काठमाडौं- युरोपेली फुटबलको नकआउट स्टेजअन्तर्गत पहिलो लेगमा दुई गोलभन्दा बढी गोलअन्तरमा १३ पटक हारेको टिम हो, लिभरपुल। त्यसमध्ये दुई खेलमा उसले पुनरागमन जित निकालेर माथिल्लो चरण प्रवेश गर्न सफल भएको इतिहास पनि बनाएको छ।
यसको सबैभन्दा पछिल्लो उदाहरण हो, बार्सिलोनाविरुद्धको जित। पहिलो लेगमा ३-० गोलले पहिलो हार व्यहोरेको लिभरपुलले दोस्रो लेगमा ४-० गोलको जित निकाल्दै माथिल्लो चरणमा प्रवेश गरेको थियो।
बार्सिलोनाको निकट प्रतिद्वन्दी रियल मड्रिडसँग च्याम्पिन्स लिगको दोस्रो लेगमा यो पटक लिभरपुल भिड्दैछ। उसले पहिलो लेगमा ३-१ गोलको हार व्यहोरिसकेको छ।
योर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा बुधबार (आज) राति हुने खेलमा पनि पुनरागमन गर्ने कुरा असम्भव छ भन्न सकिन्न। लगातार दुई सिजन उत्कृष्ट प्रशिक्षक बनेका क्लोपमाथि त्यो विश्वास गर्न सकिने धेरैको अपेक्षा छ।
इतिहास हेर्दा रियलले एनफिल्डमा दुई पटक हारको स्वाद चाखेको छ। बुधबार तेस्रो पटक एनफिल्डमा उत्रन लागेको रियल यसअघि सन् २००९ मा चार गोल खाएको थियो भने २०१४ को नकआउटमा पनि ३ गोल सामना गरेको थियो। दुवै खेल च्याम्पियन्स लिगकै हुन्।
रियलसँग खेलाडी जिनेदिन जिदान छन्। जसको योगदानमा रियलले लगातार तीन पटक उपाधि जितिसकेको छ।
इतिहासमा पनि लिभरपुलसँगविरुद्ध रियल मड्रिड बलियो देखिन्छ। बलियो डिफेन्स भएको रियल तेस्रो पटक एनफिल्डमा खेल्न लागेको हो। तर कप्तान सर्जियो रामोसलगायतका डिफेन्डर चोटका कारण मैदानमा हुने छैनन्।
यी दुई टिमबीचको खेल बुधबार राती पौने १ बजे सुरु हुनेछ। सोही समयमा च्याम्पियन्स लिगको अर्को खेल पनि हुनेछ। अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ। सिटीले पहिलो लेगको खेलमा २-१ गोलको जित निकालेको छ।