मंगलबार, असार ३०, २०८३

गिरिजाबाबुको 'बेबी किङ' रणनीति मात्र थियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गिरिजाप्रसाद कोइरालाले गणतन्त्रमा जानुअघि 'बेबी किङ', 'कल्चरल किङ' र 'सेरेमोनियल किङ' गरी तीन वटा रणनीति अगाडि सार्नुभएको थियो । तर, ती सबै उहाँका 'ट्याक्टिकल' शब्द मात्र थिए । 

किनकि, १२ बुँदे समझदारी घनिभूत छलफलपछि मात्र भएको थियो । माओवादीले त्यतिबेलै संविधानसभा र गणतन्त्रका दुई वटा माग अगाडि सारिसकेको थियो । लडाकु समायोजन, समानुपातिक निर्वाचन प्रणालीलगायत विषय त सहायक मात्र थिए । 

१२ बुँदे समझदारीमा स्पष्ट लेखिएको थियो, निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको प्राप्ति । त्यसबेला कांग्रेस, एमालेलगायत संसदीय व्यवस्थाका पक्षपाती दलले यी दुई शब्द मात्र उच्चारण गर्ने सहमति भएको थियो । सोच भने माओवादीको जस्तै गणतन्त्रमा जाने थियो । 

नयाँदिल्लीमा बन्द कोठामा भएका छलफल क्रममा भन्ने गरेका थियौं, 'नरो वा कुञ्जरो वा, अश्वत्थामा हतोहत ।' 

नेपाली कांग्रेसको संरचनागत व्यवस्थाका कारण सीधा गणतन्त्रमा जान समस्या थियो । कांग्रेस केन्द्रीय कार्यसमिति त्यसका लागि तयार थिएन । तर, १२ बुँदे सहमति केन्द्रीय समितिमा छलफल भएर आएको निर्णय थिएन । गिरिजाबाबुले आफ्नो नेतृत्व देखाउनुभएको मात्र थियो । 

पछि पनि १२ बुँदे समझदारी कांग्रेसका बैठकमा छलफलमा भित्र्याउन सहज भएन । त्यो धेरै चुनौतीपूर्ण थियो । विश्वलाई नियाल्नुभएका गिरिजाबाबुले कुनै पनि मुलुकमा राजालाई सहजै हटाएको देख्नुभएको थिएन । धेरै हिंसात्मक घटनाका उदाहरण छन् । 


स्वर्गीय गिरजाप्रसाद कोइरालाको फाइल तस्बिर ।
 
त्यसैले राजा हटाउँदा पनि रक्तपात नहोस् भन्नेमा उहाँ सचेत देखिनुहुन्थ्यो । अन्तरिम संसदबाटै गणतन्त्र घोषणा गर्नुपर्नेमा माओवादी अडिग थियो । अझ, पुनःस्थापित संसदबाटै घोषणा गर्नुपर्ने माओवादीको माग थियो । 

प्रचण्डजी र बाबुराम भट्टराईको सन्देश लिएर कृष्ण सिटौला, डा. शेखर कोइराला र म गिरिजाबाबुकहाँ गयौं । उहाँले गणतन्त्रको कुरा गर्ने बेला भएको छैन भनेर फर्काइदिनुभयो । 

गिरिजाबाबुको सन्देश प्रचण्डलाई सुनाएपछि उहाँहरू लगत्तै सरकारबाट बाहिरिनुभयो । पहिलो पटक सरकारमा सहभागी भएको माओवादी बाहिरिनुको एक मात्र कारण गणतन्त्र घोषणा नहुनु थियो । 

भित्री रूपमा कांग्रेस गणतन्त्रमा गइसकेको थियो । तर, बिनारक्तपात र कुनै ठूलो दुर्घटना नभई राजालाई नारायणहिटीबाट बिदा गर्ने गिरिजाबाबुको सोच देखिन्थ्यो । किनभने, उहाँ कांग्रेस सभापति मात्र होइन, राष्ट्र प्रमुखकै दायित्व निर्वाह गर्दै प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । 

