बागलुङ- नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गरेका छन् ।
आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एकताका लागि छलफल अघि बढेको बताए । पौडेलले बृहत् ध्रुवीकरणमार्फत एउटै कम्युनिष्ट पार्टी बनाउन पहल भइरहेको उल्लेख गरे ।
नेता पौडेलले मुलुकको विकास, समृद्धि र सुशासनका लागि पार्टी एकताको खाँचो औल्याए । फोरमका अधिकांश नेता कम्युनिष्ट पृष्ठभूमिबाट आएको भन्दै एकता सहज देखिएको उनको भनाइ थियो ।
‘दुई पार्टीबीच केही सैद्धान्तिक अन्तर भए पनि एकताको सम्भावना बलियो छ,’ उनले भने । नेता पौडेलले विचार, राजनीति र विशेषता मिल्ने अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरिने बताए ।
धेरै राजनीतिक दल आवश्यक नभएको भन्दै उनले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिए ।
‘हामी कम्युनिष्टहरु समेट्दै जान्छौँ, नेपाली काँग्रेसले पनि नजिकका दलहरुलाई एकतामा ल्याओस,’ उनले भने।
मधेशका मुद्दा सम्बोधन गर्न र राष्ट्रिय एकतालाई सुदृढ पार्न फोरमलाई सरकारमा ल्याइएको उनको भनाइ छ । ‘ससंदमाा अंक पु¥याउनभन्दा पनि राजनीतिक स्थायित्वका लागि फोरमलाई सरकारमा ल्याएका हौं,’ उनले भने । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४