काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालबाट कम्युनिस्टहरु पाँच बर्षमा समाप्त हुने ठोकुवा गरेका छन् ।
‘जीवन समाप्त हुने बेलामा कमिलाको प्वाँख पलाए जस्तै नेपालमा कम्युनिस्टहरु बढेर सरकार बनाएका हुन् । यो टिक्नेवाला छैन। उनले पाँच वर्षपछि कांग्रेसलाई जनताले फेरि शानदार रुपमा जिताउने दाबी उनले गरे ।
बन वातावरण श्रमिक संघको दोश्रो साधारण सभाको उद्घाटन गर्दै उपसभापति निधिले यस्तो धारणा राखेका हुन् । वर्तमान सरकारले एक सय दिनमा एउटा पनि गतिलो काम जनताको हितमा गर्न नसकेको आरोप निधिको छ । उनले भने, यो अवधिमा दुई पार्टीको एकता गर्ने बाहेक अरु कुनै काम भएको छैन ।
‘ओली नेतृत्वको सरकारले संविधानको ख्याल गरेको छैन । संघीयता व्यवस्थापन गर्न सकेको छैन । भारत र चीनको चाकडी तथा आत्म प्रसंशामा सरकार रमाइरहेको छ । जनताले केही पाएका छैनन्, उनले भने।
उनले सरकारले सय दिनका अधिकाँश समय पार्टी मिलाउनेमा खर्च गरेको, रसुवागढीदेखि काठमाडौंसम्म रेल चलाउने भनेर चीनको तथा रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने भनेर भारतको चाकडी गरेको बताए ।तराईमा हुलाकी राजमार्ग निर्माणको लागि भारतीय पक्षलाई ठेक्का दिँदा बाटो नबनाएर होल्ड गर्ने नीति भारतले लियो भनेर आलोचना गर्ने प्रधानमन्त्री ओलीले अहिले त्यही बाटो बनाउने कार्यलाई प्राथमिकता नदिएको बताए ।
‘विश्वको कुनै पनि कम्युनिष्ट पार्टीहरु संघीयता पक्षधर छैनन र नेपालका कम्युनिष्टहरु पनि संघीयताको पक्षमा छैनन्’ निधिले भने ‘कसैले पनि संघीयताको पक्षमा रहेको घोषणा गरेको वा दस्तावेजमा लेखेको मैले पाएको छैन ।’कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले जसले धेरै बजेट चलाउँछ, त्यहीँ बढी भ्रष्टाचार हुने गरेको वताए । उनले भने ‘हाम्रा प्रधानमन्त्रीले करिव १२ प्रतिशत बजेट प्रधानमन्त्री कार्यालय मातहत राख्नु भएको छ । अब त्यहाँ पनि भ्रष्टाचार हुने निश्चित छ ।’
कांग्रेस लोकतन्त्रवादी पार्टी भएकोले यसको आधार नै मास बेस हुँदा कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न समस्या भएको वताए । ‘हाम्रो मास बेस पार्टी हो तर कम्युनिष्ट पार्टी क्याडर बेस छन्’, प्रमुख सचेतक खाँडले भने।पार्टीलाई संकट पर्दा नेपाल तरुण दललाई २०५४ सालमा तत्कालिन सभपाति गिरिजाप्रसाद कोइरालाले पुनस्र्थापना गरी आफूलाई नेतृत्व दिएपछि करिव ६ लाख कार्यकर्ता बनाएको बताए । उनले तरुण दल क्याडर बेस संगठन बनाइएकोले आवश्यकता पर्दा पार्टीले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४