ र
सक्नेले गर
नसक्ने पर
मेरो पनि होइन र, यो देश
मेरो पनि होइन र ?
प्रकाशले गीतको म्युजिक एरेन्जमेन्ट र भिडियो दुवैमार्फत नेपालको सांस्कृतिक विविधतालाई देखाउन खोजेका छन्। अनि, शब्दमार्फत आम नागरिकका गुनासा र असन्तुष्टिलाई पोखेका छन्। हिमाल, पहाड र तराई तीनतिरकै चल्तीका संगीत राखेका छन्। अनि फरक फरक भूगोलका फरक फरक पात्रलाई स्टेजमा उभ्याएका छन्।
‘हामीसँग विभिन्न कथा, वेदना, भावनाहरु छन्। तर, ती सबैभन्दा माथि आउने भावनाचाहिँ राष्ट्रियताको रहेछ। घुमिफिरी कुरा त देश र व्यवस्थासँगै जोडिने रहेछ। चाहे तपाईं दलितको कुरा उठाउनुस्, कुनै भेगको कुरा उठाउनुस्, हरेक कुरा राज्य व्यवस्था र राष्ट्रियतासँग जोडिन्छ। त्यसैले राष्ट्रियताको भावनाप्रति किन एउटा गीत नगर्ने भनेर यो गीत गरेको हुँ,’ प्रकाशले गीत तयारीको पृष्ठभूमि सुनाए।
यो गीतको भिडियो एउटा स्टेजमा सीमित छ। यसरी भिडियो तयार गर्दा गीतप्रति न्याय नहोला कि भन्ने प्रकाशलाई पटकपटक लागेको थियो। स्टेजमा पर्फर्म गर्दा नेचुरल नहोला कि भन्ने डर पनि थियो। उनलाई गीतको भिडियो तराई, पहाड र हिमाल सबैको सम्बन्धित भूगोलमै गएर दृश्य कैद गर्ने चाहना थियो। तर त्यो किसिमको सामर्थ्य, समय र लगानी थिएन। ‘त्यसैले प्रतीकात्मक अर्थसहित जन्मियो, ‘अनागरिक समूह’को कन्सेप्ट।
अनि भिडियोभित्र कार्यक्रमको नाममा अमर न्यौपानेको पुस्तक ‘करोडौँ कस्तुरी’ किन ? जवाफमा प्रकाश स्पष्ट पार्छन्, ‘मलाई कुनै एउटा कार्यक्रमको नाम चाहिएको थियो। कविता, गीत, नृत्यभन्दा पनि हरेक प्रतिभालाई समेट्ने खालको नाम चाहिएको थियो। त्यसैले करोडौँ कस्तुरी राखेको हो। यसले सबै किसिमको सुगन्धलाई समेट्छ होला भनेर। ’
त्यसो त यो गीत निर्माणको उद्देश्य असल देखिए पनि गीतमा केही कमजोरी भने छन्। केही पात्र गीत चलाउनकै लागि भिडियोमा राखेजस्तो देखिन्छ।
‘यो गीतको उद्देश्यसँग मेरो विमति छैन। मुलुक समावेशी हुनुपर्छ, लोकतन्त्रको फल सबै जाति, भाषा र वर्गका जनतासम्म पुग्नुपर्छ भन्ने उद्देश्य राखेर कला सामग्री बनाउनु असाध्यै असल प्रयत्न हो,’ लेखक उज्वल प्रसाईंको टिप्पणी छ, ‘तर, गीत स्टेज र भवनमा कैद भयो। गीतले जुन फराकिलो र उदात्त काल्पनीकि हुर्काउन खोजेको छ, त्यही काल्पनीकि विपरित यो गीतको प्रस्तुति केही सीमित अनुहार, एउटा साँघुरो भवन, साँघुरो मञ्च र त्यसै अनुसार परिकल्पना गरिएको साँघुरो वृत्तमा कैद हुन पुगेको छ। गीतको अन्तर्य र प्रस्तुतीबीच कतै मेल छैन।’
खासगरी यो गीतको भिडियो अचेल चल्तीमा रहेका रियालिटी शोलाई कथामा उनेर प्रस्तुत गरिएको छ। यो आफैंमा कल्पनाशिलता र सृजनशिलताको कमीको रुपमा देखा पर्नु बेस्वादिलो भएको बताउँछन् प्रसाईं।
‘अनि, गीतमा एक ठाउँ कतै यो आशयको पंक्ति छ– बरु चीन, जर्मनी र जापानमा जन्मेको भए असल हुन्थ्यो, नेपालमा जन्मेर विजोग भयो,’ प्रसाईं टिप्पणी गर्छन्, ‘गीतको अनुप्रास, लय मिलाउन यस्ता वाक्य राखिनु कति ठीक म राम्रोसँग भन्न सक्दिनँ। तर रचयिताले चीन, जापान र जर्मनीजस्ता ठाउँमा विभेद भोगेका असंख्य मान्छे छन् भन्ने हेक्का नराखेको देखिन्छ। सतहमा देखिने विकासको चमकधमक नै मान्छेको मुक्तिको मियो हो भन्ने आम बुझाइ यति राम्रो गीतमा घुस्यो, यो पनि समस्या नै हो।’