सोमबार, असार २९, २०८३

प्रहरीमा बढुवाले सधैं झस्किने एउटा ब्याच

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल प्रहरीले नयाँ महानिरीक्षक पाएको दुई महिना पुग्न लाग्दा सिपाहीदेखि एसएसपीसम्मले बढुवा पाइसकेका छन् । डीआईजीहरूको बढुवा हुन नसक्दा प्रहरीका सबै विभाग ‘कन्फर्म’ हाकिमविहीन छन् । 

तर, त्यसभन्दा ठूलो जोखिममा एउटा सिंगै ब्याच परेको छ, जसले बढुवा नपाए विशिष्ट श्रेणीको अधिकृत बन्न नपाई अवकाशको पत्र बुझ्नुपर्नेछ । 

खासमा, शुरुदेखिकै बढुवामा पछाडि नपारिएको भए अहिले नेपाल प्रहरीको नेतृत्वमा पुग्ने थियो, ३० असार ०४५ मा भर्ना भएको ब्याच । अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा अझै ढिलाइ भए उक्त ब्याचले एक महिनापछि नायब महानिरीक्षक (डीआईजी)मै अवकाश पाउनेछ ।

हेपिएका यी अधिकृत

खासमा, उक्त ब्याच यसअघिका महानिरीक्षक प्रकाश अर्यालको ब्याचसहित प्रहरी निरीक्षकमा प्रतिस्पर्धामा थियो । तर, अन्तरवार्तामा फालिएर वैकल्पिक सूचीमा पुगे उनीहरू । अर्यालसहितका ४० अधिकृत २९ चैत ०४४ मा प्रहरी निरीक्षक बने । 

उनीहरूसँगै प्रतिस्पर्धा गरेका १२ अधिकृत भने तीन महिनापछि मात्र प्रहरी निरीक्षक बने । त्यतिबेला खाली रहेको दरबन्दी घोषणा गर्नु पर्दैनथ्यो, भर्ना लिँदा । उनीहरू त्यसैको मारमा परे र खाली रहेका बाँकी दरबन्दीमा तीन महिनापछि मात्र भर्ना पाए । 

पूर्वमहानिरीक्षक प्रदीपसमशेर राणा मात्र होइन, सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ पनि वैकल्पिक सूचीमा भर्ना भएका थिए । दुवैलाई महानिरीक्षक बन्ने बाटो कसैले छेकेन । 

तर, ३० असार ०४५ को ब्याचलाई शुरुदेखि नै बाटो छेकियो र पछाडिको पछाडि राखियो । 

यस ब्याचमा उत्तम कार्की, छविलाल जोशी, ज्ञानविक्रम शाह, श्याम खड्का, शरद चन्द, पवनप्रसाद खरेल, प्रेम चन्द, श्यामबहादुर खत्री, रविन्द्रप्रसाद शर्मा, मोहनराज जोशी, जगदिश चन्द र सुभाषचन्द्र चौधरी थिए । 

उनीहरूमध्ये जगदिश चन्द ०६० सालमा सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्नता पुष्टी भएपछि बर्खास्त भइसकेका छन् । श्यामबहादुर खत्री तिनै अधिकृत हुन्, जो ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य सहयोगीको अभियोगमा अहिले न्यायिक हिरासतमा छन् । बाँकी अधिकृत अहिले डीआईजी छन् । 

यसरी पछाडि पारिए

पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलप्रति असन्तुष्टी व्यक्त गर्ने कमै अधिकृत भेटिन्छन्, नेपाल प्रहरीमा । खरेलको उच्च व्यावसायिक क्षमताको धेरैले प्रशंसा गर्छन् । 

तर, ३० असार ०४५ को उक्त ब्याच भने खरेलप्रति असन्तुष्ट रह्यो सधैं । पूर्वमहानिरीक्षक अर्याललगायत ४० अधिकृतसँगै डीएसपीमा बढुवा हुन आफूहरूलाई ‘कनिष्ठ’ भएको बताएर तत्कालीन एआईजी खरेलले नै रोकेको ती अधिकृतहरूको आरोप छ । तत्कालीन महानिरीक्षक मोतिलाल बोहराले पनि खरेलकै भनाइमा सहमति जनाएको उनीहरू बताउँछन् । 