खासमा, गिरिजाबाबु दरबार हत्याकाण्डको केही समयपछि नै गणतन्त्रको पक्षपाती बनिसक्नुभएको थियो । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, राजा ज्ञानेन्द्रले दरबारमा बोलाएर भनेका थिए, 'पीएम तपाईंमाथि धेरै भ्रष्टाचारको आरोप छ । तपाईंले सरकार छाड्नुपर्छ ।' 

गिरिजाबाबु पनि चुप लाग्नुभएन । उहाँले पनि भन्नुभयो, 'सरकार, तपाईंमाथि पनि धेरै आरोप छन् । दरबार हत्याकाण्ड गराएको भन्ने आरोप तपाईंलाई नै छ ।' 

त्यही दिनदेखि गिरिजाबाबु र दरबारबीच दूरी बढेको हो, जुन उत्कर्षमा पुगेकोचाहीं १९ माघ ०६१ मा हो । 

 
राजाले गिरिजाबाबुलाई 'पीएम तपाईंमाथि भ्रष्टाचारको आरोप छ, सरकार छाड्नुपर्छ' भनेकै दिन उहाँ गणतन्त्रवादी बनिसक्नुभएको थियो ।


पूर्वराजा ज्ञानेन्द्रलाई मैले व्यक्तिगत रूपमा भेटेको छैन । त्यसैले व्यक्तिगत आचरणका हिसाबमा मलाई केही थाहा छैन । उनले गरेको राजनीतिक निर्णय भने अदूरदर्शी थियो र समय सापेक्ष थिएन । 

२१ औं शताब्दीमा एकलौटी र तानाशाही व्यवस्था लागू गर्न खोज्नुको उनको गल्ती थियो । यही कुरा मैले ०६५ सालमा प्रधानमन्त्री भएको बेला प्रचण्डलाई मैले भनेको थिएँ । 

कम्युनिस्ट नेताहरू लेनिन र कार्ल माक्र्सको जीवनमा के भएको थियो भन्नेतिर जानुहुन्छ । उहाँहरू अहिलेको युग ख्याल गर्नुहुन्न । सुरक्षा निकाय, न्यायपालिका र कार्यपालिकालाई हातमा लिएपछि सत्ता कब्जा हुने लेनिनकै बुझाइमा उनीहरू अहिले पनि देखिन्छन् । त्यही बुझाइले हो, प्रचण्डजीको सरकारले प्रधानसेनापति, पशुपतिनाथ र न्यायालयमा आक्रमण गर्नु पनि । 

राजा ज्ञानेन्द्रले पनि सन् १९६० को दशकमा उनका बाबु महेन्द्रले 'कु' गर्दा अपनाएको विधि आफूले पनि नक्कल गर्न खोजे । र, बाबुकै सारथिहरू मार्फत् सत्ता चलाउन खोजे । संग्रहालयमा थन्क्याउन योग्य बनिसकेका र आफ्ना बाबुले तयार पारेका सारथिबाट रथ हाँक्न खोजे । र, राजतन्त्रलाई नै दुर्घटनामा पारे । 

उनले जानेको भए नयाँ कीर्तिनिधि बिष्ट र तुलसी गिरी जन्माउनुपथ्र्यो । समयको प्रवाह धेरै अगाडि बढिसकेको उनले थाहा नै पाएका रहेनछन् । 

त्यतिबेला माओवादी नेताहरू लुकीछिपी रोल्पा, रुकुम आउजाउ गर्थे । तर, बस्थेचाहीं भारततिरै । गिरिजाबाबुजस्तो नेतालाई लुकेर रोल्पा, रुकुम पुग्न सम्भव पनि थिएन । त्यसैले, प्रचण्ड र बाबुरामको गिरिजाबाबुसँग भेट्ने गन्तव्य नयाँदिल्ली बनेको हो । 

धर्म निरपेक्षता भने कसैलाई थाहा नदिई अन्तरिम संविधानमा छिराइएकै हो । ४ जेठको घोषणा तयार पारेर गिरिजाबाबुलाई पनि देखाइयो होला । उहाँले लहैलहैमा हुन्छ भन्नुभयो होला । उहाँले सोचेर, विचारेर यो मुद्दा आएको हो भन्ने मलाई लाग्दैन । 