तर, जब खरेल महानिरीक्षक बने, उनीहरूभन्दा १९ महिना पछाडि भर्ना भएको वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालको ब्याच मिसाइयो डीएसपी बढुवामा । जबकि, महानिरीक्षक खनालको ब्याच २९ माघ ०४६ मा मात्र प्रहरी निरीक्षक बनेको थियो । 
 

वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालको ब्याचभन्दा १९ महिना वरिष्ठ रहेका १० डीआईजीहरू सोही पदबाट अवकाश पाउने जोखिममा



‘पहिले जुनियर भनेर हामीलाई बढुवा हुन दिइएन, पछि हामीभन्दा जुनियरलाई वरियतामा माथि राखेर डीएसपी बनाइयो,’ १२ जनामध्येका एक अधिकृत भन्छन्, ‘त्यसपछि हरेक बढुवामा हामीलाई पछाडि पारियो र खनालसहितका अधिकृतहरूलाई नै वरियतामा अगाडि राखियो ।’

उनका अनुसार खनालसहित रमेशप्रसाद खरेल, राजेन्द्रमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रञ्जन कोइराला र धिरु बस्नेतलाई मिसाएर मात्र उनीहरूको ब्याचलाई डीएसपी बनाइएको थियो । कोइराला भने पछि सशस्त्र प्रहरीमा गए र श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि अहिले जेल सजाय भोगिरहेका छन् । 

राजेन्द्र श्रेष्ठले एसएसपीबाट अवकाश पाए भने राजेन्द्रमान श्रेष्ठ गम्भीर बिरामी छन् । महानिरीक्षक बढुवाप्रति असन्तुष्टी जनाउँदै रमेशप्रसाद खरेल राजिनामा दिएर सेवाबाटै बाहिरिसकेका छन् । 
प्रहरी नियमावलीअनुसार बढुवाका क्रममा ज्येष्ठता अनिवार्य हेर्नुपर्छ । यी अधिकृतहरू डीएसपीबाट एसपी बन्दा फेरि पीडित बने । तत्कालीन महानिरीक्षक ओमविक्रम राणाले रमेशप्रसाद खरेल, सर्वेन्द्र खनाल, राजेन्द्र श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठभन्दा तल राखिदिए, वरियता । 

एसपीबाट एसएसपी बन्दा पनि खरेल, खनाल र श्रेष्ठद्वय माथि रहे । ३० असार ०४५ को ब्याच तलको तल नै रह्यो । 

एसएसपीबाट डीआईजी बढुवा क्रममा सर्वेन्द्र खनाल र रमेश खरेलपछि तेस्रो वरियतामा उक्लिएका थिए, ३० असार ०४५ मा भर्ना भएका उत्तम कार्की । डीआईजीबाट नेपाल प्रहरीको २६ औं महानिरीक्षक बन्ने अवसर भने खनालले प्राप्त गरे ।

खनाल महानिरीक्षक बन्दासम्म उक्त ब्याचका केही अधिकृत एसएसपी मात्र थिए । उनले ती सबैलाई डीआईजी बनाए । यसअघि डीआईजी बनेका अधिकृतको चासो आफूहरूलाई एआईजी बन्न खनालले साथ दिने हुन् कि होइनन् भन्ने देखिन्छ । 

महानिरीक्षक खनालसामु एआईजी बढुवाको जटिलता तेर्सिएको छ । अघिल्लो ब्याचमा एआईजीको दरबन्दी सातबाट १५ पुर्‍याइएको थियो । तीमध्येका आठ पद विशेष दरबन्दीका हुन् । र, त्यसमा बढुवा हुने अधिकृतको अवकाशसँगै खारेज हुन्छन् । 

एआईजी बढुवामा अरू एक महिना ढिलो भए ३० असार ०४५ को ब्याचले विशिष्ट श्रेणीमा बढुवा हुने अवसर नपाउने भने निश्चित छ । १२ जनामध्ये बाँकी रहेका १० अधिकृतलाई अवकाशमा पठाएर मात्र एआईजी बढुवा अगाडि बढाइने हो कि भन्ने चिन्ता उनीहरूमा देखिन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।