संघीयताचाहीं मधेश आन्दोलनका कारण आएको हो । पहिलो संविधानसभाको निर्वाचन गराउन १३ फागुन ०६३ मा बालुवाटारमा प्रधानमन्त्री गिरिजाबाबु र मधेश आन्दोलनका नेताहरू महन्थ ठाकुरलगायतसँग सम्झौता भएको थियो । साक्षीका रूपमा माधव नेपाल र प्रचण्ड बस्नुभएको थियो । त्यहींबाट हो, संघीयता आएको ।

गणतन्त्रको 'फाइनल डिल' कसरी भयो भन्ने ६ जनालाई मात्र थाहा थियो । गिरिजाप्रसाद कोइराला, प्रचण्ड, बाबुराम भट्टराई, कृष्णप्रसाद सिटौला, शेखर कोइराला र म । एमालेका कुनै नेता त्यसमा सहभागी थिएनन् । संसदमा आएको संकल्प प्रस्ताव त्यही अन्तिम 'डिल'को उपज थियो । 

चुनबाङ बैठकपछि राजाले माओवादीलाई धोका दिए । १९ माघको घटना कुनै न कुनै रूपमा माओवादीसँगको 'अन्डस्ट्यान्डिङ'मै गरेका थिए । उनको सोच थियो, माओवादीको साथ लिएर बहुदलवादी दललाई पाखा लगाउने अनि माओवादीलाई पनि हटाएर एकछत्र राज गर्ने । 

उक्त घोषणाका लागि प्रचण्डसँगै राजाले 'ट्यासिट अन्डस्ट्यान्डिङ' गरेका थिए, जुन उनैले भंग गरे । त्यसपछि आफ्नो 'सर्भाइभल'का लागि पनि माओवादीहरू संसदवादी दलसँग मिल्नुको विकल्प भएन । 

प्रचण्डका प्रतिनिधिको रूपमा बाबुराम भट्टराई र कृष्णबहादुर महरा नयाँदिल्ली आउनुभएको थियो । संसदवादी दलका प्रमुख नेताहरू पनि त्यहाँ हुनुहुन्थ्यो । र, भारतीय नेताहरूसँग पनि भेट भयो । छलफलको आधार त्यहींबाट शुरु भयो । गिरिजाबाबु पनि नयाँदिल्ली पुग्नुभयो । 

गिरिजाबाबुले चार वटा फोन बोक्नुहुन्थ्यो, जसलाई एक, दुई, तीन, चार भन्थ्यौं हामी । साधारण फोनमै उहाँहरूबीच कुराकानी हुन्थ्यो । 

१२ बुँदे सम्झौताको तयारी राजाले धेरै थाहा पाएजस्तो लाग्दैन । किनभने, भारतसँग राजाको सम्बन्ध बिग्रिसकेको थियो । सम्बन्ध सुधारका लागि तत्कालीन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे भारत गएका थिए । त्यहाँ उनको परराष्ट्रमन्त्रीसँग लन्च मिटिङ भयो । १२ बुँदे रोक्न अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी भने पुगेका थिए । तर, त्यो उनको वशभन्दा बाहिर थियो । 

होलेरी काण्डका बेला गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसलगत्तै राजा र सेनाको दबाबमा उहाँले राजिनामा दिनुभयो । तत्कालीन रक्षामन्त्री महेश आचार्यले गिरिजाबाबुलाई गरेको 'ब्रिफिङ' गलत थियो । 

त्यस काण्डबाट राजाले प्रधानमन्त्रीले चाहँदैमा केही हुन नसक्ने सन्देश दिए । सेनाले निर्वाचित सरकारको कमान्ड पनि स्वीकारेन । जबकि, संविधानतः सेना सरकार मातहतको संगठन थियो । 
(१२ बुँदे समझदारीपछिको नयाँ राजनीतिक कोर्समा  दिल्ली र नेपालको राजनीतिक नेतृत्वबीच सन्देशबाहकको भूमिका निर्वाह गरेको बताउने अमरेश सिंहसँगको सम्बादमा आधारित । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।